चौतर्फी संशय र राजनीतिक अस्थिरताका बीच ऐतिहासिक निर्वाचन सम्पन्न गराएर प्रधानमन्त्री सुशीला कार्की यतिबेला बालुवाटारबाट विदा हुने तयारीमा छिन्। सर्वोच्चको नेतृत्वबाट सिधै कार्यपालिकाको बागडोर सम्हाल्न पुगेकी कार्कीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई चुनौतीपूर्ण घडीमा सफल अवतरण गराएकी हुन्।
निर्वाचनको मतपरिणाम आइसकेको र नयाँ सरकार गठनको जोडघटाउ भइरहँदा कार्कीको अनुहारमा एउटा ठूलो कार्यभार पूरा गरेको सन्तोष देखिन्छ। 'जेनजी' आन्दोलनपछिको रापताप, पुराना दलहरूको घेराबन्दी र न्यायालयबाट सरकार प्रमुख बन्दाका अनेकन अनुभूतिबारे प्रधानमन्त्री सुशीला कार्कीसँग राससका लागि कालिका खड्काले गरेको कुराकानीका मुख्य ६ प्रश्न:
१. शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भयो, कस्तो महसुस भइरहेको छ?
एउटा अनिश्चयका बीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो। मुलुकको भलाइ चाहने सबै खुसी छन्, म पनि खुसी छु। सरकारलाई जुन जिम्मेवारी तोकिएको थियो, त्यो समयमै पूरा गर्न सक्यौँ। आनन्दजस्तो महसुस भएको छ।
२. मुलुकको विषम परिस्थितिमा जिम्मेवारी सम्हाल्दाका चुनौतीहरूलाई कसरी सम्झनुहुन्छ?
धेरै चुनौती थिए। समय जम्मा छ महिनाको थियो, त्यसमाथि पुराना दल र 'जेनजी' भन्नुहुनेहरूले पनि अविश्वास र प्रहार गरे। विदेशी कूटनीतिज्ञहरूले समेत 'सम्भव छ र?' भन्थे। हाम्रो पछाडि ठूलो सङ्गठन थिएन, तर हामीले एकअर्कालाई सान्त्वना दिँदै काम गर्यौँ। आलोचनाहरूलाई वास्ता नगरी आफ्नो काममा केन्द्रित भएँ।
३. त्यस्तो कठिन अवस्थामा नेतृत्व गर्ने आँट र भरोसा कहाँबाट आयो?

म सक्छु भन्ने आत्मविश्वास मनभित्रैदेखि आयो। मेरो शरीर र तागत १६ देखि १८ वर्षको जस्तो रहेछ भन्ने महसुस भयो। मलाई सानैदेखि आत्तिनु हुँदैन र आँट गरे जे पनि सम्भव छ भन्ने सिकाइएको थियो। मलाई व्यक्तिगत रूपमा केही चाहिएको थिएन, मात्र देशले त्राण पाओस् भन्ने थियो। त्यही निस्वार्थ भावनाले आँट दियो।
४. निर्वाचन अब हुन्छ भन्ने ढुक्क चाहिँ कुन बिन्दुबाट लाग्न थाल्यो?
निर्वाचन आयोगले काम सुरु गरेपछि र हामीले 'जेनजी' आन्दोलनका सहिद परिवारका समस्या सम्बोधन गरेपछि वातावरण बन्न थाल्यो। छिमेकी मुलुकहरूबाट सवारी साधनलगायतका सहयोग प्राप्त भयो। हामीले सुरक्षा निकाय र निर्वाचन आयोगसँगको समन्वयलाई तीव्रता दियौँ, जसले गर्दा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था आयो।
५. निर्वाचनमा पुराना दल कमजोर र नयाँ दल बलियो देखिएका छन्, यसलाई कसरी लिनुहुन्छ?
यो मतपरिणाम युवाहरूको परिवर्तनको चाहना हो। पुराना दलले आत्तिनुपर्दैन र नयाँले मात्तिनु पर्दैन। जनताले दिएको मतको सबैले सम्मान गर्नुपर्छ। नयाँ आउनेहरूले पुरानालाई सम्मान र पुरानाले नयाँको लहरलाई स्वीकार गर्नुपर्छ। राजनीतिमा हारजित स्वाभाविक हो, जनताले परिपक्व नेतालाई बिर्सिँदैनन्।
६. नयाँ सरकारका लागि तपाईंको सन्देश के छ?
नयाँ सरकारले सबैभन्दा पहिला 'जेनजी' ले राखेका तीन माग– सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी पूरा गर्नुपर्छ। मुख्य सुधार सिंहदरबारभित्रको कर्मचारीतन्त्रमा आवश्यक छ । कर्मचारीहरूले काम अल्झाउने प्रवृत्तिको अन्त्य गरी परियोजनाहरू समयमै पूरा गर्ने वातावरण बनाउनुपर्छ। देशका युवालाई स्वदेशमै बस्ने र रोजगारी पाउने आधार तयार गरिनुपर्छ।
Shares

प्रतिक्रिया