समाज


गणेश नेपालीलाई न्याय माग्दै मुगुबासीले गरे काठमाडौँमा प्रदर्शन

गणेश नेपालीलाई न्याय माग्दै मुगुबासीले गरे काठमाडौँमा प्रदर्शन

नेपालखबर
असार २५, २०८३ बिहिबार २०:४९, काठमाडौँ

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका युवक गणेश नेपालीको न्यायका लागि मुगुवासी युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

काठमाडौँ महानगर प्रहरी र राज्यको आतंकका कारण गणेशले आफ्नै शरीरमा आगो लगाएको भन्दै आक्रोशित युवाहरूले दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

उनीहरूले प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध पनि चर्को नाराबाजी गरेका छन्।

युवाहरूले ‘बेरोजगारलाई गरिखान दे’ ‘घटनाको निश्पक्ष छानबिन गर’ ‘नागरिक मार्न पाइँदैन’ ‘राज्य आतंक बन्द गर’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय युवक गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै बाइकबाट पेट्रोल निकालेर शरीरमा खन्याइ आगो लगाएको प्रहरीले जनाएको छ। 

उनको बाइकमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद भएको थियो। सोही क्रममा घटना भएको हो। 

राइड सेयरिङको काम गरिरहेका गणेश महानगर प्रहरीले पटक पटक दुःख दिने गुनासो गरेको उनका भतिज मन नेपालीले बताए।

गणेशका जेठान पदम नेपालीले पनि सरकारले आम्दानीभन्दा ठूलो जरिवाना लगाउँदा यस्तो घटना भएको भन्दै आक्रोश व्यक्त गरे। 
उनको उपचारका लागि खर्च अभाव भएको पदमले गुनासो गरे।

नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ७० प्रतिशत जलन रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

गणेश श्रीमती र करिब तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरि बस्ने गरेको उनका आफन्तले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad