ad ad

समाज


बालेन्द्रलाई पर्खिरहेको अल्फा बिटा, बाटो मिचेर पार्किङ (तस्बिरहरू)

बालेन्द्रलाई पर्खिरहेको अल्फा बिटा, बाटो मिचेर पार्किङ (तस्बिरहरू)

विशाल कार्की
भदौ ७, २०७९ मंगलबार २०:२५, काठमाडौँ

नयाँ बानेश्वरबाट बुद्धनगरतिर जाने बाटैमा अल्फा बिटा नाम गरेको बिल्डिङ छ। यो भवनमा बेलाबखत विभिन्न पार्टीका शीर्षनेता एवं मन्त्रीसमेत कार्यक्रमहरुमा सहभागी हुने गर्छन्। अल्फा हाउसमा विभिन्न कार्यालय छन्। दिनहुँ मानिसको भीड लाग्ने गर्छ।

अल्फा हाउसका घरबेटीले भुइँतलामा राख्दै आएको पार्किङ हटाएर भाडामा लगाएका छन्। भवनमा आउने मानिसका लागि मोटरसाइकल पार्किङ गर्ने ठाउँमा अहिले कफी सप र फार्मेसी राखिएको छ। भवनको  पार्किङस्थल भाडामा लगाएर घरबेटीले पैसा कमाइरहेका छन् भने पार्किङ चाहिँ सडकको फुटपाथलाई बनाइएको छ।

अल्फा बिटाले सडक कब्जा गरेका कारण बाटो हिँड्ने मानिसहरु पेटीमा हिँड्न नपाएर सडकबाटै हिँड्नुपरेको छ, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ।

मंगलबार दिउँसो अल्फा बिटा अगाडि सडकमा हिँडिरहेकी मिठ्ठु मल्लले आक्रोश पोख्दै भनिन्, ‘मान्छे हिँड्ने फुटपाथ यस्तो अस्तव्यस्त छ। नियम कानून हुँदा पनि मान्छेहरू नियम कानून मान्दैनन्। फुटपाथको पार्किङका कारण घरबाट कामका लागि सडकमा निस्किँदा घर फर्कन पाइन्छ कि पाइँदैन भन्ने डर हुन्छ।’

मिठ्ठुले थपिन्, ‘फुटपाथमा एकअर्काबीच धक्कामुक्की भएर हिँड्नुपर्छ। म ७० वर्षकी मान्छे हुँ  यसरी फुटपाथ रोक्ने? यो पनि काइदा हो?’

मंगलबार दिउँसो नेपालखबरकर्मी अल्फा बिटामा पुग्दा फुटपाथ छेकेर सवारी साधन तेर्स्याइएको पाइयो। त्यहाँ खटिएका एक सुरक्षा गार्डलाई मानिस हिँड्ने बाटोमा किन पार्किङ गरेको भनेर सोध्दा उनले सहजरुपमा जवाफ दिए, ‘पहिले तल भवनमै पार्किङ थियो, अहिले भाडामा लगाइएकाले बाटोमा पार्किङ गर्न थालिएको हो।’

अल्फा बिटा अगाडि भेटिएका वामदेव मल्लले भने, ‘बुढेसकालमा चलायमान हुनुपर्छ भनेर हिँड्न खोज्दा सडकमै मरिन्छ कि भन्ने लाग्छ। समस्या समाधानमा जिम्मेवार निकाय निरीहजस्तो देखेँ। म काठमाडौंमा बस्न लागेको आठ वर्ष भयो। काठमाडौंमा पहिलेभन्दा मनपरीतन्त्र बढेको छ।’

काठमाडौं महानगरपालिकाले सडक मिचेर पार्किङ नगर्न र भवनमा अण्डर ग्राउण्ड पार्किङको व्यवस्था गर्न ३५ दिने सूचना निकालेको ४० दिन पुग्न लागिसकेको छ। महानगरले सोमबारदेखि नयाँ बानेश्वरबाट पार्किङ मिच्ने घरबेटीमाथि कारवाही सुरु गरिसकेको छ।

मंगलबार नयाँ बानेश्वरको अल्फा बिटा अगाडि पुग्दा त्यो ठाउँले पनि बालेन्द्र शाहलाई पर्खिरहेको भान भयो।

अल्फा बिटाको पूर्वमा रहेको इन्द्रेणी फुडल्याण्डको छेउमा पनि बटुवाहरु बस्ने फलैंचासमेत मिचेर बाटोमै पार्किङ गरेको भेटियो। ट्राफिक प्रहरीले समेत यहाँ कुनै वास्ता गरेको देखिएन।

याे पनि :

भिडिओ :

हेर्नुहोस् अल्फा बिटाले पैदलयात्रीको बाटो मिचेका थप तस्बिर :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .