ad ad

कारोबार


‘अब काठमाडौंका घरबेटीले नक्सा फ्रेममै झुन्ड्याएर राख्दा हुन्छ’

महानगर भन्छ– पार्किङ र स्टोरबाहेक अन्य प्रयोजनमा बेसमेन्ट प्रयोग गर्न पाइँदैन
‘अब काठमाडौंका घरबेटीले नक्सा फ्रेममै झुन्ड्याएर राख्दा हुन्छ’

अल्फाबिटाको भवन नक्सा देखाउँदै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह। तस्बिर : बालेन्द्र शाह/फेसबुक


वसन्त अर्याल
भदौ ९, २०७९ बिहिबार १८:३२, काठमाडौँ

काठमाडौं महानगरले व्यावसायिक भवनको बेसमेन्ट २ वटा कामको लागि मात्रै प्रयोग गर्नसक्ने बताएको छ। 

महानगरले बेसमेन्टमा व्यवसाय गर्न नपाउने भन्दै संरचना भत्काउन थालेको हो। 

काठमाडौं महानगरले व्यापारिक कम्प्लेक्समा पार्किङको लागि बनाइएको संरचनामा व्यवसाय गर्दै आएकोमा धमाधम भत्काउन थालेको छ। 

घरधनीले भवनको नक्सा पास गर्दा पार्किङको लागि गर्ने र पछि व्यावसायिक रुपमा भाडामा लगाएको पाइएपछि हटाउन थालिएको हो।  

काठमाडौं महानगरका सहरी व्यवस्थापन विभाग निर्देशक सुरज शाक्यले व्यावसायिक भवनले बेसमेन्टमा व्यवसाय गर्न नपाउने बताए। 

‘व्यावसायिक भवनको बेसमेन्ट २ वटा कामको लागि मात्रै प्रयोग गर्न सकिन्छ’, निर्देशक शाक्यले भने, ‘एउटा पार्किङ हो अर्को स्टोरको रुपमा प्रयोग गर्न सकिन्छ।’

उनले कुनै पनि व्यावसायिक भवनले बेसमेन्टमा व्यवसाय गरेको पाइए काठमाडौं महानगरले भत्काउने जानकारी दिए। 

काठमाडौं महानगरले बिहीबार मात्रै बुद्धनगरस्थित अल्फाबिटामा बनेको अवैध संरचनामा डोजर चलाएको छ। अल्फाबिटाले पार्किङ बेसमेन्टमा व्यवसाय चलाएको भन्दै काठमाडौं महानगरले डोजर चलाएको हो। 

अल्फाबिटाले भुइँतल्लामा अल्फा केयर फार्मेसी, कफी सपलगायतका व्यवसाय सञ्चालन गराइरहेको थियो। काठमाडौं महानगरले अल्फा बिटाको भुइँतल्लाको नक्सा पार्किङको लागि पास भएको भन्दै डोजर चलाएको छ। 

काठमाडौं महानगरले भाडामा लगाउनेलाई सुविधाभन्दा पैसामा लोभ गरेको बताएको छ। 

‘बेसमेन्टमा पार्किङ गर्नुभन्दा घरधनीलाई भाडामा लगाउँदा बढी फाइदा हुन्छ’, शाक्यले नेपालखबरसँग भने, ‘पैसा बढी आउने हुँदा सबै ठाउँ भाडामा लगाएको छ। सुविधाभन्दा पैसाको लोभ बढी भयो।’

बेसमेन्टमा व्यवसाय र सडकमा पार्किङ अब हुँदैन : महानगर 
काठमाडौं महानगरका व्यावसायिक भवनले आफ्नो बेसमेन्ट भाडामा लगाएर सवारीसाधनको पार्किङ सडकमा गरिरहेका छन्। व्यवसायीले यात्रु हिँड्ने सडकमा आफ्ना सेवाग्राहीको पार्किङ गराएर फाइदा लिइरहेका छन्। महानगरले व्यावसायिक भवन बनाउँदा पार्किङको सुविधा सोचेर बनाउनुपर्ने बताएको छ। 

‘सहरी क्षेत्रमा भवन बनाउँदा २५–३० वर्षअघिको सोचले हुँदैन’, शाक्यले भने, ‘हरेक वर्ष कति सवारी बढ्छ। आफूले सवारी खरिद गर्ने तर पार्किङको लागि नसोच्ने भन्ने हुँदैन।’

उनले सहरी क्षेत्रमा घर बनाउँदा पार्किङ गर्ने हिसाबले घर बनाउनुपर्ने बताए। 

‘आफ्नो व्यक्तिगत घर बनाउँदा पनि आफ्ना सवारी पार्किङ गर्ने ठाउँ बनाउनुपर्छ’, उनले भने, ‘घर भाडा दिने, कार्यालय चलाउँदा आउने मोटरसाइकल, कार पार्किङको व्यवस्था घरधनी आफैँले गर्नुपर्छ।’

निर्देशक शाक्यले काठमाडौं महानगरले जनताको लागि काम गरिरहेको बताए। भाडामा बस्नेले सुविधा माग नगरेको भन्दै अब सबैले आवाज उठाउने विश्वास व्यक्त गरे। 

‘घरमा बस्छ वा व्यवसाय गर्छ भने पार्किङको सुविधा चाहिन्छ, माग्नुपर्छ’, उनले भने, ‘सुविधा नखोज्दा पार्किङको लागि बनेका ठाउँमा पनि व्यवसाय भइरहेको छ।’

भौतिक संरचनाको अनुगमन सधैँ : मेयर शाह
यसैबीच, मेयर बालेन्द्र शाहले अवैधानिक रुपमा बनाइएका संरचना आफैँ हटाउन निर्देशन दिएका छन्। 

‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला’, उनको आग्रह छ। 

घर तथा भवनको नक्सापास काठमाडौं महानगरले गर्दै आएको छ। भवन मापदण्ड २०७५ अनुसार एउटा उद्देश्यले बनाएको भवन अर्को प्रयोजनमा अनुमतिविना प्रयोग गर्न पाइँदैन। मापदण्डविपरीतका भवन महानगरले जतिबेला पनि भत्काउन सक्ने मापदण्डमा उल्लेख छ। 

मेयर शाहले पनि एक्कासि अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको बताएका छन्। यसका लागि ३५ दिने सूचना जारी गरेर जानकारी र समय दिइएको उनको भनाइ छ।  

‘अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमनलगायतका गतिविधि सधैँ रहनेछन्’, शाहले भने, ‘अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस्!’

बालेन्द्रले अवैधरुपमा बनाएका संरचनाहरु भाडामा लगाउन नपाउने बताए। उनले अवैध संरचना बनाएर भाडामा लगाए भाडावाललाई आर्थिक क्षति पुर्याएबापत हुनसक्ने कानुनी कारबाही खोजी गर्ने बताएका छन्।

मेयर शाहले शंखमूलमा रहेको बर्गरहाउस हटाउन आदेश दिँदै बेसमेन्टमा अक्सिजनको कमी हुने बताएका छन्। 

‘घरको नक्सा फ्रेममै झुन्ड्याएर राख्नुहोला’
काठमाडौं महानगरले नक्सा र संरचनाको अनुगमन जुनै बेला पनि हुनसक्ने बताएको छ।  

महानगरका सहरी व्यवस्थापन निर्देशक शाक्यले हाल कति भवन अवैधानिक रहेका छन् भन्ने एकीन तथ्यांक नरहेको बताएका छन्। विभागमा आर्थिक वर्ष २०७५/०७६ सालपछि निर्माण भएका भवनको मात्रै तथ्यांक रहेको उनले जानकारी दिए। 

काठमाडौं महानगरले अब भने वडागत तहबाटै संरचनाको तथ्यांक संकलन गर्ने तयारी गरेको छ। 

‘प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा तथ्यांक संकलन हुन्छ’, शाक्यले भने, ‘वडा अध्यक्षसहित काठमाडौं महानगरको इन्जिनियर र ट्राफिक प्रहरीसहित नागरिक समाजको अनुगमन हुन्छ।’

उक्त टोलीले आफ्ना वडामा बनेका भवन कुन उद्देश्य लिएर बनेका थिए त्यसैअनुसार चलेका छन् कि छैनन् अनुगमन गर्ने उनले जानकारी दिए। 

अनुगमन टोलीलाई घरधनीले आफ्नो घरको नक्सा देखाउनुपर्ने उनको भनाइ छ। त्यसका लागि घरको नक्सा सबैले सुरक्षित राख्न पनि शाक्यले आग्रह गरे।   

‘महानगरको टोली जहिले पनि अनुगमन गर्न आउनसक्छ’, उनले भने, ‘मोटरसाइकल चलाउनेको लाइसेन्स छ कि छैन भनेजस्तै महानगरले  घरको नक्सा खोज्छ। घरको नक्सा फ्रेममै झुन्ड्याएर राखे पनि हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .