अन्तर्वार्ता


जब उपत्यका ट्राफिकले महिला नेतृत्व पायो, बालेन्द्रले पाए बलियो साथ (डीआईजी मीरासँग अन्तर्वार्ता)

डीआईजी मीरा चौधरी भन्छिन् - मैले आउनेबित्तिकै उठाएको विषय हो - बेसमेन्ट पार्किङ
जब उपत्यका ट्राफिकले महिला नेतृत्व पायो, बालेन्द्रले पाए बलियो साथ (डीआईजी मीरासँग अन्तर्वार्ता)

उजिर कार्की
भदौ १० , काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म ४७ जना हाकिम फेर्यो। वि‍.सं. २०१८ सालपछि जति पनि ट्राफिक प्रमुख भए, ती सबै पुरुष थिए। काठमाडौं उपत्यका ट्राफिक कार्यालयको नेतृत्वमा पहिलोपटक पुग्ने महिला प्रमुख हुन् - प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरी।

डीआईजीमा बढुवा भएपछि उनले ट्राफिक प्रमुख भएर सहरका सवारीको व्यवस्थापन गर्ने जिम्मा पाइन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भए पनि त्यहाँ हाजिर नहुँदै सरकारले काजमा ट्राफिकको जिम्मा दियो। नेतृत्व सम्हाल्ना साथ उनैले काठमाडौंका मेयर बालेन्द्र शाहलाई सुझाएको विषय हो - काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङको खोजी।

डीआईजी मीराको प्रस्तावमा बालेन्द्र सहमत भए। त्यसको एक महिना नबित्दै मेयर बालेन्द्र र डीआईजी चौधरी एकसाथ डोजर लिएर सडकमा निस्कन थाले।

त्यसैको परिणाम - ठूला भवनभित्रका व्यापारिक स्थल पार्किङका रूपमा खुल्न थालेका छन्।

ठूला व्यापारिक भवनहरूले नक्सा पास गर्दै भवनमा पर्याप्त पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ। अहिले ट्राफिक कार्यालय र महानगरपालिकाले तिनै पार्किङको खोजी गरेका हुन्। केही दिनयता काठमाडौंका बानेश्वर, सुनधारा, न्युरोड लगायतका क्षेत्रमा डोजर लगाएर ती अवैध संरचना भत्काइँदैछ।

अवैध संरचना भत्काउने अभियानसँगै काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि थप योजना के छन् भनेर डीआईजी चौधरीसँग संक्षिप्त कुरा गरेका छौं।

डीआईजी मीरा नेपालखबरसँग भन्छिन्, ‘ट्राफिक व्यवस्थापन गर्न योजना बनाएर लागू गरिरहेका छौं। विद्यालयका बसहरू कारबाहीको दायरामा ल्याउन हामीले विशेष चेकजाँच गरिरहेका छौं।’

महानगर ट्राफिकको जिम्मेवारी सम्हालेसँगै तपाई अहिले चकाचक देखिनुहुन्छ नि ?

हामी ट्राफिक व्यवस्थापनलाई सहज बनाउने प्रयास गरिरहेका छौं। मैले आउनेबित्तिकै उठाएको विषय हो - बेसमेन्ट पार्किङ। म आउनेबित्तिकै काठमाडौं महानगरपालिकालाई अनुरोध गरेका थिएँ।

अहिले काठमाडौं महानगरपालिकाकै अगुवाइमा जहाँ पार्किङका लागि हुनुपर्ने स्थान अन्य प्रयोजनमा प्रयाेग भइरहेको छ, त्यो हटाइरहेका छौं। देखिएको स्थानमा उहाँहरूको संरचना हटाउने, हटाउन सूचना दिने र त्यो स्थानलाई बेसमेन्ट पार्किङकै रूपमा प्रयोग गर्ने कामको सुरुवात भएको छ।

काठमाडौंका घरहरूमा डोजर चलाउन कसरी सम्भव भयो?

काठमाडौं महानगरपालिकाले अगुवाइ गर्याे। नक्सा पास गर्ने लगायतका जुन कार्यविधि छ, त्यो कार्यविधि उहाँहरूले नै हेर्नुहुन्छ। सबै प्रक्रिया उहाँहरूले गरिसकेपछि ट्राफिक व्यवस्थापनका लागि यो ठाउँ उपयुक्त हुनसक्छ भन्ने निर्क्याेलका साथ प्रयास गरिरहेका छौं। महानगरको नेतृत्वमा हामी पनि एउटा पक्ष हौं।

फिल्डमा के के पाउनुभयो?

बेसमेन्ट पार्किङका लागि नक्सा भए पनि व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइयो। कुनै ठाउँमा जुत्ता पसल, कुनै ठाउँमा कपडा पसल, कुनै ठाउँमा बर्गरहाउस चलाइएको छ। पार्किङका लागि छुट्याएको र त्यहाँ जाने ठाउँलाई पनि बन्द गरेर व्यापारिक प्रयोजनका लागि विभिन्न खालका व्यवसाय सञ्चालन गरिएको अवस्था छ। ती हटाउन भनेका छौं। कतिपय अटेर गरिएका स्थानमा हामी आफैं पनि लागिरहेका छौं।

उपत्यकाको ट्राफिक समस्या के हो ?

पछिल्लो अभियानमा हामी लागिरहँदा मैले देखेको, जुन ठाउँमा सामान किन्नु छ भने त्यही अगाडि सवारी साधन रोक्नपर्छ भन्ने जुन सोच छ, यसलाई परिवर्तन गरेर हामीले तोकिएका क्षेत्रमा सवारी साधनको व्यवस्थापन गर्न सक्यौं र पार्किङ क्षेत्र लागू गराउन सक्यौं भने यी चुनौती घटेर जान्छन्। यसमा कुनै दुविधा छैन।

बानेश्वर क्षेत्रकै कुरा गर्ने हो भने अहिले भर्खरै हामी त्यहाँ अनुगमन गरेर आएको तथ्यांक चाहिँ महानगरपालिकासँग छ। तर, हामी संयुक्त रूपमा काम गरिरहेको भएर जति सवारी साधन पार्क गरिरहेको छ, त्यो भन्दा धेरै खाली स्थानहरू छन्। तर, त्यो तोकिएको र खाली स्थानमा जुन प्रयोजनका लागि तोकिएको छ, त्यसमा प्रयाेग गरिएको छैन।

सवारी साधनहरूको पार्किङ व्यवस्थापन गर्न सक्यौं भने यो समस्या निराकरण हुन्छ। दरबारमार्ग, न्युरोड र बानेश्वर क्षेत्रमा पनि सडकमै पार्किङ गरिरहेको अवस्था छ। त्यो सुरक्षित ठाउँमा जाने हो भने बाटो क्लियर हुन्छ। यसले ट्राफिक व्यवस्थापन सहज बनाउँछ।

दरबारमार्ग, न्युरोड पनि व्यवस्थित गर्नुहुन्छ?

गर्छु। काठमाडौं उपत्यका ट्राफिक कार्यालयले गर्छ भनेर नै महानगरपालिकालाई अनुरोध गर्यो। उहाँ (मेयर) को अगुवाइमा हामी सँगसँगै काम गरिरहेका छौं। सम्भव हुन्छ। सम्भव यो कारण पनि कि बानेश्वरको एरियामा जुन अप्रेसन गर्यौँ। तपाईंले त्यो ठाउँ गएर हेर्नुभयो भने त्यहाँ जति पनि सवारी साधन पार्क गरिएको छ, त्यसको व्यवस्थापन सहजै हुन सक्छ। त्यसमा कुनै शंकै गर्नु पर्दैन।

तर, मान्छेले आफ्नो माइन्डसेट चेन्ज गर्नुपर्छ। जे प्रयोजनका लागि नक्सा पास गराएर भवन बनाइएको हो, त्यो अनुसार प्रयोग गर्नुपर्छ। आफ्नो फाइदा मात्रै नहेरी  समग्रमा कसरी सहज हुन्छ, हामी कसरी सहज बनाउन सक्छौं भन्ने जिम्मेवारी हामी सबैको हो भनेर बुझ्यौं भने यसमा केही गाह्रो छ जस्तो लाग्दैन।

तपाईंहरूले घरहरूमा डोजर चलाएपछिको प्रतिक्रिया के छ?

हामीले समुदायका निम्ति नै गरेको हो। प्रतिक्रिया पनि उहाँहरूले सकारात्मक नै दिनुभएको छ।

गैरकानुनी भन्ने जान्दा जान्दै यसअघिका ट्राफिक प्रमुख र मेयरले आँट गरेनन्। तपाईंहरूलाई अहिले दबाव पनि त होला नि ?

दबाव मेयर साबलाई आयो होला। नक्सा पास गराउनेलगायत कानुनी प्रक्रिया सबै उतै जोडिने भएकाले। मेरो हकमा भन्नुहुन्छ भने यसमा हामीले दबाव लिनुपर्ने अथवा मलाई दबाव छ भन्ने ठाउँ छैन। मैले त महानगरपालिकालाई सहयोग मात्रै गरिरहेको छु। नेतृत्व उहाँ (मेयर) ले गरिरहनुभएको छ। ट्राफिक व्यवस्थापनको चुनौती सबैभन्दा बढी ट्राफिक प्रहरीले नै भोग्नुपर्छ। त्यसैले सहयोगीको भूमिका खेलिरहँदा मलाई दबाव छैन।

ठूला व्यापारी घराना छन्, नेताहरू जोडिएका छन्, दबाव त पक्कै दिए होला?

होइन, सजिलो र गाह्रो भन्दा पनि मलाई के लाग्छ भने हामी नीतिगत हिसाबले कुरा गर्ने हो भने कुनै एउटा घर जुन प्रयोजनका निम्ति बनेको छ, त्यसअनुसार काम हुनुपर्छ। कोही यो विषयमा दुविधामा रहनुपर्ने अथवा हुनु हुँदैन भन्ने कुरा सोच्नु हुँदैन। मचाहिँ त्यसलाई दबावका रूपमा लिन्नँ।

नीतिगत हिसाबले कुनै घरधनीले मेरो घरको यति प्रतिशत ठाउँ मैले बेसमेन्ट पार्किङको लागि छुट्याएको हो र त्यसअनुसार नक्सा बनाएको छु भन्न सक्नुपर्याे। उहाँहरूले त्यसैका लागि प्रयोग गर्नुपर्छ। जसले गर्दा हामी काठमाडौंबासी सबैको समस्या हो र हामी मिलेर समाधान गर्न सक्छौं। काठमाडौंको सडक सुरक्षित बनाएर दुर्घटना कम गर्न पनि सकिन्छ। यतातिर सबैले सोच्न जरुरी छ।

यो त ट्राफिक व्यवस्थापनका लागि एउटा काम भयो। यसले मात्रै त राजधानीको ट्राफिक व्यवस्थापन नहोला, अरू योजना के छन्?

हामीसँग जति ट्राफिक प्रहरी उपलब्ध छन्, त्यसले ट्राफिक व्यवस्थापन गर्न योजना बनाएर लागू गरिरहेका छौं। विद्यालयका बसहरू कारबाहीको दायरामा ल्याउन हामीले विशेष चेकजाँच गरिरहेका छौं। मोटरसाइकलको ध्वनि बढी भयो भन्ने गुनासो छ। हामी त्यतातिर पनि ध्यान दिँदैछौं।

हाम्रो तथ्यांकले १७ देखि ३५ वर्षसम्मका युवा बढी दुर्घटनामा परेको देखाउँछ। त्यसमा पनि बढी दुईपांग्रे सवारी साधन छन्। हामी पछिल्लो समय किशोर उमेरका, कलेजका विद्यार्थीलाई पनि लक्ष्य गरी चेकजाँच गरिरहेका छौं।

एम्बुलेन्स चालक, पानी बोक्ने गाडी, जुन ठूला ट्रिपर हुन्छन् त्यो पनि अनियन्त्रित हिसाबले चलाइयो भन्ने सूचना आइसकेपछि कारबाहीको दायरा बढाएका छौं।

हामीले यी काममा समुदायको सहयोग पनि लिइरहेका छौं। जस्तै : स्काउटको सहयोग छ। पद्मकन्या क्याम्पसका सय जनाजति बहिनीहरूले १५ दिन स्वयंसेवा गर्नुभयो। हामीले अझै राम्रो व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौं।

यो अभियान कहिलेसम्म चल्छ?

हामीले अहिले जहाँ सुरुवात गरेका छौं, त्यहाँ सवारी साधनको पार्किङ व्यवस्थापन गर्दै अन्यतिर  अघि बढ्छौँ। हामीसँग सवारी साधनलाई चाहिनेभन्दा बढी पार्किङका लागि छुट्याइएको ठाउँ छ। तपाईंहरूले देख्ने गरी पार्किङ व्यवस्थापन गर्दै लान्छौं। जसले सहर सफा पनि देखिन्छ।

सडकमा पार्किङ कहिलेदेखि देख्नुपर्दैन ?  

हामी बेसमेन्ट पार्किङ व्यवस्थापनमा लागेको तीन/चार दिन मात्रै भयो। बानेश्वर पहिलो प्वाइन्ट हो, जहाँबाट हामीले सुरु गर्याैँ। त्यो बेसमेन्ट मिलाउन २/४ दिन समय लाग्छ। काम भइरहेको छ।

त्यसको प्रभाव तपाईंहरूले त्यही देखिहाल्नुहुन्छ। सम्भवतः एक हप्ताभित्र केही न केही परिवर्तन त पक्कै देखिन्छ। काठमाडौंका सबै ठाउँमा गर्न नसकिए पनि कुनै एउटा बिन्दुबाट हामी सुरु गर्छौं।

काठमाडौं उपत्यकाबासीलाई तपाईका अरु केही सुझाव छन् कि?

हामी सबैले बुझेकै छौं। नबुझ्ने थोरै मात्र हाैँला जस्तो लाग्छ। मान्छेको जुन बुझाइ छ - सवारी साधन ढोका अगाडि भएन भने मेरो व्यापार हुँदैन भन्ने, त्यो चिन्ता उहाँहरूले अब छाड्नुपर्छ। तपाईंले आफ्नो ठाउँलाई जति सहज बनाउनुहुन्छ, जति सुरक्षित बनाउनुहुन्छ व्यापार पनि त्यसैगरी बढ्ने हो।

व्यापार भनेको विश्वास पनि हो। आफूलाई मन परेको ब्रान्ड खोज्न ग्राहक जहाँ पनि जान्छन्। हामी सबैको प्रयास आफ्नो ब्रान्ड स्थापित गराउन हुनुपर्यो। सँगसँगै तपाईंको व्यवसायसँग जोडिने मान्छेहरूलाई सहज वातावरण पनि दिन जरुरी हुन्छ।

यो हाम्रो साझा अभियान हो, ट्राफिक प्रहरीले मात्रै चाहेर अथवा अन्य कुनै एउटा निकायले मात्रै चाहेर यो सम्भव हुँदैन। ट्राफिक व्यवस्थापन सहज बनाउन सबैले केही न केही गर्नुपर्छ। 

भदौ १०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad