राजनीति


माओवादीभित्रको अन्तरविरोधबारे कालीबहादुर मल्लले बैठकमा सुनाए यमराजको कथा

माओवादीभित्रको अन्तरविरोधबारे कालीबहादुर मल्लले बैठकमा सुनाए यमराजको कथा

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८२ शनिबार २०:१५, काठमाडौँ

शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। शनिबारसम्म आइपुग्दा २५ जनाले आफ्नो धारणा राखेका छन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच अन्तरविरोध चलिरहेको सन्दर्भमा बसेको बैठकमा अधिकांश नेताहरुले प्रचण्डको पक्ष लिएका छन्। 

धेरैले शर्मालाई पार्टीबाहिर बोलेकोमा आत्मालोचना गर्नसमेत सुझाव दिएका छन्। अनि, केहीले पार्टीप्रति पछिल्लो समयमा केही विश्वास बढ्न थालेका बेला नेताहरूबीच देखिन थालेको अन्तरविरोधले समस्या ल्याउने चिन्ता पनि जाहेर गरेका छन्। 

चिन्ता गर्नेमध्येका एक कालीबहादुर मल्लले बैठकमा यमराजको कथा समेत सुनाएका थिए।

‘अहिले माओवादी आन्दोलन जसरी अगाडि बढेको छ, हुलाकी राजमार्गदेखि लिएर मध्यपहाडी क्षेत्रमा जस्तो अभियान चलेर एउटा प्रकारको माहोल बनेको छ। जनतामा आकर्षण बढेको छ,’ बैठकमा उनको भनाइ थियो, ‘तर, भर्खरै देखिएको अन्तरविरोध, मिडियामा आएका कुरा र नेताहरूले बोलेको कुराले हामी फेरि जहाँ थियौँ, त्यही पुर्‍याइदियो।’

यसलाई थप प्रष्ट्याउन उनले यमराजको एउटा कथासमेत सुनाएका थिए।

उनको कथा यस्तो छ:

यमराज एकचोटि धर्तीमा मान्छे लिन आए। मान्छेले तपाईंको को भनेर सोध्दा उसले यमराज हुँ भन्यो। 

अनि फेरि मानिसले सोध्यो- तपाईं किन आएको हो? यमराजले जवाफ दियो- म तिमीलाई लिन आएको हो। तिम्रो २ मिनेट समय छ।

अनि त्यो मानिसले यमराजलाई झुलाउने एउटा उपाय निकाल्यो। त्यो २ मिनेटको समयमा चिया पाकायो। त्यसमा निद्राको गोली हालिदियो। अनि यमराजलाई सत्कार गर्दै चिया खान दियो।

त्यो चिया खाएर यमराज निदायो। त्यही बेलामा यमराजसँग भएको डायरी त्यो मानिसले पल्टायो। 

त्यहाँ उसले १ नम्बरमै आफ्नो नाम देख्यो। यमराज निदाएको फाइदा उठाएर पहिलो नम्बरमा रहेको आफ्नो नाम अन्तिममा राख्यो। 

अनि सोच्यो-मेरो काम त पुरा भयो। म अब मर्दिनँ 

यमराज बिउझियो। खुसी भएर यमराजले चियाँ खुवाउने मान्छेलाई भन्यो- तिमीले मलाई चिया खुवायौ। आज म तिमीलाई लैजान्नँ। अन्तिममा जो छ, उसैलाई लिन्छु।

तर, अन्तिममा त्यही मानिसको नाम थियो।

म नाम सच्याउँछु र केही दिन भए पनि बाँच्छु भन्दाभन्दै पनि ऊ जोगिन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad