राजनीति


गृहमन्त्री गुरुङको भनाइमा नियमापत्ति, संसद्को रेकर्डबाट हटाउन माग

गृहमन्त्री गुरुङको भनाइमा नियमापत्ति, संसद्को रेकर्डबाट हटाउन माग

नेपालखबर
असार २६, २०८३ शुक्रबार १६:२१, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन प्रतिनिधि सभाको बैठकमा सांसदले नियमापत्ति गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा मुगुका गणेश नेपालीको मृत्यु प्रकरणबारे जानकारी दिन सभामुख डोलप्रसाद अर्यालले गृहमन्त्री गुरुङलाई समय दिएका थिए। तर, गृहमन्त्री गुरुङ सांसदहरूलाई नै हप्काउने गरी बोलेका थिए। 

‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,’ गृहमन्त्री गुरुङले रोस्टमबाट भने, ‘तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन।’

यसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति गरेका हुन्। गृहमन्त्री गुरुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको शर्माले बताए। 

‘सदनले सरकारलाई सदनमै खोज्ने हो। सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो। त्यो जिम्मेवारी हो,’ शर्माले भने। 

गृहमन्त्री गुरुङले सदनको अपमान गरेको शर्माले बताए। ‘सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति, संसद्प्रति जिम्मेवारी मन्त्रीले गरेको अपमानको रुपमा मैले यसलाई बुझेको छु,’ शर्माले भने, ‘यसलाई संसदको रेकर्डबाट हटाइयोस्।’

सांसद शर्माले आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसद्मा प्रस्तुत हुन र सांसदहरूका प्रश्नलाई जिम्मेवारीपूर्वक जवाफ दिन अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad