राजनीति


केन्द्रीय समितिबाटै ओली हटाउने योजना: सबै कमिटी विघटन, आयोजक कमिटीको नेतृत्व विद्यालाई

केन्द्रीय समितिबाटै ओली हटाउने योजना: सबै कमिटी विघटन, आयोजक कमिटीको नेतृत्व विद्यालाई

सागर न्यौपाने
असार २, २०८३ मंगलबार २१:६, काठमाडौँ

नेकपा एमालेका नेताहरूले केन्द्रीय कमिटीबाटै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने योजनाको खाका तयार पारेका छन्।

तर, सचिवालयमा अल्पमतमा परेका ओलीलाई केन्द्रीय कमिटीबाट आशा छ। केन्द्रीय कमिटीमा आफ्नो बहुमत भएकाले यहीँ पार्टी पुनर्गठनको प्रस्ताव असफल पार्ने ओलीको योजना छ। 

मंसिर २७ देखि पुस ३ भएको ११ औँ महाधिवेशनमा ओली पक्षले झण्डै दुई तिहाइ केन्द्रीय सदस्य जितेको छ।

तर, अन्य नेताहरू केन्द्रीय कमिटीबाटै ओलीलाई पाखा लगाउने तयारीमा छन्। वडादेखि केन्द्रसम्मका सबै कमिटी भंग गरेर आयोजक समिति बनाई भेला र अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने उनीहरूको प्रस्ताव छ। 

उनीहरूले विशेष वा अर्ली महाधिवेशनका लागि बन्ने आयोजक समितिको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिने तयारी पनि गरेका छन्।

उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई सहितका सचिवालयका नेताहरूले यसमा काम गरिरहेका छन्। देशव्यापी सञ्जाल रहेका पौडेल र पोखरेल मिलेकाले बहुमत उनीहरूको पक्षमा उभिने सम्भावना छ। 

तल्लो तहदेखि नै अध्यक्ष ओलीलाई लिएर अगाडि जान नसक्ने सुझाव आएपछि पार्टी पुनर्गठन गर्नैपर्ने निचोडमा उनीहरू पुगेका हुन्। अहिले एमालेको चुनावी समीक्षा र पार्टी पुनगर्ठनका लागि १५ सदस्यीय कार्यदलले प्रदेशहरूबाट सुझाव संकलन गरिरहेको छ। 

बागमती प्रदेश भेलाले ओलीलाई नेता मानेर जान नसकिने निर्णय ग¥यो। 

‘अध्यक्षले छोड्नुपर्छ, उहाँले नछोडी यो पार्टी अगाडि जानसक्ने स्थिति बन्दैन भनेर सुझाव दिएको छ,’ बागमती प्रदेशका एक पदाधिकारीले नेपालखबरसँग भने। 

यो निर्णयले पुनर्गठन पक्षधरलाई थप बल दिएको छ। अब देशभरबाट ओलीले छोड्नुपर्ने मत जोडतोडका साथ उठ्ने उनीहरूको भनाइ छ। 

‘अध्यक्षले रोक्न खोज्दाखोज्दै प्रदेशतिरका नेताहरूले पनि उहाँलाई लिएर अगाडि जान नसक्ने बताउनुभएको छ,’ छलफलमा रहेका एक पदाधिकारीले भने, ‘केन्द्रीय समिति बैठकमा पुनर्गठनको खाका पेस हुन्छ। जसमा टोल, वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र विघटन गरेर आयोजक कमिटीमा रुपान्तन्तरण गरेर सबैको अधिवेशन र महाधिवेशन गर्ने हो। विधान नै परिवर्तन हुन्छ।’ 

आयोजक कमिटीको नेतृत्व सचिवालयका अरु नेतालाई मान्ने स्थिति नहुने भएकोले पूर्वराष्ट्रपति भण्डारीलाई अघि सारेर जाने अर्का पदाधिकारीले बताए।

‘किनकि, उहाँको व्यक्तित्वले सबैलाई मानेर जाने वातावरण बन्छ। अन्य पार्टीमा रहेका मानिसलाई पनि एमालेमा आउने अवस्था बन्छ। उहाँले अर्काे महाधिवेशन गरुन्जेलसम्म नेतृत्व गरेर जानुहुन्छ,’ उनले भने। 

असार मसान्तसम्म समय पाएको कार्यदलले पनि पार्टी पुनर्गठन गरेर जानुपर्ने भनेर प्रतिवेदन दिनेमा उनीहरू ढुक्क देखिन्छन्। 

ओलीले भने आफूले पद नछोड्ने अडान लिएका छन्। निर्वाचित विधिबाट आएको भन्दै उनले संकटमा परेको बेला कसैले माग्दैमा पद नछोड्ने बताएका छन्। 

‘अध्यक्षले छोड्न नमान्ने, तर तल पार्टीका साथीहरू उहाँले विश्राम लिनुपर्छ भन्ने संख्या दिनप्रतिदिन बढ्दै गएको छ,’ अर्का नेताले भने, ‘हिजो ओलीकै पक्षमा लाग्नुभएको साथीहरू नै अब पार्टी पुनगर्ठन गरेर जानुपर्छ, नयाँ अभियानमा जोडिनुपर्छ भनेर जानुभएको छ। यो विस्तारै बढ्दै गइरहेको छ। उहाँले आफैँ निर्णय नगर्ने हो भने पार्टीबाट बिदा गर्ने विधि निर्माण हुँदैछ।’

कार्यदलका सदस्य सचिव समेत रहेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन हुने बताए। 

‘यथास्थितिमा पार्टीलाई एकताबद्ध गर्न सम्भव छैन,’ पोखरेलले पार्टी कार्यालयमा भएको कार्यक्रममा भने, ‘नयाँ ढङ्गले अगाडि बढ्ने कुरा स्वाभाविक हो। चुनावको समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनुपर्दछ भन्ने विषयमा पार्टी कार्यकर्ताबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ। सुझावकै आधारमा निर्णय हुन्छ।’

उपाध्यक्ष रघुजी पन्तले कार्यदलको प्रतिवेदनमा धेरैकुरा भर पर्ने बताए।

‘किनभने देशव्यापी धेरै कुरा आउँछ। प्रतिवेदन आएपछि केन्द्रीय कमिटी बैठक बस्छ,’ उनले भने। 

उपमहासचिव योगेश भट्टराई पनि पार्टी पुनगर्ठन हुने बताउँछन्। तर, कार्यदलले बनाउने प्रतिवेदन कार्यान्वयन नहुने सम्भावना रहेको नेताहरूको भनाइ छ।

चुनावी समीक्षा र पार्टी पुनगर्ठन गर्न बनेको कार्यदल सुझाव संकलनका लागि प्रदेशमा केन्द्रित छ।

बागमती प्रदेशबाट थालिएको अभियान कोसी हुँदै अन्य प्रदेश पुगेर असार २० गते सुझाव संकलन सम्पन्न हुनेछ।

‘केन्द्रीय कमिटीबाट विदा गर्ने स्थिति बनेन भने विशेष महाधिवेशनमा जान्छ र त्यहीँबाट ओलीजीलाई बिदा गर्ने अवस्था बन्छ,’ ती पदाधिकारीले भने। 

पार्टी पुनर्गठनको योजना बनाइरहेका नेताहरूले विशेष वा अर्ली महाधिवेशनबाट नयाँ पुस्ताको नेतृत्व ल्याउन चाहेका बताएका छन्।

‘नयाँ नेतृत्व अहिलेको परिस्थितिको माग, युवाको चाहना अनुसारको पुस्तान्तरणसहितको नेतृत्व चयन गर्ने, जसले पार्टीलाई कार्यक्रम, विचार दिनेछ र जनतासँग नयाँ ढंगले जाने योजना लिन्छ,’ ती पदाधिकारीले भने, ‘नत्र पार्टी बचाउन सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad