समाज


नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

नेपालखबर
असार २, २०८३ मंगलबार १८:४२, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन्। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। पुर्पक्षका लागि सोमबार अदालतमा उपस्थित भएका गौतमलाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले कारागार चलान गर्न आदेश दिएको अदालतले जनाएको छ। 

उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले ईन्जिनियरिङ खरिद निर्माण सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी अस्वाभाविक रुपमा लागत बढाई प्राधिकरणको छुट्टै बजेटबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँ हिनामिना गरेको आरोप छ। 

हिनामिना गर्ने योजनाका साथ पेश गरेको राय सिफारिशमा सहमति जनाई स्वीकृति दिएको र सोही स्वीकृतिको निरन्तरताबाट ४२ करोड ८९ लाख ३६ हजार सात सय रुपैयाँको सम्झौता भएको थियो। 

यस्तो गर्दा आठ करोड ९५ लाख दुई हजार ७८० रुपैयाँ हानिनोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको दाबी गर्दै सोही बराबरको बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको थियो। ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ निजबाट असुल उपर गर्न माग दाबी लिइएको छ।

उनले अदालतमा बयान गर्दा आरोप दाबी बमोजिम आफूले नेपाल नागरिक उड्डयन प्राधिकरणको कुनै पनि रकम हिनामिना गर्ने कार्य नगरेको भन्दै इन्कारी बयान दिएका थिए। 

तर खरिद सम्झौतामा उनको पदीय जिम्मेवारी र भूमिका समेत तत्काल प्राप्त आधार प्रमाणलाई दृष्टिगत गर्दा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षको लागि कारागार पठाउने विशेष अदालतले आदेश गरेको छ। प्रदीप अधिकारीलाई भने यसअघि नै कारागार चलान गरिसकेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad