राजनीति


मनोनीत हुने ५१ जनामा आधा नै जेनजी हुनुपर्ने अडान राखेर सुधनले बन्धक बनाए बन्दसत्र

बालेनले सौराहा घुमेर दिन बिताए, रवि रिसोर्टमै बसे, प्रतिनिधिहरू साँझ निराश हुँदै फर्किए
मनोनीत हुने ५१ जनामा आधा नै जेनजी हुनुपर्ने अडान राखेर सुधनले बन्धक बनाए बन्दसत्र

सागर न्यौपाने, लोकेन्द्र भट्ट, सुनीता विष्ट
असार ८, २०८३ सोमबार २२:५१, चितवन

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनदेखि बन्दसत्रसम्म आइपुग्दा व्यवस्थापकीय कमजोरी छताछुल्ल भएको छ। जसका कारण महाधिवेशनको माहोल अस्तव्यस्त बन्न पुगेको छ।

आफूलाई नयाँ र व्यवस्थित पार्टीका रुपमा चिनाउन चाहने रास्वपाको पहिलो महाधिवेशन नै लथालिंग बनेपछि प्रतिनिधि रुष्ट बनेका छन्। 

आइतबारको उद्घाटन सत्रमै व्यवस्थापनमा कमजोरी देखिएको थियो। तोकिएको समयभन्दा ढिला भए पनि उद्घाटन सत्र सम्पन्न भयो। तर, दोस्रो दिनको गडबडीले पूर्वनिर्धारित बन्दसत्र नै सुरु हुन सकेन।

बिहानदेखि बन्दसत्रको पर्खाइमा रहेका प्रतिनिधि दिनभर चितवनको उखरमाउलो घाममा सेकिएर साँझ त्यसै फर्किए। अब एकदिन महाधिवेशन लम्बिने रास्वपा प्रवक्ता मनिष झा बताउँछन्।

रास्वपाले प्रतिनिधिलाई खानाको व्यवस्था गरे पनि बास भने आफैँले खोज्नुपर्ने निर्णय गरेको छ। एकदिन बसाइ लम्बिँदा खर्च बढ्ने प्रतिनिधिहरुको भनाइ छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बिहान साढे ८ बजे सभापति रवि लामिछानेले बन्दसत्र आरम्भ गर्ने बताएका थिए। 

त्यसपछि १ः१५ सम्म पार्टीको अनुशासन प्रतिवेदन, वित्तीय प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्तुत तथा अनुमोदन, आर्थिक–राजनीतिक प्रस्ताव र राजनीति प्रतिवेदन प्रस्तुत गरी छलफलमा जाने कार्यक्रम थियो। 

१ः३५ मा रास्वपाको महाधिवेशन आयोजक समितिले अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी दिने कार्यतालिका थियो। 

तर,  उक्त कार्यतालिका अनुसार बन्दसत्र अगाडि बढेन। भन्न चाहिँ दिउँसोसम्म पनि रास्वपाका नेताहरू केही बेरमा बन्दसत्र सुरु हुने बताइरहेका थिए। 

रास्वपाका महामन्त्री बुर्लाकोटीले तालिकाभित्रकै काममा व्यस्त रहेको भन्दै खान खाएर बन्दसत्र सुरु गर्ने बताएका थिए। 

‘बन्दसत्रको प्रतिवेदन उपर छलफल गरेर त्यसलाई सक्छौँ, त्यसपछि लगत्तै हामी निर्वाचन तालिकामा जान्छौँ,’ मध्याह्न १ बजे सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘९ गते बेलुकासम्म यो सबै कार्यक्रम सक्ने गरी तयारी गरिरहेका छौँ।’ 

उनले कुनै हालतमा महाधिवेशन नलम्बिने दाबी गरेका थिए। 

तर, साँझमा बन्दसत्र सुरु नै नगरी स्थगित गरियो। बिहान ७ नबज्दै चितवन उद्योग संघको परिसरभित्र रहेको चितवन प्रदर्शनी केन्द्रमा पुगेका महाधिवेशन प्रतिनिधिहरू साँझ निराश हुँदै बासस्थान फर्किए। 

दिनभर सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहको आगमनपछि बन्दसत्र हुने आशामा चर्को घाम खेपेर बसेका प्रतिनिधि दिउँसो नाचगानमा रमाए पनि साँझ केही आक्रोशित देखिए। असारमा रोपाइँ छाडेर महाधिवेशनमा सहभागी भएको कुरालाई नजरअन्दाज गरेर महाधिवेशनको अवधि लम्ब्याएको भन्दै केही प्रतिनिधि आक्रोशित भए। 

राम्रोका लागि ढिलो भएको भन्दै केही प्रतिनिधि त्यसको प्रतिवादमा उत्रिएका थिए। यसैबीच प्रवक्ता झाले साँझ ७ बजे चितवन उद्योग संघको हलमा आयोजित पत्रकार सम्मेलनमा बन्दसत्र भोलि १२ बजेपछि मात्र सुरु हुने बताए। प्रतिनिधिको रुजु र कार्ड प्रिन्टमा समस्या हुँदा आज बन्दसत्र हुन नसकेको उनको भनाइ थियो। ३० जना सांसदको नाम प्रतिनिधिको सूचीमै नभएको बताइएको छ।

‘भोलि बन्दसत्र हुन्छ। मध्याह्न १२ बजेपछि मात्र सुरु हुन्छ। व्यवस्थापकीय कमजोरी भयो,’ उनले भने। 

महाधिवेशन एक दिन लम्बिँदा प्रतिनिधिलाई एक दिन थप हुने आर्थिक भारबारे छलफल भएको उनले बताए। 

सोमबार बिहान प्रधानमन्त्री बालेन्द्र शाह चितवनको सौराहा घुम्न गए। त्यहाँ उनले केही मानिससँग सेल्फी खिचाए। सभापति रवि लामिछाने रिसोर्टमै बसे। 

जेनजीलाई समेट्न सुधनको दबाब
रविनिकट एक नेताले बन्दसत्र स्थगित हुनुमा सुधन गुरुङको अडान पनि एउटा प्रमुख कारण भएको दाबी गरे।

‘सुधन गुरुङले जेनजीलाई जसरी पनि चुनाव नगरी केन्द्रीय सदस्यमा ल्याउनु पर्छ भनेर सभापतिलाई भन्नु भएको रहेछ,’ ती नेताले नेपालखबरसँग भने, ‘केही जेनजीलाई उहाँले नै भित्री रुपमा सहभागिता सुनिश्चित नभई प्रक्रियामा नजान भन्नुभएको रहेछ। उनीहरू त्यसैगरी प्रस्तुत भइरहेको पाइयो। माहोल नबिग्रियोस् भनेर आज बन्दसत्र सुरु गरिएन।’

तर, प्रतिनिधिहरूलाई समायोजनकै कारण समय लागेको भनेर सुनाइएको सांसद कमल सुवेदी बताउँछन्। 

‘अलिकति महाधिवेशन प्रतिनिधिलाई मिलाउनु पर्छ भन्ने कुरा आइसकेपछि त पक्कै जेनजीको कुरा जोडिएको हुनपर्छ,’ उनले भने । 

यता रास्वपा महाधिवेशन चलिरहँदा नयाँ नेतृत्व चयन प्रक्रियामा जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न दबाब छ। पार्टी स्थापना र विस्तारका क्रममा युवाको सक्रिय भूमिका रहेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नयाँ कार्यसमितिमा जेनजी पुस्तालाई अर्थपूर्ण जिम्मेवारी दिनुपर्ने माग गरेका छन्। यसको नेतृत्व गृहमन्त्री सुधन गुरुङले गरिरहेका छन्।

गुरुङको योजनामा महाधिवेशनमा सहभागी जेनजी प्रतिनिधिहरूले सभापतिले मनोनीत गर्ने ५१ जनामा आधा जेनजी हुनुपर्ने माग राखेका छन्। रास्वपाकी नेतृ विनिता कठायतले रास्वपाको नयाँ कार्यसमितिमा जेनजीको आधा प्रतिनिधित्व हुनपर्ने बताइन्। घाइते जेनजी, महिला जेनजीदेखि अपांगता भएका र दलित, जनजाति जेनजीहरूलाई सभापतिले मनोनीत गरेर नयाँ कार्यसमितिमा समावेश गर्नुपर्ने उनको भनाइ थियो।

‘५१ जनालाई मनोनीत गर्ने भन्ने विधान बनाइएको छ। त्यसमा जेनजी सहित नयाँ आउनुभएका साथीहरूलाई अटाउन पर्छ भन्ने हाम्रो माग हो,’ कठायतले भनिन्, ‘मनोनीत गर्दा छुट्न नहुने, पार्टीको लागि राम्रो योगदान दिइरहेकालाई पनि समेट्न त पर्छ। अहिले समायोजन भएकामध्ये धेरैजसो जेनजी छन्। अन्त अवसर नपाएकाहरूलाई कार्यसमितिमा राखेर अघि बढ्नपर्छ भनेर पार्टी सभापतिज्यू, वरिष्ठ नेताज्यूलाई दबाब दिइरहेका छौँ।’

यता मधेस प्रदेशबाट प्रतिनिधि बनेर आएका २२ वर्षका मुकेशकुमार गुप्ता सरकारमा रहेको दलले जेनजी पुस्तालाई यो बेलामा सहयोग गर्नपर्ने बताउँछन्। 

‘जेनजीकै आडमा उहाँहरू सरकारमा पुग्नुभयो। तर अहिले कुनै पनि ठाउँमा जेनजीलाई समेट्न खोज्नुभएको पाइँदैन,’ उनले भने, ‘सांसद भएकाहरू पार्टीको सदस्यमा किन लड्नुप¥यो? हामी जेनजी पुस्तालाई दिए त हामीले पनि पार्टी हाँक्न सक्थ्यौँ।’ 

सभापतिले मनोनीत गर्ने ५१ जनामध्ये कम्तीमा २० जना भए पनि वास्तविक जेनजी छान्न आवश्यक रहेको उनले बताए। 

जेनजीको नाममा सरकारमा पुगेका केही मन्त्रीको उदाहरण दिँदै उनले थपे, ‘आन्दोलनका क्रममा पक्राउ परेका हाम्रो २–३ जना साथी अझै जेलमा छन्। कति जना घाइते भएका छन्। उहाँहरूले केही अवसर नपाउने। ठूला नेताको अघिपछि लाग्ने मात्रैले अवसर पाएको देखाएर सबैलाई समेटेको छु भनेर कहाँ हुन्छ?’

जेनजी पुस्ताले मनोनीत हुनकै लागि दबाब दिइहरेको अवस्थामा सिन्धुलीबाट निर्वाचित रास्वपा सांसद आशिष गजुरेल भने युवाले मागेर भन्दा पनि म सक्षम छु भनेर अघि बढ्नुपर्ने बताउँछन्। आफू सिन्धुलीबाट एकल उम्मेदवारको रुपमा प्रस्तुत भइरहँदा जिल्लाका जेनजी पुस्ताको समेत साथ रहेको बताउँदै उनले भने, ‘मैले हाम्रा भाइबहिनीहरूलाई तिमी उठ्ने भए उठ भनेको हुँ। उहाँहरूले यो पटक तपाईं जानपर्छ दाइ भनेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको छु। उहाँहरूको अधिकार खोसेको छैन। अन्य जिल्लाबाट आउनुभएका जेनजी भाइबहिनीले पनि माग्ने भन्दा पनि निर्वाचनमै जाने आँट गर्नुपर्छ।’ 

यद्यपि आवश्यकता, क्षमता र कार्यकुशलताको आधारमा पार्टी सभापतिले जेनजी, महिला, दलित, अपांगता भएका व्यक्तिहरू, लैंगिक तथा यौनिक अल्पसंख्यक, मधेसीदेखि सबैलाई समेट्ने सांसद गजुरेल बताउँछन्।

यता सहमहामन्त्री विपिन आचार्यले मनोनयनको अधिकार सभापतिमा हुने बताए।

‘सभापति निर्वाचित भइसकेपछि उहाँलाई जुनसुकै बेला केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार विधानले दिएको छ,’ उनले भने, ‘कहिले गर्ने, उहाँकै योजना भयो। तर त्यो जानकारी निर्वाचित केन्द्रीय समितिलाई दिनुपर्छ।’

तर, पहिला ९९ जना केन्द्रीय सदस्य निर्वाचित नभई त्यसलाई अगाडि बढाउन नपाइने उनले बताए। खासमा रास्वपामा शक्तिशाली ९९ भित्र पर्ने केन्द्रीय सदस्यको लागि धेरै दाबेदार छन्। चुनावमा गएर जित्न नसक्नेलाई सभापतिले मनोनीत गर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad