समाज


निराजनको त्यो आखिरी परीक्षा- ४:३० मा कपी बुझाएर हिँडे, बेलुका दरबार हत्याकाण्ड भयो (भिडिओ)

प्रा कैलाश घिमिरेको स्मृतिमा अधिराजकुमार निराजनको ‘कलेज लाइफ’

आयुषा ढकाल
असार ४ , काठमाडौँ

त्यो दिन अधिराजकुमार निराजनको परीक्षा थियो। काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत उनी आन्तरिक परीक्षा दिएर साढे चार बजे कलेजबाट निस्केका थिए। 

त्यो नै उनको जीवनको आखिरी परीक्षा भयो।

किनकि त्यही दिन दरबार हत्याकाण्डमा उनले ज्यान गुमाए। जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश गरिँदा मारिनेमध्ये सबैभन्दा कान्छा थिए, निराजन।

उनी मात्र २२ वर्षका थिए। सार्वजनिक जीवनमा ज्यादा देखा नपरेका कारण उनको बारेमा कमै चर्चा हुने गर्छ। कम उमेरमा नै ज्यान गुमाएका उनी कस्ता थिए त?

कलेजमा उनलाई पढाएका र नजिकबाट चिनेका प्राध्यापक कैलाश घिमिरे निराजनलाई निकै साधारण, सालीन र लजालु विद्यार्थीका रूपमा सम्झिन्छन्।

त्यतिबेला घिमिरे काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा व्यवसायिक तथ्याङ्कशास्त्र अध्यापन गर्थे। सोही कलेजमा निराजन बीबीए अध्ययनरत थिए। कुनै सेमेस्टर निराजन कलेजमै पढ्न आउँथे भने कुनै सेमेस्टर प्राध्यापकहरू दरबारमै गएर अध्यापन गर्थे। 

घिमिरे सातौँ सेमेस्टरको अध्यापन गराउन हप्ताको दुई दिन नारायणहिटी दरबार जाने गर्थे।

‘निराजन कलेजमा पढ्न आउन नभ्याएपछि एक सेमेस्टर कलेजमा पढाउनु पर्ने हुनाले मैले दरबारमै गएर पढाएको थिएँ,’ घिमिरेले नेपालखबरसँग भने।

दरबारमै गएर पढाएबापत थप रकम दिने प्रचलन थियो। तर, घिमिरेले त्यो रकम पाउने प्रक्रिया अघि बढ्नुअघि नै दरबार हत्याकाण्ड भएको उनले बताए।

घिमिरे भन्छन्– ‘मैले त्यो कामलाई अनुभवको रूपमा लिएको छु।’

पुर्ख्यौली घर लमजुङ भएका घिमिरेले हाल जर्जिया साउथ–वेस्टर्न स्टेट युनिभर्सिटीमा गणित विषय अध्यापन गराउँछन्। ९ कक्षासम्म लमजुङमै अध्ययन गरेका उनलाई राम्रो शिक्षाका लागि मामाले नुवाकोटमा ल्याएर पढाएका थिए।

कैलाशले आईएससी अस्कल कलेजबाट अध्ययन गरेका थिए। ‘प्लान’ छात्रवृत्तिमा जान चाहेका उनी नपाएपछि एक वर्ष त्यसकै लागि कुरेर बसेका थिए। तर नभएपछि अस्कल कलेजबाट बीएससी र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरे। काठमाडौँ विश्वविद्यालयबाट एमफिल गरे। एमफिलपछि उनले काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा अध्यापन गरेका थिए। साढे दुई वर्ष अध्यापन गरेर २०६० मा कैलाश अमेरिका गएका थिए, जहाँ उनले पीएचडी गरे।

उनका अनुसार निराजन कलेज आएको बेलामा लामो समय कलेजमै बिताउँथे। उनी सबैभन्दा पहिले आइपुग्ने र छुट्टी भएपछि पनि ढिलासम्म बस्ने विद्यार्थी थिए।

‘जति मैले निराजनलाई बुझ्न सकेँ, त्यो देख्दा एउटा टिपिकल टिनएजरको रूपमा नै पाएँ,’ घिमिरेले भने, ‘उहाँ अलिकति लजालु खालको हुनुहुन्छ जस्तो लाग्थ्यो।’

पढाइमा समय नदिएको देखेपछि निराजनलाई  एक पटक घिमिरेले भनेका थिए, ‘अलिक पढ्नु पर्‍यो, यस्तो पाराले त हुँदैन।’ 

जवाफमा निराजनले भनेका थिए– ‘कतिखेर पढ्नु सर, अब हजुर यहाँबाट जानासाथ म त फुटबल ग्राउन्डको उद्घाटन गर्न जानुपर्छ, मसँग टाइम नै हुँदैन, त्यही भएर मैले पढ्न पाउँदिनँ।’

पढाइको हिसाबले पनि निराजन सामान्य किसिमका विद्यार्थी थिए। उनले पढाएको कुरा भने छिट्टै बुझ्थे तर पढाइमा धेरै समय दिन नपाएर पनि होला उनको पढाइ औसत किसिमको थियो।

घिमिरेलाई निराजनको एउटा कुरा भने निकै रोचक लाग्ने गथ्र्यो। अरु सबैले कालो मसी भएको कलमले लेख्दा उनी सधैँ हरियो मसी भएको कलमले लेख्थे। 

निराजनमा ‘म अधिराजकुमार हुँ, मसँग यसरी नै बोल्नु पर्छ’ भन्ने खालको मनोवृत्ति नभएको कैलाशले बताए। निराजनको नाम लिनेबित्तिकै घिमिरे उनको दुई कुरा सम्झिने गर्छन्। 

‘दरबार हत्याकाण्डको दिन शुक्रबार दिउँसो उनले कलेजमा परीक्षा दिएका थिए। म आफैँ निरीक्षक थिएँ। दिउँसो ४ः३० बजे परीक्षा दिएर उत्तरपुस्तिका बुझाएर निस्किएका निराजनको त्यही दिन बेलुकी हत्या भएको खबर सुन्दा निशब्द भएँ,’ उनले सुनाए।

त्यो बेलामा उनले केही सोच्नै सकेनन्। त्यो कुरा उनलाई आज पनि याद आउँछ।

दोस्रो, निराजनको मृत्यु भइसकेपछि कैलाश छाउनी अस्पतालमा निराजनलाई अन्तिम पटक हेर्न गएका थिए। आर्मी अस्पतालभित्र टेन्टमा सबैको लासलाई लहरै राखिएको थियो। त्यहाँ राजपरिवारको लासलाई वरीयताको हिसाबले मिलाएर लहरै राखिएको दृश्य घिमिरेले अझै बिर्सिएका छैनन्।

लास राखिएको ठाउँमा उनले हेर्दा राजा वीरेन्द्रको अनुहार चिनिने नै थियो। तर, रानी ऐश्वर्याको अनुहार भने क्षतविक्षत थियो।

‘कसैले रानी हो भनेर नभने चिन्न पनि गाह्रो हुने थियो। 

त्यसपछि घिमिरेको आँखा तेस्रो शवमा पुग्यो। जुन आफ्नै विद्यार्थी अधिराजकुमार निराजनको थियो। 

‘निराजनको अनुहार देख्दा बोलिहाल्छन् कि जस्तो लागेको थियो,’ उनले भने।

‘निराजनलाई देख्दा एउटा जवान मान्छेको कथा सायद चाँडै टुङ्गियो जस्तो लाग्यो मलाई,’ उनले भने, ‘त्यो उमेरमा त्यसरी कुनै पनि जीवनको अन्त्य हुनु त एकदमै हृदयविदारक कुरा हो। यी दुईवटा दृश्य त जीवनमा कहिल्यै बिर्सिन्नँ होला सायद। कुनै पनि मान्छेलाई यस्तो कुरा पचाउन समय लाग्छ, मलाई पनि त्यस्तै भयो।’

असार २, २०८३ मंगलबार १९:३०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad