कारोबार


नेपाली युवाको भारतीय कम्पनीमा अपार विश्वास, आईपीओमा २०५ गुणा आवेदन

नेपाली युवाको भारतीय कम्पनीमा अपार विश्वास, आईपीओमा २०५ गुणा आवेदन

क्राटिकल टेकका एक जना सह संस्थापक दीपजंग थापा


नेपालखबर
असार २५, २०८३ बिहिबार २०:३४, काठमाडौँ

भारतमा मुख्यालय रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित साइबर सुरक्षा कम्पनी क्राटिकल टेकले निष्कासन गरेको आईपीओमा २०५ दशमलव ८ गुणा बढी आवेदन परेको छ। कम्पनीका सहसंस्थापक नेपालको खोटाङ जिल्ला निवासी दीपकजंग थापा हुन्। क्रटिकल टेकले बम्बई स्टक एक्सचेञ्ज (बीएसई) बाट सेयर निकास्न गरेको हो।

असार १६ मा खुलेको आईपीओ १८ मा बन्द भएको थियो। तीन दिनको समयमा २ सय गुणाभन्दा बढी लगानीकर्ताले क्राटिकलमा लगानी आवेदन गरेका हुन्।

सन् २०१३ मा इन्जिनियरिङ पढ्दाका साथीहरु दीपजंग थापा, पवन कुमार तथा परतोष कुमारले उक्त साइबर सेक्युरिटी कम्पनी स्थापना गरेका थिए। सहसंस्थापक थापा कम्पनीको चिफ अपरेसन अफिसर (सीओओ) हुन्। मोतीलाल नेहरु राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) बाट बीटेक गरेका थापा त्योभन्दा अगाडि उनले भारतीय फाइनान्सियल टेक्नोलोजी कम्पनी पेटिएममा प्रडक्ट म्यानेजरको भूमिकामा काम गरेका थिए।

‘खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेञ्जको ट्रेडिङ फ्लोरसम्म पुग्दा यो यात्रा मेरा लागि सपना जस्तै हो’, सहसंस्थापक थापाले भनेका छन्, ‘लगानीकर्ताको यत्रो ठूलो उत्साह देख्दा हामी धन्य छौँ। तर यो नै हाम्रो अन्तिम लक्ष्य होइन, यो एउटा महत्वकांक्षी यात्राको सुरुवात मात्र हो।’

नयाँ पुँजीले अब क्राटिकललाई कम्पनीलाई बहुराष्ट्रिय कम्पनी बनाउने योजना रहेको उनले बताएका छन्। नयाँ प्लेटफर्महरुलाई अझ बलियो बनाउन र सीमापार साइबर सुरक्षामा प्रभावशाली विस्तार हुन नयाँ पूँजी कोशेढुंगा हुने उनको भनाइ छ।

क्राटिकल टेकको स्थापनाको कथा पनि निकै रोचक छ। सन् २०१३ सँगै कलेज पढ्ने दीपजंग, पवन, परतोष एउटै कलेजमा थिए। कलेजभित्र सार्वजनिक प्रयोग हुने कम्प्युटरबाट एक जना सहसंस्थापकको इमेल ह्याक भयो। सो घटनाले उनीहरुलाई साइबर सुरक्षाको आधारभूत र व्यापक आवश्यकताको बोध गराइदियो।

त्यो एउटा यस्तो घटना थियो जहाँबाट क्राटिकलको कथा पनि सुरू भयो।

हिजोआज कम्पनीले विशेषज्ञ परामर्श, नियामक कम्प्लायन्स सेवा तथा ‘एज अ सर्भिस’ आधारित सुरक्षा प्लेटफर्म समेत उपलब्ध गराउँछ। 'एज अ सर्भिस' भनेको भौतिक उपकरण वा स्थानीय (सीडी वा अरू डिभाइसमा उपलब्ध हुने) सफ्टवेयर को सट्टा तिनलाई क्लाउड प्रोभाइडरबाट भाडामा दिने/लिने सेवा हो, नेटफ्लिक्स जस्तै। 

क्राटिकलले हिजोआज बैंक तथा वित्तिय संस्था, फिनटेक, टेलिकम, इकमर्स, स्वास्थ्य तथा आइटी निर्भर कम्पनीको व्यापारलाई समेत सेवा प्रदान गर्छ। कम्पनीले अहिले यो सेवा भारतसहित खाडीका देशहरुमा फैलाइसकेको छ।

करिब ९ वर्षअघि चार जना ‘एन्जल इन्भेष्टर्स’ले सुरु गरेको टेक कम्पनीको हालको मूल्य करिब ३ अर्ब २३ करोड नेपाली रुपैयाँ पुगेको छ। आईपीओबाट प्राप्त पूँजीले अमेरिका र खाडीका थप मुलुकमा बजार विस्तार गर्ने योजनामा कम्पनीको रहेको सीओओ थापा बताउँछन्। 

अहिलेसम्म क्राटिकल नेपालमा भाैतिक रूपमा भित्रिएको छैन। उसले आफ्नो सेवा सञ्चालन गर्न हाल काठमाडौंस्थित अर्को प्रविधि कम्पनी ग्याप टेक्नोलोजीसँगको सहकार्य गरिरहेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad