नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठिक काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्।
पार्टीभित्र विधि र प्रकृयाको कुरा उठाउँदै रूपान्तरण गर्नुपर्ने आवाज उठाइरहेका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको तर्कलाई भने धेरै नेताले अस्वीकार गरेका छन्।
शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा शनिबार सबै स्थायी समिति सदस्यले धारणा राखिसकेका छन्।
२४ पदाधिकारीसहित ४६ सदस्यीय स्थायी समितिमा दुई जना देश बाहिर भएकाले बैठकमा छैनन्।
बाँकी ४४ जनामा २२ जना पदाधिकारी नै छन्। पदाधिकारीतर्फबाट शनिबार नै धारणा राख्ने क्रम सुरु भएको छ।
उपमहासचिवहरू वर्षमान पुन, मात्रिका यादव, सचिव देवेन्द्र पौडेल, गंगा नारायण श्रेष्ठ र राम कार्कीले बोलिसकेका छन्।
अब बाँकी पदाधिकारीले आइतबार बोल्ने उपमहासचिव हरिबोल गजुलेलले जानकारी दिए।
पदाधिकारीमा राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले उपमहासचिव शर्माले उठाएको विधि र प्रक्रिया लागु हुनुपर्ने भन्दै पार्टी रूपान्तरणको विषय सही भएको धारणा राखेका छन्।
यस्तै, अञ्जना विसङ्खेले दुवै पक्षको साथ लिइनन् भने अन्य केही नेताले अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा दुवैको कमजोरी रहेको टिप्पणी गरेका छन्।
शर्माले साउन ६ गते पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा दिएको अभिव्यक्तिले माओवादीभित्र हलचल पैदा गरेको छ।
यही समयमा बसेको स्थायी समिति बैठकमा नेताहरूले शर्मालाई आत्मलोचना गर्न आग्रह गरेका छन्।
पार्टी कार्यालयको मुख्य सचिव समेत रहेका स्थायी समिति सदस्य गणेशमान पुनले निकै आक्रामक धारणा राखेको नेताहरू बताउँछन्।
यस्तै, ओनसरी घर्तीले पनि अध्यक्ष प्रचण्ड उदार बन्न नहुने धारणा राखिन्।
कसले के भने?
उपमहासचिव वर्षमान पुनले शर्मालाई पार्टी कमजोर नपार्न सुझाव दिए।
'जनार्दनजीले पार्टीको विधिभन्दा बाहिर बोल्नु ठिक भएन। फरक मत छ भने पार्टीभित्रै राख्न सकिन्छ,’ जारी स्थायी समिति बैठकमा पुनले भने, ‘यसबारे जनार्दनजीले समीक्षा गर्नुपर्छ। सरकारमा हुँदा र प्रतिपक्षमा गएको बेला मुख्य नेतृत्वबाट राम्रो काम भएको छ। कमजोर पार्ने काम गर्नुहुँदैन।’
यसैगरी सचिव राम कार्कीले ठट्यौली गर्दै ९/९ महिनामा नेतृत्व फेरेर हेर्न प्रचण्डलाई सुझाव दिए।
'नेताहरूले बाहिर बोल्ने, भित्र बोलेर आलोचनामा भन्दा अतिभूतवादी प्रशंसाले बढी नोक्सान पुर्याउँछ। हाल अध्यक्षको प्रशंसा पनि मार्क्सवादसम्मत होइन। अप्रिय भए पनि नेतृत्व परिवर्तन अपरिहार्य होइन। दुई लाइन संघर्ष अप्रिय भए पनि योबिना पार्टी बाँच्दैन भनेर माओले भनेका छन्,’ कार्कीले बैठकमा भने, ‘प्रचण्ड स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गरौँ। उहाँ विशिष्ट पद लिएर बस्नुपर्छ। अध्यक्षले कार्यकारी अधिकार हस्तान्तरण गरी आलोपालो नेतृत्व गर्ने विधि बनाउनुपर्छ।’
प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने धारणा राखेका नेताप्रति संकेत गर्दै कार्कीले त्यसको विरोध गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ पनि बैठकमा उद्धृत गरे।
‘केपी ओलीजीले आफूबिनाको एमालेको कल्पना नगर्नुस् भन्नुभयो। के ओली जाँदा एमाले पनि सँगै जान्छ? कोही पनि नेता अजम्बरी छैनन्। नेतृत्व अपरिहार्य छ, यही नेता विशेष सँधैँ नेतृत्व भने अपरिहार्य छैन। यो परिवर्तन हुन्छ, हुनुपर्छ’, कार्कीले थपे।
गणेशमान पुनले शर्माको नाम पार्टीभित्र र बाहिर आइरहेको भन्दै पार्टीभित्र जनवादको कार्यान्वयन नभएको बताए।
‘पार्टीको रापतापमा पानी खन्याउने काम भइरहेको छ, नेतृत्वलाई खुइल्याउने कामले पार्टीलाई घाटा लाग्नेछ,’ पुनको भनाइ उद्धृत गर्दे एक नेताले नेपालखबरसँग भने, ‘जनवाद र केन्द्रीयताको पालना भएन, प्रभाकर कमरेडले आत्मलोचनाबाट सुरुवात गर्नुपर्छ।’
उनले शर्माले जनयुद्ध हाँक्ने नेतालाई चुनौती दिन खोजेर गलत गरेको बताए।
‘मनमोहन अधिकारी मात्रै असल नेता हुन त? जनयुद्ध कसले गर्यो त उसो भए,’ पुनले भने, ‘यस्ता कुरा गर्नु हुँदैन, पार्टीलाई एकढिक्का बनाएर जाऔँ।’
‘समाजवादको टिपनटापन गरेर विचार बन्दैन। सम्पूर्ण हिसाबको बनाएर बन्ने हो। उहाँहरू भन्दा दु:ख गरेको साथीहरू थिए होलान्, सबै जिम्मेवारी पाएका छन् र,’ पुनले थपे।
यसैगरी अर्की स्थायी समिति सदस्य सत्या पहाडीले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा समर्थन जनाइन्।
आन्तरिक पार्टी सुदृढीकरणबारे धारणा राखेकी उनले शर्मालाई लक्ष्य गर्दै गुट बनाएको भनी आपत्ति जनाइन्।
‘वैकल्पिक शक्तिको रूपमा पार्टी बनिरहेको थियो। तर, माथिबाट गुट बन्न थाल्यो। अध्यक्षसँगको व्यक्तिगत असन्तुष्टि तल होइन, माथि भइरहेको छ,’ पहाडीले शर्मालाई लक्ष्य गर्दै भनिन्, ‘पार्टीको पक्षमा केही स्टाटस नलेख्ने, तर, पार्टीविरुद्ध स्टाटस लेख्ने, विधिको कुरा गर्ने आफैँ उल्लंघन गर्ने, यसरी पार्टी बन्ने होइन, चौपाटी बन्छ। प्रभाकरको बोलीले पार्टी बन्दैन। प्रभाकरले प्रचण्डलाई नेतृत्व मान्नुपर्छ। रूपान्तरण र एकता आजको आवश्यकता हो।’
यसैगरी कमला रोकाले बैठकबाट रूपान्तरणका निम्ति संकल्प गर्छौँ कि गर्देनौँ भन्दै प्रश्न गरिन्।
‘आत्म केन्द्रीत व्यक्तिवादले अराजकता भएको छ। त्यो कुरामा छलफल गरौँ। एउटा खाएको बाघले अर्काेलाई खान सक्छ।’
‘विचार, राजनीति सही हुँदा सबै ठीक हुन्छ। तर, यहाँ एकले अर्काेलाई कोतरी राखेका छन्। सामाजिक सञ्जाल हेर्न लायक नै छैन,’ उनले थपिन्, ‘प्रचण्डको तानाशाहीविरुद्ध एकजना बोलिरहेको छ भन्ने प्रचार भइरहेको छ। स्कुलिङ पदाधिकारीलाई आवश्यक छ।’
अनुशासन आयोगका अध्यक्ष टंक राईले पनि उपमहासचिव शर्मालाई छेडछाड गरे।
‘अन्तरसंघर्ष चलाउँछु भन्नेको हातमा पनि छैनजस्तो लाग्छ। प्रभाकर कोबाट चल्नुभयो,’ उनले प्रश्न गरे।
माओवादी पार्टीको कमिटी दम दिने घडीजस्तो भएको भन्दै उनले नयाँ प्रस्ताव अघि सारे।
‘अध्यक्ष, १ वरिष्ठसहित ३ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, २ सचिव र १ कोषाध्यक्षसहित केन्द्रीय समिति १९९, विधानमा राख्न सुझाव दिन चाहन्छु,’ उनले भने।
अर्की सदस्य अमृता थापाले सांगठनिक कुरा सही रूपमा नउठेको बताइन्।
यस्तै प्रह्लाद बुढाथोकीले मधेसमा पार्टी थिलथिलो भएको बताए।
यसैगरी खगराज भट्टले सेक्सपियरको भनाइ सुनाए।
‘यदि तिमीले मलाई माया गर्यौ भने म तिम्रो मुटुमा हुनेछु। यदि तिमीले मलाई घृणा गर्यौ भने म तिम्रो दिमागमा हुनेछु। तर, म तिम्रो भित्रै हुनेछु,’ भट्टले शमाई भने, ‘तपाईँ सिर्जनात्मक र रचनात्मक हुनुपर्छ। अध्यक्ष प्रचण्ड डिस्ट्रक्टिभ हुनुपर्छ।’
‘संगठन, वैचारिक केन्द्रीकरण प्रचण्डमै हुनुपर्छ। संश्लेषण प्रचण्डले गर्नुपर्छ। यो पार्टी चन्दादाताको होइन,’ भट्टले भने, ‘निरन्तर फुट, विभाजन अन्त्य हुनुपर्यो। विधिको पालना विना कुनै काम हुँदैन। व्यक्ति होइन, विधि। वेमेलजन्य विधिको अन्त्य हुनुपर्छ।’
यस्तै पूर्वमन्त्रीसमेत रहेकी स्थायी समिति सदस्य रेखा शर्माले नेता मान्दिनँ भन्ने कुरा ठिक नभएको बताइन्।
अध्यक्ष कमरेडको उदारतालाई जनार्दन कमरेडले महसुस गर्नुस् भन्ने हो,’ शर्माले बैठकमा भनिन्, ‘आफूलाई चित्त बुझ्दा मान्ने अनि फेरि चित्त नबुझ्दा नेता नमान्ने के हो? यो कुरालाई गहिरोसँग हेर्नुपर्छ।’
पदधिकारीमा धारणा राखेका सचिव गंगानारायण श्रेष्ठले प्रचण्डको समर्थन गरे।
प्रचण्डले गति र सन्तुलन मिलाएको उनको भनाई छ।
उनले प्रचण्डलाई कमजोर बनाउने गरी उपमहासचिव शर्माले भूमिका खेल्न नहुने बताए।
‘जनवादी केन्द्रीयता भनेको के हो? भर्टिकल मात्र होइन, होरिजेन्टलमा हेर्न पर्छ जस्तो लाग्छ, मुख्य नेतृत्वलाई कमजोर बनाएपछि मात्रै पार्टी कमजोर हुने रहेछ,’ श्रेष्ठले भने, ‘युद्धबाट भएको नेतृत्वको लिगेसी र विधानको लिगेसी अर्कै हुनेरहेछ।’
यसैगरी अर्का स्थायी समिति सदस्य हक्कि कुल्ला खाँले पार्टीको सुदृढीकरण मुख्य समस्या रहेका बताउँदै संगठनात्मक एकरूपता हुनुपर्नेमा जोड दिए।
‘जनार्दन कमरेडको ६ पाने, हरिबोल गजुरेल कमरेडको २ पाने थियो, छलफल भयो र हल भयो भनेको त अझै समस्या पो रहेछ। हाम्रो कार्यशैलीमै समस्या छ,’ उनले भने।
शर्मा र गजुरेलले गत पुस १७-२० मा बसेको स्थायी समिति बैठकमा आफ्ना मत राखेका थिए। जसलाई पेजका रूपमा खाँले उठाएका हुन्।
यस्तै महेश्वरजंग गहतराजले देशभित्रको समस्या, आन्तरिक पार्टीभित्रको दोहोरीले नमजा लागेको बताए।
‘विधि र प्रक्रियामा पार्टी चल्नुपर्छ भनेर जनार्दन कमरेडले भन्दा हामी आकर्षित थियौँ, तर, भनाइ र गराइमा फरक भएको छ,’ उनले भने, ‘पार्टीलाई निश्चित विधिमा लैजानुपर्छ। हामी आफ्नै शक्तिमा केन्द्रित होऔँ।’
एकतामा आउने तर मत भने नबढ्ने समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ।
यसैगरी अर्की स्थायी समिति सदस्य ओनसरी घर्तीले गत पुसको केन्द्रीय समितिको बैठकले रणनीतिक सिफ्ट गरेपछि पार्टीले उचाइ लिएको बताइन्। उनले शर्माले हालै दिएको अभिव्यक्ति गम्भीर खालको भएको बताइन्।
‘जनार्दन कमरेडको अभिव्यक्तिमा सर्त छ। उहाँको अभिव्यक्ति गलत हो भने सच्याउने महसुस गर्ने गर्नुपर्छ,’ घर्तीले प्रचण्डलाई भनिन्, ‘अध्यक्षको समस्या भनेको उदारता हो, त्यसले अब पार्टी उँभो लाग्दैन।’
सचिव राम कार्कीले भने शर्माका पक्षमा धारणा राखे।
‘ठिक अन्तरविरोधमा फोरम बनाइदिऊँ,’ कार्कीले प्रस्ताव छ, ‘छलफल खुल्ला गरौँ। के हुन्छ? अधिकतमवादी प्रशंसा मार्क्सवादविरोधी कुरा हो। हामी सबै उहीँ हदमा बिग्रेका छैनौँ, बिग्रने मौका पाएनौँ। अहिलेका समस्या समाधान गर्न संगठनात्मक छलफल गरौँ। एउटा लिडरसिपको र सामूहिक लिडरसिप को बन्न सक्ला नि! लगाम तपाईँ हुँदै तानिन्छ नत्र तानिदैँन, त्यही भएर तपाईँ हुँदै गरौँ।’
Shares

प्रतिक्रिया