ad ad

कारोबार


भारतीय सामान्य ठिटासँग अर्बपति मस्कको अनौठो मित्रता

भारतीय सामान्य ठिटासँग अर्बपति मस्कको अनौठो मित्रता

इलोन मस्कसँग भारतीय युवा प्रणय पठोले।


एएफपी
भदौ ११, २०७९ शनिबार ८:०, काठमाडौँ

निकै कम मानिसले मात्र इलोन मस्कसँग खुलेर गफ गर्ने अवसर पाउँछन्। तर भारतीय सफ्टवेयर इन्जिनियर प्रणय पठोलेका लागि संसारकै धनी व्यक्तिसँग रमाइलो च्याट केवल एउटा ट्विटभन्दा टाढा छैन। 

उनीहरुको अपत्यारिलो अनलाइन मित्रता पठोले किशोरावस्थामा हुँदादेखि नै फुलिरहेको छ। त्यसयता मस्कले उनका सयौँ ट्विटमा ‘रिप्लाई’ मात्रै गरेका छैनन्, ‘प्राइभेट मेसेज’ गरेका छन्। तिनमा कतिपय कम्पनीका समाचार बन्नसक्ने अपडेटहरु छन्, जीवनप्रतिका सल्लाह र सुझावहरु छन्।

पठोले अमेरिका जाँदा यो हप्तामात्रै यी दुईको प्रत्यक्ष भेट भयो। जुन उनको पहिलो विदेश यात्रा थियो। उनी व्यवसाय विश्लेषणमा स्नातकोत्तर गर्न अमेरिका गएका हुन्। 

‘उनी साँच्चै असल छन्, निकै वास्तविक! नम्र!’, २३ वर्षे भारतीय यी ठिटोले थप स्पष्ट्याए, ‘जुन तरिकाबाट उनले आफ्नो समय लिएर मलाई रिप्लाई गर्छन्...यसैले देखाउँछ।’

मस्क निकै ट्विटर चलाउनेमा पर्छन्। कहिलेकाहीँ त एकै दिनमा आफ्ना १० करोड बढी फलोअरलाई ३० भन्दा बढी ट्विट गर्छन्। 

तर २ खर्ब ६६ अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ति भएका स्पेस एक्स र टेस्लाका यी मालिक किन यी भारतीय ठिटासँगको नियमित सम्पर्कलाई कायम राखिरहेका छन् भन्नेचाहिँ रहस्यमय छ। 

‘खोइ!’, प्रणय भन्छन्, ‘साँच्चै भन्ने हो भने मलाई थाहा छैन! 

आफूले सोधिरहने प्रश्नहरुबाट मस्क साँच्चै उत्सुक भएको हुनसक्ने उनको अनुमान छ। हाल उनी पुनेमा रहेको घरमा छन्। पठोलेको एकाउन्ट त्यस्तो एउटा सामान्य एकाउन्ट हो जसले मस्कको रिप्लाई पाइरहन्छ। सन् २०२० यताका अर्बपतिको ट्विटरलाई आधार मान्ने हो भने मस्क औसत हरेक दुई दिनमा एकपटक यस्ता एकाउन्टलाई रिप्लाई गर्छन्।

पठोले १९ वर्षको हुँदा सन् २०१८ मा पहिलोपटक मस्कले उनलाई रिप्लाई गरेका थिए। त्यतिखेर उनले टेस्लाको अटोमेटिक विन्डस्क्रिन वाइपरको कमजोरी औँल्याएका थिए। 

‘यो समस्या अब समाधान भयो’, सफ्टवेयर अपडेटसँगै समस्या समाधान गर्दै मस्कले रिप्लाई गरेका थिए। 

त्यो राति पठोलेलाई उनका बुबाआमाले यसैको खुसियालीमा घरबाहिर खान लगेका थिए। 

‘म यति खुसी भएँ कि भनेर साध्य छैन, साँच्चै!’, उनी भन्छन्, ‘मैले यसको धेरै स्क्रिनसटहरु लिएँ। त्यो दिन कहिल्यै नसकियोस् जस्तो भयो!’

उनीहरुबीच त्यसपछि प्राइभेट च्याट भएको थियो। सुरुमा दैनिकजसो प्राइभेट च्याट हुन्थ्यो। तिनमा मस्कले उठाएका किन अन्य ग्रहलाई उपनिवेश बनाउन महत्त्वपूर्ण छ जस्ता विषयमा छलफल हुने गरेको पठोलेको भनाइ छ। 

‘म प्रायः उनलाई हावादारी प्रश्न तेर्स्याउँथे, वाहियात खालका’, उनी भन्छन्, ‘र, उनी समय लिएर मलाई रिप्लाई गर्थे।’

अमेरिका र भारतको थोरै फरक समयले उनीहरुको चार वर्षे अनलाइन मित्रतालाई केही दख्खल दियो। 

‘मलाई लाग्दैन उनी धेरै सुतिरहन्छन्। किनकि उनी धेरैजसो समयमा ट्विटरमै भइराख्छन्’, पठोले भन्छन्। 

वर्ष बित्दै जाँदा यी दुईबीचको अन्तर्क्रिया धेरै सामान्यीकरण भएको थियो। तर पठोले हतारिएर यसबारे आफ्ना परिवार र साथीलाई यो कुरा भन्दैनथे। 

‘सार्वजनिक र व्यक्तिगत रुपमा इलोन उही मान्छे हुन्’, पठोले भन्छन्। 

मस्कका खुल्ला, अपमानजनक र कहिलेकाहीँ त अर्थ न वर्थका ट्विटहरुले सेयर र क्रिप्टोकरेन्सीको मूल्यमा नै हलचल ल्याउँछन्। यतिसम्म कि अमेरिकी नियामकको अनुसन्धानलाई नै निम्त्याउँछ। 

यी अर्बपति लगानीकर्ता अहिले ट्विटरसँगको कानुनी लफडामा अल्झिरहेका छन्। सुरुमा किन्ने सहमति गरेर पछि नकिन्ने भनेयता ट्विटरसँग उनको लफडा छ। यसबारे अक्टोवरमा अदालतमा सुनुवाइ हुँदै छ। 

तर पठोले भने मस्कले अरुलाई अहित हुने काम गरेका कुरामा सिधै नकार्छन्। 

मस्कलाई भेट्दै पठोले। तस्बिर : पठोलेको ट्विटर

‘मलाई लाग्दैन उनी नराम्रा मानिस हुन्’, मस्कबारे उनी भन्छन्, ‘उनी त अनुमानै लगाउन नसकिने व्यक्ति हुन्।’ 

भारतकै ठूलो आईटी फर्म टाटा कन्सल्टेन्सी सर्भिसमा काम गर्न इन्जिनियरिङ कलेज छाडेका पठोले विद्यालयमा हुँदा झैँझमेलामा परिरहन्थे। बदनाम थिए। त्यसैले मस्कलाई बुझ्न सहज भएको उनको भनाइ छ। 

गत हप्ता अमेरिका पुग्दा उनले मस्कका लागि मिठाइहरु लगेका थिए। उनले युनिभर्सिटी अफ टेक्सस डल्लासबाट स्नातकोत्तर गर्ने मात्र होइन, मस्ककै कुनै अमेरिकी कम्पनीमा कामको अनुभव पनि पाउने आशा पनि गरेका छन्। 

‘म आफ्नै हिसाबले टेस्लामा काम गर्न चाहन्छु। मैले भनेजस्तो होइन। यदि साँच्चै उनले मेरो अन्तर्वार्ता लिइदिए साह्रो राम्रो हुन्थ्यो’, पठोले भन्छन्। 

उनीहरुको भेटपछि पठोलेले मस्कसँगको एउटा तस्बिर पनि सेयर गरेका छन्। जसलाई मस्कले लाइक गरेका छन्। 

आफ्नै तरिकाले कालो टि–शर्ट लगाएका पठोलेले पुनर्प्रयोज्य रकेट बुस्टरहरुको जटिलताबारे बताउन सक्छन् र सोही हिसाबले अन्तरिक्ष अन्वेषणका लागि सैद्धान्तिक विषय बनाउन सक्छन्। 

प्रायः उनी अर्बपति उद्यमीको प्रतिक्रियाहरु शब्दशः उद्धृत गर्छन्। 

‘धर्ती (पृथ्वी)मा बाँच र मंगल (ग्रह)मा मर ः त्यो नै एउटा सिद्धान्त हो जुन हामी सबै सेयर गर्छौँ’, पठोलेले थप्छन्, ‘मलाई यहाँ हुर्किएर मंगलको रातो धूलोमा मर्न मन छ।’

पठोलेका धेरै ठूलो संख्यामा फलोअर छन्। जुन मस्कले हरेकपल्ट ‘मेन्सन’ गर्दा बढिरहन्छन्। 

‘अफलाइन’मा हुँदा समेत उनको परिवारमा मस्क नै विषयवस्तु बनिरहन्छन्। 

‘इलोन हाम्रो पारिवारिक साथीजस्तै हुन्’, प्रणयका बुबा प्रशान्तले हाँस्दै भने, ‘म र मेरी श्रीमती पल्लवी छोरोको लगावप्रति गर्वान्वित छौँ।’ 

‘यदि उसले मस्ककै अनुसरण गर्छ र मंगलमै घरवार बनाउन चाहन्छ भने पनि हामीलाई केही समस्या छैन’, प्रशान्त ठट्टा गर्छन्। 

(एएफपीको यो समाचार हामीले एससीएमपीबाट भावानुवाद गरेका हौँ।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .