ad ad

कारोबार


काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रहरीको नियन्त्रण, व्यवसायी भन्छन्– साँझमा सुत्न पर्यटक आउँदैनन्

अबेरसम्म बजार खोल्दा सरकारलाई पनि फाइदा हुन्छ : अरनिको राजभण्डारी
काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रहरीको नियन्त्रण, व्यवसायी भन्छन्– साँझमा सुत्न पर्यटक आउँदैनन्

वसन्त अर्याल
भदौ ३, २०७९ शुक्रबार २०:३७, काठमाडौँ

काठमाडौं सहर राति ८ नबज्दै बन्द हुन्छ। अधिकांश सटरहरू साढे ७–८ बजे नै बन्द हुन्छन्। होटल रेष्टुरेन्ट ९ बजेसम्म खुल्छन्। ९ बजेपछि प्रहरीहरु पसल–व्यवसाय बन्द गराउँदै, हप्काउँदै हिँड्छन्।

राति अबेरसम्म बजार खुल्दा अपराध बढ्ने, छिमेकीलाई डिस्टर्ब हुने आदि कारण देखाउँदै प्रहरीले काठमाडौंको रात्रि व्यवसाय बन्द गराउँदै आएको छ । तर, रेष्टुरेन्ट व्यवसायीले भने ढिलासम्म व्यवसाय चल्न दिन माग गर्दै आएका छन्।

कोभिडले थलिएको अर्थतन्त्रलाई फस्टाउन दिने हो भने राति अबेरसम्म व्यवसाय गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ । यसो गर्दा सरकारलाई पनि राजस्व बढ्ने र फाइदा हुने व्यवसायी बताउँछन् ।

सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्ने बताइरहेका बेला साँझमै बजार बन्द गरेर व्यवसाय नफस्टाउने रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी बताउँछन् ।

राजभण्डारीले नेपालखबरसँग भने, ‘कोभिडपछि पर्यटन उत्थानका लागि विदेशी पाहुना ल्याउने भन्दै आएका छौँ। विदेशी पाहुना नेपालमा के गर्न आउँछन् भन्ने ठूलो प्रश्न छ। पर्यटकहरु साँझ परेपछि होटलमा सुत्न नेपाल आउँदैनन्। सकेसम्म साँझमा घुम्न र रमाउन चाहन्छन्।’

काठमाडौं महानगर र नेपाल सरकारले काठमाडौंमा राति सवारी  यातायात चलाउनुपर्ने र सडक बत्तीहरुको उचित व्यवस्था गर्नुपर्ने बताउँदै राजभण्डारीले व्यवसायीहरु रात्रिकालीन व्यवसाय चलाउन तयार रहेको बताए ।

उनले भने, ‘कोभिडको महामारीका कारण केही समय अघिसम्म ९ नबज्दै प्रहरी प्रशासनले बन्द गराउँदै हिँड्थ्यो। हामीले गृहमन्त्रीसँग माग गरेपछि ठमेल र दरबारमार्ग क्षेत्रमा कडाइ गर्न छाडिएको छ। राति ११–१२ बजेसम्म उक्त क्षेत्रमा अवरोध गर्दैन। तर, ठमेल र दरबारमार्ग बाहेकका क्षेत्रमा प्रहरीले ९ बजे नै बन्द गराउँदै हिँड्छ।’

अहिले काठमाडौंमा रात्रिकालीन व्यवसाय कस्तो छ? रात्रिकालीन सेवाका लागि व्यवसायीहरु तयार छन् कि छैनन् ? यिनै विषयमा केन्द्रित रहेर हामीले रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष राजभण्डारीसँग कुराकानी गरेका छौं–

अरनिको राजभण्डारी, तस्बिर स्रोत : बिजनेस ३६०‌

विदेशमा ‘नाइट लाइफ’ राम्ररी चलेको हुन्छ। तर, काठमाडौंमा ९ बजेसम्म सीमित भयो हैन?
कोभिडपछि पर्यटन उत्थानका लागि विदेशी पाहुना ल्याउने भन्दै आएका छौँ। विदेशी पाहुना नेपालमा के गर्न आउँछन् भन्ने ठूलो प्रश्न छ। पर्यटकहरु साँझ परेपछि होटलमा सुत्न नेपाल आउँदैनन्। सकेसम्म साँझमा घुम्न र रमाउन चाहन्छन्।

विदेशीहरु दिउँसो साइट सिनमा जान्छन्। साँझ रेष्टुरेन्टहरुमा रिल्याक्स भएर बस्न चाहन्छन्। अहिले रातिको समय विदेशी जाने ठाउँ ठमेल मात्रै छ। ठमेल हल्लाखल्ला हुने ठाउँ हो। सबैलाई त्यहीँ मन पर्छ भन्ने छैन। शान्त ठाउँमा बस्न चाहने पनि हुन्छन्। हामीले विदेशी पर्यटकलाई विकल्प दिन सकेका छैनौँ।

उदाहरणका लागि सौराहाका होटल अकुपेन्सी किन राम्रो हुन्छ? त्यहाँ शान्त ठाउँ छ। डिस्को नाच सुरु गरे त्यहाँको माहोल नै बिग्रिन्छ। तर, ठमेलमा जाँदा डिस्को एन्ड बारमा रमाउन जान्छौँ।

काठमाडौंमा अहिले रात्रिकालीन व्यवसाय चलाउन सक्ने अवस्था छ कि छैन?
कोभिडको महामारीका कारण केही समय अघिसम्म ९ नबज्दै प्रहरी प्रशासनले बन्द गराउँदै हिँड्थ्यो। हामीले गृहमन्त्रीसँग माग गरेपछि ठमेल र दरबारमार्ग क्षेत्रमा कडाइ गर्न छाडिएको छ। राति ११–१२ बजेसम्म उक्त क्षेत्रमा अवरोध गर्दैन। तर, रेसिडेन्सियल एरियामा रेष्टुरेन्ट खोल्दा ‘डिस्टर्ब’ हुने भन्दै अन्यत्र खोल्न दिँदैनन्। ठमेल र दरबारमार्ग बाहेकका क्षेत्रमा प्रहरीले ९ बजे नै बन्द गराउँदै हिँड्छ।

ठमेल र दरबारमार्ग बाहेकका ठाउँमा तपाईंहरु रेष्टुरेन्ट खोल्न तयार हुनुहुन्छ?
राति जति सक्यो अबेरसम्म खोल्न पाए सबैलाई फाइदा हुन्छ। बजारमा चहलपहल हुन्छ। सरकारलाई राजस्व बढ्छ। हामीले जति कमाउँछौँ, त्यसको २५ प्रतिशत सरकारलाई कर बुझाउँदै आएका छौँ। हामीले ८ बजेसम्म १ हजार रुपैयाँ कमाउँथ्यौँ भने राति १२ बजेसम्म १५ सय कमाउँछौँ । त्यसको २५ प्रतिशत त सरकारलाई राजस्व तिर्छौँ नि! एक हजारभन्दा १५ सयको आयकर तिर्दा त सरकारलाई पनि फाइदा नै हुन्छ।

तर, सरकारले यस्तो दृष्टिकोणबाट हेरेको छैन। सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी गरी यहाँका बासिन्दालाई डिस्टर्ब नगर्ने वातावरण हुँदा व्यवसायी त रात्रिकालीन पसलहरु खोल्न तयार नै छन्।

प्रहरीले भनेजस्तै रेष्टुरेन्टकै कारण राति आवासीय क्षेत्रमा डिस्टर्ब त हुन्छ होला नि?
रेष्टुरेन्ट व्यवसायी पनि यही समाजमा बस्ने हो। अरुलाई डिस्टर्ब गर्न हुँदैन। राति ९–१० बजेपछि बाहिरकालाई डिस्टर्ब हुने गरी साउन्ड सिस्टम बजाउनुहुँदैन। व्यवसायीले आफ्नो रेष्टुरेन्टलाई ‘साउन्ड प्रुफ’ बनाउनुपर्छ।

छिमेकीलाई डिस्टर्ब गर्दै व्यवसाय गर्न पाउनुपर्छ भन्नु गलत हुन्छ। सानो आवाजमा म्युजिक बजाएर रेष्टुरेन्ट चलाउन सकिन्छ। व्यवसायीको जिम्मेवारीबाट अलग हुनुहुँदैन। व्यवसाय एक दिन गर्ने होइन, सधैँ कसैको निद्रा बिगारेर व्यवसाय गर्नुहुन्न भन्ने पक्षमै छौं। डिस्टर्ब नगरी तर, व्यवसाय चलाउन सकिन्छ।

रात्रिकालीन सेवामा रेष्टुरेन्ट व्यवसायी तयार छन् त?
यसमा एउटा मापदण्ड बनाए व्यवसायी तयार हुन्छन्। तर, रात्रिकालीन व्यवसायमा दुईवटा समस्या छन्।

ढिलोसम्म सञ्चालन गर्न नसक्नुमा सार्वजनिक यातायात ८ बजेपछि नै पाइँदैन। रेष्टुरेन्टका कर्मचारीसँगै सेवाग्राहीलाई आउजाउकै समस्या छ।

अर्को चाहिँ काठमाडौंको लाइफ स्टाइललाई परिवर्तन गर्न आवश्यक छ। सरकारले १० बजेसम्म सार्वजनिक यातायात चल्ने वातावरण मिलाउनुपर्छ। राति बस चलाउँदा खर्च बढी होला तर व्यवसायीबाट कर पनि बढी आउँछ। त्यता पनि हेर्नुपर्छ। सार्वजनिक यातायात चल्यो भने सर्वसाधारणले सहज महशुस गर्छन्। नेपाल सरकार र महानगरले यसलाई हेर्नुपर्छ।

तर, प्रहरीले रात्रिकालीन व्यवसायका लागि व्यवसायी नै तयार नभएको बताउने गरेको छ नि?
व्यवसायी किन तयार नहुनु? सरकारले वातावरण नबनाउँदा कसरी चल्छ व्यवसाय? व्यवसाय ९ बजेपछि बन्द हुने व्यापारीको कारणले होइन। सार्वजनिक यातायात, सडक बत्ती र शान्तिसुरक्षाको कारणले हो। यसको व्यवस्था गर्नुपर्यो। हामीले त व्यवसाय चलाउँछौँ भन्दै आएका छौँ।

ठमेलको रात्रि जीवन (तस्बिरहरु)

काठमाडौंको बजार साढे ७ बजे पूरै बन्द भइसक्छ। साढे ५–६ बजे कार्यालय बन्द हुने र साढे ७ बजे नै बजार बन्द हुँदा कसरी आर्थिक गतिविधि बढ्न सक्छ? सरकारले यस्तो वातावरण बनाएको छ कि कार्यालय समयपछि घरमा जाऊ, अनि सुत। हामीले त्यस्तो वातावरण चाहेको होइन। आर्थिक गतिविधि गर्ने वातावरण नै छैन। आधारभूत वातावरण सरकारले बनाए व्यवसायी खुसीका साथ व्यापार गर्छन्। मुलुकको आर्थिक गतिविधि पनि बढ्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .