पार्टीभित्रको आन्तरिक विषय बाहिर बोलेको भन्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न नेताहरूले सुझाव दिएका छन्।
जारी स्थायी समिति बैठकमा शनिबारको खाजा खाने बेलासम्म बोल्ने अधिकांश नेताले शर्माले पार्टीभित्रको कुरा बाहिर सार्वजनिक गरेकोमा असन्तुष्टि जनाएको बताइएको छ।
स्थायी समिति सदस्य गणेशमान पुनले कमिटीको कुरा बाहिर लगेर गलत गरेको बताए। यस्तै उनीपछि धारणा राखेकी सत्या पहाडी र कमला रोकाले पनि पुनकै कुरामा समर्थन जनाउँदै अहिले माओवादी एकजुट भएको सन्देश दिने बेलामा पार्टीभित्र गुट रहेको देखाएर उपमहासचिव शर्माले राम्रो नगरेको टिप्पणी गरेका थिए।
‘पार्टीको रापतापमा पानी खन्याउने काम भइरहेको छ’, पुनले भने, ‘नेतृत्वलाई खुइल्याउने कामले पार्टीलाई घाटा लाग्नेछ। जनवाद र केन्द्रीयताको पालना भएन।’
उनले थपे, ‘प्रभाकर कमरेडले आत्मलोचनाबाट सुरुवात गर्नुपर्छ।’
बैठकमा अहिलेसम्म वर्षमान पुन, मातृका यादव, देवेन्द्र पौडेल, गंगा नारायण श्रेष्ठ, राम कार्की, कुलप्रसाद केसी, जोख बहादुर महरा, खगराज भट्ट, विश्वनाथ साहसहित २५ जना बोल्दा शर्माको पक्षमा कोही पनि नबोलेका बैठकमा रहेका एक नेताले बताए।
‘अब पदाधिकारीका केही नेता बोल्न बाँकी छ,’ ती नेताले नेपालखबरसंग भने, ‘अहिलेसम्म बोल्ने धेरै नेताले जनार्दन कमरेडले सार्वजनिक मञ्चबाट पार्टी अध्यक्षविरुद्ध बोल्न नहुने भन्दै कमिटी बैठकमा आफ्ना धारणा सच्याउन सुझाव दिनुभएको छ।’
सचिव राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले भने जनार्दन शर्माको पक्षमा बोलेका थिए। शर्मा स्वयं भने बोल्न बाँकी छ।
स्थायी समिति सदस्य अञ्जना विशंखेले पार्टीले पनि पार्टी विधान र महाधिवेशनको निर्णयमा टेकेर पार्टी सञ्चालन गनुपर्ने सुझाव दिएकी छिन्। आफ्नो धाराणा राख्दै भनिन्, ‘अध्यक्ष प्रचण्डले पनि विधानमा टेकेर बस्नुपर्यो। महाधिवेशनको निर्णयलाई फलो गर्नुपरयो। विधि विधानलाई फलो गरिएको छैन।’
साउन ६ गते काठमाडौँमा आयोजित पुष्पलाल स्मृति दिवसको भएको कार्यक्रममा प्रचण्डको नाम नलिइ आलोचना गरेका थिए।
उनले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारी बाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।
माओवादी केन्द्रको शुक्रबारदेखि स्थायी समिति बैठक सुरु भएको थियो। स्थायी समितिमा पदाधिकारीसहित ४६ जना सदस्य छन्।
Shares

प्रतिक्रिया