राजनीति


सांसद गीता गुरुङको कटाक्ष: सरकार हिटलरले जस्तै कुनै च्याम्बर त निर्माण गर्दै छैन?

सांसद गीता गुरुङको कटाक्ष: सरकार हिटलरले जस्तै कुनै च्याम्बर त निर्माण गर्दै छैन?

नेपालखबर
असार २६, २०८३ शुक्रबार १६:४२, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकार हिटलरले जस्तै कुनै च्याम्बर निर्माण गर्दै त छैन भन्दै कटाक्ष गरेकी छन्।

सरकारले सुकुमवाासीहरूलाई बासविहीन बनाएको र अब खानासमेत बन्द गरेर मर्न बाध्य पारेको भन्दै यस्तो कटाक्ष गरेकी हुन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले भनिन्, ‘सरकारले बागमतीबाट उठाएर होल्डिङ सेन्टरमा पुर्यायो। कतै पानी बन्द गरिदियो, कतै खाना। लाग्छ सरकार उबेलाको जर्मनको तानाशाही शासक सम्झाउने कुनै च्याम्बर त निर्माण गर्दै छैन?’ 

उनले जबर्जस्ती जे सुकै गर भनेर काठमाडौँ ल्याएर छाडिदिए पछि अब कहाँ जाने, के गर्ने भन्दै सुकुमवासीहरूको आर्तनादले सिंगै नेपाली समाजलाई झस्काएको बताइन्।

‘सभामुख महोदय। मुटु र मन भएका मानिसका लागि सामजिक सञ्जालमा यत्रतत्र भेटिने उनीहरूका मन रोएको भिडिओ हेर्दा आफूलाई सम्हाल्न सकेका छैनन्। के सरकार यति निर्मम हुनसक्छ? के सरकार आफ्नै नागरिकप्रति यति अमानवीय बन्न मिल्छ?’ उनले भनिन् ‘ढुँगाको मन भएको सरकारलाई त उनीहरूको आँशुले नछोला तर, मानवता भएका हर नागरिकको मन भने यतिबेला रोएको छ।’ 

उनले प्रश्न गरेकी छन्, ‘के राज्यको दायित्व नागरिकलाई सडकमा बेवारिसे बनाउनु हो?’

गास र बासको संवैधानिक हकको ग्यारेन्टी गर्दै, सबै विस्थापित परिवारको खातामा तत्काल रकम जम्मा गर्न र उनीहरूको स्थायी पुनर्स्थापना नभएसम्म मानवीय संकट आउन नदिन उनले सरकारसँग जोडदार माग गरेकी छन्।

यस्तै, उनले गणेश नेपालीको आत्मदाह घटनाबारे उल्लेख गर्दै ‘नागरिकमा आशाको सञ्चार गर्नुपर्नेमा सरकार किन निराशाको विजारोपण गर्दैछ?’ भनि प्रश्न गरेकी छन्। 

उनले प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा हालका प्रधानमन्त्री वालेन्द्र शाहले लेखेका शब्द सापर्टी लिँदै ‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो’ भनिन्।

‘शासक फेरियो नागरिकको जिवनशैली फेरिएन। कर्णालीमा पहिले एक छोरो पिरलाई एक छोरो भिरलाई भन्ने आहान सुनिन्थ्यो सभामुख महोदय। अब के एक छोरो को बलि शासकलाई चढाउन पर्ने हो?’ सांसद गुरुङले भनिन्, ‘ शासकहरू कहिलेसम्म बलि लिन्छौ गरिबको? शासकहरूलाई गरिब मन पर्दैन भने नाका नाकामा लेख सरकार– मेरो सुन्दर शहरमा तिमिहरूलाई प्रवेश निषेधको होर्डिङबोर्ड।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad