ad ad

राजनीति


आगामी चुनावमा कांग्रेस–एमालेलाई संकट : बालेन्द्रको डोजरलाई कसरी हेर्ने?

आगामी चुनावमा कांग्रेस–एमालेलाई संकट : बालेन्द्रको डोजरलाई कसरी हेर्ने?

नेपालखबर
भदौ ९, २०७९ बिहिबार २१:३८, काठमाडौँ

सडक मिचेर बनाइएका संरचना भत्काउन जब काठमाडाैंका मेयर बालेन्द्र शाहले डोजर अगाडि बढाए, तब नेकपा एमालेका नेता एवं पूर्वमेयर केशव स्थापितले यो अभियानमा कांग्रेस नेता प्रकाशमान सिंहको हात रहेको आरोप लगाए। स्थापितको यस्तो आरोपले बालेन्द्रको अभियानलाई राजनीतिकरण गर्न खोजेको देखिन्छ।

स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्रले सुुरु गरेको डोजर अभियानबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको औपचारिक धारणा बाहिर आएको छैन। तर, विस्तारै यो अभियानमा राजनीतिक दलका नेताहरु तानिने सम्भावना भने बढेको छ।

गठबन्धन र एमाले दुबैतर्फका नेताहरु ‘बालेन्द्रको डोजर’ बारे मौन बसेर अब काठमाडौंमा भोट माग्न सक्ने स्थिति देखिँदैन। उनीहरुले कि त बालेन्द्रले चलाएको अभियान सही छ भन्नुपर्ने हुन्छ, कि यो अभियानलाई गलत भन्नुपर्ने हुन्छ।

राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध रहेका व्यवसायीहरुले आफ्नो घर अगाडिको संरचना भत्किएपछि शक्ति केन्द्र गुहार्ने र बालेन्द्रलाई असफल पार्ने योजना बनाउने संकेत देखिइसकेको छ।

अब एमाले र गठबन्धनका नेताहरु शक्तिकेन्द्रको आडमा वर्षौंदेखि सार्वजनिक बाटो मिच्दै आएका मिचाहाकै पक्षमा उभिन्छन् या बालेन्द्रको अभियानलाई सहयोग गर्छन्? यो अहिले नै खुलिसकेको छैन।

तर, कांग्रेस र एमाले मौन देखिए पनि कतिपय दलका नेताहरुले बालेन्द्रको अभियानप्रति समर्थन जनाउन थालिसकेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बालेन्द्रको अभियानप्रति समर्थन जनाउँदै भनेका छन्, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ। तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ। यस कार्यमा सबैले सहयोग गरौं। वेल डन बालेन शाह कीप ईट अप।’

त्यसैगरी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि बालेन्द्रलाई समर्थन जनाउँदै ट्विट गरेका छन्, ‘वेल डन बालेन कीप ईट अप।’

नेपाली कांग्रेससँग नजिक रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यदि कांग्रेस र एमालेले बालेन्द्रको विरोध गरेमा काठमाडौंमा आफ्नो जनमत थप गुमाउने बताउँछन्।

काठमाडौंमा अब बालेन्द्रको अभियानलाई कसरी हेर्ने भन्ने विषय चुनावी मुद्दा बन्छ कि बन्दैन? नेपालखबरको प्रश्नमा आचार्यले भने, ‘निश्चित रुपमा। कांग्रेस र एमालेले बालेन्द्रलाई गर्ने डिस्टर्बले आफ्नो थप जनमत गुमाउँछन् र सिभिल सोसाइटीले बालेन्द्रलाई ठूलो मद्दत गर्छ।’

आचार्य अगाडि भन्छन्, ‘बालेन्द्रको क्रेज जहाँ थियो, त्यसको ग्राफ तल गएको छैन। कसैले राज्यसँग फेवर लिएको छ र त्यो अवैध छ भने त्यसरी राज्यबाट फेवर पाइरहेका केही मान्छेहरु कराउलान्। तर, आम जनताले बालेन्द्रलाई सहयोग गर्छन्।’

बालेन्द्रको अभियानबारे आचार्यसँग नेपालखबरले लिएको संक्षिप्त प्रतिक्रिया जस्ताको त्यस्तै–

मेयर बालेन्द्र शाहले अहिले थालेको अभियानलाई मेरो सत प्रतिशत समर्थन छ। कुनै पनि बेथिति वा कानून तोड्ने कुराको म विरोध गर्छु। म कानूनको पालना गर्ने व्यक्ति हो। आजसम्म मैले ट्राफिकको रातो बत्ती पनि क्रस गर्न आँट गर्दिनँ। त्यसकारण कसैले कानून मिचेर केही काम गरेको छ र त्यसमा बालेन्द्रले डोजर लगाएको छ भने त्यसलाई निरन्तरता दिनुपर्छ। यसमा मेरो पूरा समर्थन छ। 

किनभने, तल बेसमेन्टमा पार्किङ गर्छु भनेर घर बनाएको छ। तर,  व्यापारिक भूइँ सबैतिर भाडामा लगाएर खाएको छ। अनि काठमाडौंमा जाम गरिदिएको छ। जाममा पर्ने पीडितहरु काठमाडौंमा सरकारले न्याय दिएन भन्ने स्थितिमा छन्। त्यसैले जस्टिसको सिम्बल चाहिँ बालेन्द्र जस्तो भएर आएको अवस्था छ। युवाहरुले सबैको सम्मान होस्, न्याय होस् भन्ने चाहेका छन्।

हाम्रो मेयर त बालेन्द्र होइन नि, मेरी छोरीको मेयर हो। छोरीले बालेन्द्रलाई भोट दिइन्। युवा पुस्ता गरिखान देऊ, सबैलाई समान व्यवहार गर भन्ने फिलोसोफीमा टेकेको छ। यसले गर्दा कांग्रेस र एमालेले बालेन्द्रलाई गर्ने डिस्टर्बले काठमाडौंमा आफ्नो थप जनमत गुमाउँछन्। र, सिभिल सोसाइटीले बालेन्द्रलाई ठूलो मद्दत गर्छ। अहिले बालेन्द्रले गरिरहेको काममा पार्टीका नाममा कसैले अवरोध गरे भने त्यो प्रत्युत्पादक हुन्छ।

बालेन्द्रले पनि स्वतन्त्रका लागि चुनावी मुुद्दा नै बनाउँदैछन् कि? बालेन्द्रको पनि यो चुनावी मुद्दा हुन सक्ला, मलाई थाहा छैन, यो मेरो अनुमान र आशंका मात्रै हो। उनीहरु (स्वतन्त्र) लाई पनि कुनै न कुनै मुुद्दामा त चुनाव लड्नु छ। तर, यो म अहिले दाबी गर्न सक्दिनँ, अनुमान मात्रै गर्न सक्छु।

तर, उनी पार्टीको ब्यानरभन्दा बाहिर छन्।

काठमाडौंमा बालेन्द्रको मत
स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्र शाहसँग ३२ वडाध्यक्ष मध्ये एकजना पनि स्वतन्त्र वडाध्यक्ष छैनन्। तर, उनले  ६१ हजार ६६७ मत ल्याएर चुनाव जितेका हुन्। यो भनेको कांग्रेस वा एमालेका उम्मेदवारले पाएको भन्दा लगभग दोब्बर बढी हो।

काठमाडौंका ९ वटा निर्वाचन क्षेत्रमा फैलिएको महानगरभित्र निर्वाचन क्षेत्र नम्बर १ मा बालेन्द्रले पाएको भोट कांग्रेस र एमालेको भन्दा बढी छ। यहाँ स्वतन्त्रको उम्मेदवारलाई जित्नु कांग्रेस–एमालेका लागि चुनौतीपूर्ण छ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले उम्मेदवारी घोषणा गरेको क्षेत्र नम्बर ८ मा पनि बालेन्द्रको स्वतन्त्र मत कांग्रेस–एमालेकै हाराहारीमा छ। बाँकी निर्वाचन क्षेत्रमा पनि स्वतन्त्रको मत निर्णायक देखिन्छ।

त्यसैले काठमाडौंको चुनावमा ‘बालेन्द्र फ्याक्टर’ एमाले वा सत्ता गठबन्धनका लागि निकै महंगो पर्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .