खेल


क्रिकेट मैदान विवादमा टीयू भन्छ : क्यान आफैँ यहाँबाट सर्न खोज्दैछ

क्रिकेट मैदान विवादमा टीयू भन्छ : क्यान आफैँ यहाँबाट सर्न खोज्दैछ

लक्ष्मी जि.सी
पुस १७, २०८२ बिहिबार ७:४०, काठमाडौँ

कीर्तिपुरस्थित क्रिकेट मैदानको सम्झौता आगामी वैशाखमा सकिँदैछ। तर नवीकरणका सम्बन्धमा अहिलेसम्म कुनै छलफल नभएको त्रिभुवन विश्वविद्यालयले बताएको छ। 

क्रिकेट मैदानका लागि नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालय (टीयू) बीच अब सम्झौता नवीकरण हुने वा नहुने भन्ने अन्योल बढ्दै गएको छ। 

सम्झौता सकिने मिति नजिकिँदै जाँदा विश्वविद्यालय सम्झौता नवीकरण नगर्ने पक्षमा देखिएको हो। 

क्रिकेट मैदाननजिक करिब ४०/४५ करोड रूपैयाँका सामग्री ल्याएर प्रयोगशाला बन्न लागेकाले पनि सम्झौता नवीकरण नगर्ने पक्षमा पुगेको विश्वविद्यालयको जवाफ छ। 

नेपालखबरसँगको कुराकानीमा त्रिवि विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा दिपेन्द्र पराजुलीले भने, ‘पढाइ र गर्ल्स होस्टेलमा डिस्टर्ब त भएकै छ। मैदाननजिकै ४०/४५ करोडका सामग्री ल्याएर ल्याब बन्दैछ। त्यहाँ लगभग २७ करोड रूपैयाँ खर्च भएको भन्ने छ। हामीले सबै कुरा चलाउनुपर्छ।’

क्रिकेट मैदान प्रयोगका लागि सबै पक्ष बसेर अध्ययन गरेर यसबाट पढाइमा परेको परेको असरको पनि मूल्यांकन हुनुपर्ने त्रिविको माग छ। क्रिकेट मैदान रहेको जग्गा आफ्नो भएकाले सबै पक्ष बसेर छलफल हुनुपर्ने उनले बताए।

‘क्यानको मैदान अन्त पनि भएकाले टीयूको विषयमा गम्भीर नभएको हो कि भन्ने हामीलाई लागेको छ। क्यानसँग विकल्पहरू थुप्रै छन्, यहाँ आयो विद्यार्थीले तनाव दिन्छन्, अरुले तनाव दिन्छ भन्ने सुनेको थिएँ। त्यसैले पछिल्लो एक महिनालाई हेर्दा सायद उहाँहरू आफैँ पनि यहाँबाट सर्न खोज्नु भएको जस्तो देखिन्छ,’ पराजुलीले भने।

क्रिकेट मैदानका लागि यसअघि क्यान र टीयूबीच भएको सम्झौतामा आवश्यक भौतिक संरचना क्यानले नै बनाउनु पर्ने उल्लेख छ। सोही सम्झौता अनुसार क्यान, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालय मिलेर मैदानलाई नयाँ स्वरूपमा ल्याएका छन्। 

क्रिकेट मैदानमा पहिलो चरणको काम सकिएपछि गत मंसिरमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भयो। 

सम्झौता नवीकरणको विषय लम्बिँदै जाँदा दोस्रो चरणको काम भने प्रभावित भएको छ। दोस्रो चरणको काम सुरु गर्ने तयारीमा रहेको सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय अहिले अन्योलमा छ। जग्गाको सुनिश्चितताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सहजीकरणका लागि प्रयास पनि गरेको थियो। 

‘घरबेटीसँग सोध्दै नसोधी कोठा थप्नुहुन्छ। यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ भने घरबेटीलाई त फाइदा नै हुन्छ के भयो र! अर्काको जग्गामा गएर भौतिक संरचनाहरू बनाउनुहुन्छ भने त्यसमा टीयूले जवाफ दिनुपर्छ भन्ने छैन,’ पराजुलीले भने, ‘सम्झौतामा पनि सबै संरचना टीयूकै हुन्छ भन्ने छ। त्यसैले यसमा धेरै बहस गर्नुपर्ने छैन। यति बन्यो, उति बन्यो भन्ने कुरा छैन। २५ वर्ष कोही बस्ला, राम्रो गर्ला यसमा कुनै आपत्ति छैन।’

विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई नै प्राथमिकतामा राख्ने भन्दै यसमा कोही पनि भ्रममा नपर्न उनको आग्रह छ।

टीयूकै आफ्ना ठूला योजनाहरू सञ्चालन भइरहेकाले ती योजनालाई प्रभाव नपर्ने गरी मात्र खेलकुद हुनसक्ने उनको भनाइ छ।

‘मेरो गुनासो भनेको उहाँहरूले किन बुझ्नुभएन भन्ने हो। हाम्रो सम्झौता अनुसार खुरुखुरु गइन्छ, यसमा धेरै कन्फ्युजन छैन,’ पराजुलीले भने, ‘टीयूमा यतिधेरै मुद्दाहरू छन् कि यसमा बहस नै भएको छैन। हाम्रा अरु धेरै कार्यक्रमहरू छन्, यो सम्बन्धी बहस सुरु नै भएको छैन। बजारमा हुने नहुने भन्ने हल्लाहरू आएका छन्। संकेतका रूपमा भन्नुपर्दा सम्झौता नवीकरण गर्ने, नगर्ने सबै अधिकार टीयूमा नै रहन्छ। यो कुरा सबै पक्षले बुझ्न जरुरी छ।’

सम्झौता नवीकरणका लागि अहिले टीयूमा कुनै बहस नै नभएको समेत उनले बताए। यो विषयमा कसैको दबाब र प्रभाव नपर्ने पनि दाबी गरे। 

विद्यार्थीका लागि टीयूले अभिभावकत्व पूरा गरिरहेको र राज्यले नसकेका कतिपय विषयहरू टीयूले गरेको उनको दाबी छ। छात्रवृत्ति, निशुल्क तालिम दिने जस्ता कार्यक्रम आफूहरूले सञ्चालन गरेको उनले बताए। तर क्यानलाई चाहियो भन्दैमा टीयूले सबैकुरा दिन नसक्ने पराजुलीले बताए।

क्रिकेट मैदानको सम्झौता नवीकरणका लागि दुई वर्षअघि नै छलफल सुरु भएको थियो। त्यतिबेला पनि नवीकरणका प्रयासहरू भएका थिए। तर टीयूले यसलाई आलटाल गर्दै आइरहेको छ। पछिल्लो समय क्यानले देखाएको व्यवहारले पनि टीयू अझ बढी चिढिएको विश्वविद्यालयका अधिकारीहरू बताउँछन्। 

‘पछिल्लो एक महिना क्यानको व्यवहारलाई नियाल्यौँ त्यो एकदम निरासाजनक छ। उहाँहरू आफ्नो ढंगले हिँडेको देखिन्छ,’ उनी भन्छन्।

सम्झौताको समय सकिनै लाग्दा पनि क्यान भने अझै समय छ भन्दै बसिरहेको छ। समय आएपछि नवीकरणका लागि प्रस्ताव लैजाने क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। 

सम्झौताको अवधि अझै चार महिना रहेकाले समय आएपछि प्रस्ताव लैजाने चन्दले नेपालखबरलाई बताए। 

यो बीचमा रगंशालाको बारेमा एक पटक छलफल भएको र त्यो पनि टीयूले नै बोलाएर गरेको पराजुलीले बताए। त्यसपछि एक महिनासम्म कसैसँग भेटघाट र छलफल हुन नसकेको उनको भनाइ छ।

क्रिकेट मैदान प्रयोगका लागि क्यान र टीयूबीच २०५९ सालमा नै सम्झौता भएको थियो। सो सम्झौताको बुँदा नम्बर ६ मा दुवै पक्षबाट सात जनाको एउटा बोर्ड कमिटी बनाएर रंगशाला सञ्चालन तथा रेखदेख गर्ने उल्लेख छ। कुनै खेल आयोजना गर्दा खेल तालिका बनाउनुभन्दा अगाडि दुवै पक्ष बसेर वर्षभरिको खेल तालिका बनाउनुपर्ने पनि उल्लेख छ। 

तर सम्झौता अनुसार क्यानले यसरी छलफल नगरेको टीयूको गुनासो छ। पराजुलीले भने, ‘त्यस्तो कुरा उहाँहरूलाई पढ्न आउँदैन कि, अनदेखा गर्नुभएको हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad