दिवंगत एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन्।
सोमबार राति बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्। केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए।
सुवासका कान्छा छोरा सुहाङ हिजै (मंगलबार) राति साढे १० बजे काठमाडौं आइपुगेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।
दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको अझै दाहसंस्कार गरिएको छैन। अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।
दिउँसो नेम्वाङको पार्थिव शरीर उनकै निवासमा लगिने एमालेले जनाएको छ।
अब बेलायतमा रहेका जेठो छोरा मिङ्सो नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने जानकारी काफ्लेले दिए।
‘जेठो छोरा आज (बुधबार) आइपुग्नुहुन्छ’, उनले भने।
सम्भवतः नेम्वाङको अन्तिम संस्कार भोलि बिहीबार हुनेछ।
संविधान सभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ।
सोमबार राति १ बजे बालुवाटारस्थित आफ्नै निवासको शौचालयमा बेहोस भएर ढलेका नेम्वाङलाई तत्काल त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई हृदयाघात भएको थियो।
Shares
प्रतिक्रिया