नेपालमा क्रिकेटको क्रेज दिनदिनै बढ्दो छ। झन् फ्रेन्चाइज लिग हुन थालेपछि त लोकप्रियताको नयाँ उचाइ पाउँदै छ।
तर नेपालमा पर्याप्त क्रिकेट पूर्वाधार भने बन्नसकेको छैन। हालसम्म त्रिभुवन विश्वविद्यालय (टीयू) मैदानले नै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय साख जोगाउँदै आएको छ।
तर टीयू मैदान अहिले यस्तो मोडमा आइपुगेको छ कि एकातिर भौतिक पूर्वाधार स्तरोन्नतिको कार्य हुँदै छ भने अर्कोतिर, मैदानकै भविष्य के हुने अन्योल छ। आगामी वैशाखमा जग्गाधनी त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान)बीचको सम्झौता सकिँदै गर्दा नवीकरण हुने नहुने निश्चित छैन।
नवीकरण भए पूर्वाधारले टीयू मैदान अझै सुसम्पन्न हुनेछ भने नभए यसले धान्दै आएको नेपाली क्रिकेटलाई कमजोर बनाउनेछ। यद्यपि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायत सरोकारवाला निकायहरु सम्झौता नवीकरण गरेर नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने प्रयासमा छन्।
तीन दशकको इतिहास
त्रिवि मैदानको साइनो क्रिकेटभन्दा पहिला फुटबलसँग जोडिएको छ। क्रिकेटअघि कीर्तिपुरको यो मैदानमा फुटबल खेलिन्थ्यो।
नेपालले सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्दा यो मैदानमा अन्तर्राष्ट्रिय फुटबल भएको थियो। पहिले यो मैदानलाई धेरैले फुटबल मैदानकै रुपमा चिन्थे। फुटबल मैदान नजिकैको एक छेउ मोटर गाडी सिक्ने थलो बनेको थियो।
त्यो समयमा भारत र पाकिस्तानले संयुक्त अरब एमिरेट्स (यूएई) को दुबईस्थित शारजाह क्रिकेट मैदानलाई तटस्थ मैदानको रुपमा प्रयोग गर्थे। शारजाह मैदान विकसित हुँदै जाँदा भारतले त्यहाँ खेल्न जान मानेन। भारतले नजाने भनेपछि न्युट्रल भेन्युको खोजी भइरहेको थियो।
त्यसका लागि नेपाल राम्रो विकल्प बन्न सक्थ्यो। न्युट्रल भेन्यु खोज्ने किसिमबाट कुरा हुँदा जी टिभीले नेपालमा मैदान बनाउने इच्छा देखाएको नेपाल क्रिकेट संघ (क्यान)का तत्कालीन महासचिव विनयराज पाण्डे बताउँछन्।
उनका अनुसार सन् १९९४ मा क्रिकेटका लागि मैदान खोजी सुरु भयो तर भेटिएन। त्यसको एक/दुई वर्षपछि नेपालमा एसीसी ट्रफी हुने कुरा भयो।
‘मैले मैदान बनाइदिने हो कि भनेर अनुरोध गर्दा हुन्छ भनेर जी टिभीको टोली नेपालमा आयो। यो सन् १९९४ को कुरा हो। त्यो बेला जग्गाहरुको खोजी हुँदा जग्गा पाउने सम्भावना कम भयो। त्यो बीचमा टीयूको फुटबल खेल्ने सानो मैदान भेटियो। जी टिभीलाई देखाएर यो हुन्छ भन्दा हुन्छ भन्ने कुरा भयो’, तत्कालीन महासचिव पाण्डेले नेपालखबरसँग भने।
त्यो समयमा कमलकृष्ण श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको उपकुलपति थिए। टीयूमा पुगेर श्रेष्ठलाई पाण्डेले आग्रह गरे, ‘खेलका लागि हामीलाई क्रिकेट मैदान चाहिएको छ, दिनुहुन्छ?’
‘धेरैजस्तो आउँछन् यो गर्छु त्यो गर्छु भन्छन्, सम्झौता भएपछि कहाँ जान्छन्, कहाँ जान्छन्’, उपकुलपति श्रेष्ठको जवाफ थियो।
‘म पाँच वर्षलाई लिजमा दिन्छु, तपाईं आएर बनाउनुहोस्, त्यसपछि थप कुरा गरौँला भन्नुभयो’, पाण्डेले नेपालखबरसँग भने, ‘यो कुरा जी टिभीलाई भनेपछि जी टिभी आएर मैदान बनाउन लाग्यो। त्यो बेलामा पाँच वर्षको सम्झौता भएको थियो।’
त्यसपछि सन् १९९६ मा क्यान र भारतको जी स्पोर्टसबीच कीर्तिपुरमा क्रिकेट मैदान बनाउने सम्झौता भएको थियो। टीयू मैदान प्राकृतिक स्टेडियमको रुपमा विकास भएको पाण्डेको भनाइ छ।
पहिलो खेल
जी टिभीसँग सम्झौता भएपछि नेपालमा क्रिकेटका लागि मैदान बन्यो। सोसँगै सन् १९९८–९९ मा जी टिभीले टेम्पो लेजेन्ड कप आयोजना गरेको थियो। यो प्रतियोगिता जी टिभीले नै गरेको थियो। जहाँ भारत र पाकिस्तानका टोली थिए। लेजेन्ड कप आयोजनापछि जी टिभीले टीयूलाई ध्यान दिन छाड्यो।
यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सन् १९९० को बैठकले नेपाललाई पूर्ण सदस्य राष्ट्र बनायो। त्यसको ६ वर्षपछि सन् १९९६ मा नेपाल एसोसियट राष्ट्र बन्यो। त्यसपछि नेपालमा क्रिकेट खेलले व्यावसायिकता पाउन थालेको थियो।
नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गरेको थियो। यो नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। एसीसी ट्रफीअन्तर्गत सन् १९९८ अक्टोबर ५ मा जापान र हङकङबीच पहिलो खेल भएको थियो। त्योअघि अक्टोबर २ मा बंगलादेश र पपुवा न्युगिनी तथा अक्टोबर ३ मा नेपाल र थाइल्यान्डबीचको खेल टीयू मैदानमा हुने तालिका थियो। तर खराब मौसमका कारण यी दुवै खेल हुन सकेनन्।
एसीसी ट्रफीमा १० राष्ट्रले सहभागिता जनाएका थिए। एसोसियट राष्ट्रका रुपमा बंगलादेशको त्यो अन्तिम प्रतियोगिता थियो। बंगलादेशले मलेसियालाई ८ विकेटले पराजित गर्दै एसीसी ट्रफीको उपाधि उचालेको थियो। त्यसपछि सन् २००० मा बंगलादेशले टेस्ट मान्यता पाएको थियो।
२५ वर्षको सम्झौता
पाँच वर्षको सम्झौता सकिएपछि तत्कालीन महासचिव विनयराज पाण्डेले अध्यक्षका रुपमा क्यानलाई हाँक्न थाले।
उनी अध्यक्ष हुँदा नै क्यान र टीयूबीच २५ वर्षका लागि सम्झौता भयो। २५ वर्षपछि फेरि सम्झौता थप्ने कुरा भएको थियो। तर अहिले क्यानसँगको सम्झौता नवीकरण नगर्ने पक्षमा टीयू पुगेको छ।
सम्झौताको अवधिमा नै टीयूले अहिले स्वरूप परिवर्तन गरेको छ। प्राकृतिक घाँसे मैदानमा प्यारापिट बनेको छ भने फ्लडलाइट जडान भएको छ। नेपालमा पहिलो पटक खेलाडीले रात्रिकालीन समयमा फ्लड लाइटमुनि खेल्न पाएका छन्, दर्शकले प्यारापिटको कुर्चीमा बसेर खेल हेर्न पाएका छन्।
पूर्वअध्यक्ष पाण्डे भन्छन्, ‘अहिले त टीयू् राम्रो बनेको छ, सम्झौता नवीकरण हुनुपर्ने हो। यसलाई क्यानले कसरी लिन्छ भन्ने हो। अहिले टीयूभन्दा संघ बढी जिम्मेवार हो। टीयू मैदान संघको आवश्यकता हो। संघले टीयूलाई कन्भिन्स गराउन सक्नुप¥यो। तपाईंहरुको कन्सर्न के छ, हामी एड्रेस गर्छौँ, हामीलाई निरन्तरता दिन दिनुस् भनेर मनाउनुपर्छ।’
यो पनि–
-
टीयू क्रिकेट मैदानको सम्झौता नवीकरण नगर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
-
त्रिवि क्रिकेट मैदानको सम्झौता सकिन ४ महिना बाँकी छ, नवीकरणको प्रस्ताव लैजान्छौँ : क्यान अध्यक्ष चन्द
-
टीयू मैदानको दोस्रो चरणको काम अनिश्चित, प्रधानमन्त्री कार्यालयमार्फत सुल्झाइँदै नवीकरणको अन्योल
-
क्रिकेट मैदान विवादमा टीयू भन्छ : क्यान आफैँ यहाँबाट सर्न खोज्दैछ
Shares

प्रतिक्रिया