कारोबार


दरबारमार्गका जग्गाको न्यूनतम मूल्य आनाको ७६ लाख, चाबहिलमा प्रतिआना ५ लाख ७० हजारसम्म बढाइयो

उपत्यकाभित्र कहाँ कति बढ्यो?
दरबारमार्गका जग्गाको न्यूनतम मूल्य आनाको ७६ लाख, चाबहिलमा प्रतिआना ५ लाख ७० हजारसम्म बढाइयो

उन्‍नत सापकोटा
साउन ५, २०८३ मंगलबार १४:३२, काठमाडौँ

काठमाडौं उपत्यकाका जग्गाहरूको न्यूनतम मूल्यांकन बढेको छ। 

उपत्यकाभित्रका विभिन्न भूमि प्रशासन कार्यालय (साबिकका मालपोत कार्यालय)हरूले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो कार्यक्षेत्रभित्रका जग्गाहरूको थैली अंक कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्य बढाएका हुन्।

भूमि प्रशासन कार्यालयहरू डिल्लीबजार, कलंकी, चाबहिल, टोखा, मनमैजुले आफ्नो कार्यक्षेत्रभित्र पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन बढाएका छन्। 

भूमि प्रशासन कार्यालय भक्तपुरले गत आर्थिक वर्षसरह नै चालू वर्षका लागि न्यूनतम मूल्यांकन स्थिर राख्दा ललितपुरका दुई कार्यालयहरूले भने आर्थिक वर्ष सुरु भइसक्दा पनि जग्गाको न्यूनतम मूल्यांकन सार्वजनिक गरेका छैनन्। 

चालू वर्षका लागि भूमि प्रशासन कार्यालय चाबहिलले सर्वाधिक मात्रामा जग्गाहरूको न्यूनतम मूल्यांकन बढाएको छ। 

चाबहिल क्षेत्रमा प्रतिआना ५ लाख ७० हजारसम्म बढ्यो
साबिकको चाबहिल मालपोत कार्यालयअन्तर्गत पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन ५ लाख ७० हजार रुपैयाँसम्म वृद्धि गरिएको छ। 

चक्रपथसँग जोडिएका गौशालालेखि धोबीखोलासम्मका जग्गाहरूको न्यूनतम मूल्यांकन ६२ लाख ७० हजार रुपैयाँसम्म वृद्धि भएको छ। 

काठमाडौं महानगरपालिका वडा नं ६ र ७ अन्तर्गत पर्ने यो क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन गत वर्ष प्रतिआना ५७ लाख रुपैयाँ रहेकामा चालू वर्ष वृद्धि भएर ६२ लाख ७० हजार रुपैयाँ पुर्‍याइएको छ। 

मित्रपार्कदेखि कालोपुल हुँदै मालपोत कार्यालय डिल्लीबजारको सिमानासम्म मूल सडकसँग जोडिएका जग्गाहरू, गौशाला चोकदेखि रातोपुलसम्म मूल सडकसँग जोडिएका जग्गाहरू, चाबहिल चोकदेखि पासाङ ल्हामु चोकसम्म मूलसडकसँग जोडिएका जग्गाहरू र पासाङ ल्हामु चोकदेखि साबिकको जोरपाटी गाविस सिमानासम्म मूल सडकसँग जोडिएका जग्गाहरूको न्यूनतम मूल्यांकन ५ लाख ६ हजार रुपैयाँसम्म बढाइएको छ। 

गत वर्ष यी जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना ५० लाख ६० हजार रुपैयाँ रहेकोमा चालू वर्ष बढाएर ५५ लाख ६६ हजार रुपैयाँ पुर्‍याइएको छ। 

त्यस्तै बौद्ध स्तूपा परिसरसँग जोडिएको वरिपरिका कित्ता जग्गाहरूको न्यूनतम मूल्यांकन गन वर्ष प्रतिआना ४४ लाख ५० हजार रुपैयाँ रहेकोमा यो वर्ष बढाएर ४८ लाख ९५ हजार रुपैयाँ पुर्‍याइएको छ।

दरबारमार्गलगायतका क्षेत्रमा न्यूनतम मूल्यांकन प्रतिआना ७६ लाख २० हजार रुपैयाँ
भूमि प्रशासन कार्यालय डिल्लीबजारले २०८३/८४ को लागि जग्गाहरूको रजिस्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि न्यूनतम मूल्य बढाएको छ।

साबिकको डिल्लीबजार मालपोत कार्यालयको क्षेत्राधिकारमा पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना ३ लाख ६० हजार रुपैयाँसम्म वृद्धि भएको छ। 

जसअनुसार न्यूरोड, दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा, सिंहदरबार पश्चिम गेट, माइतीघर, पुतलीसडक, हात्तिसार, नेपाल वायुसेवा निगम, रानीपोखरी, वीर अस्पताल, कमलादीलगायतका स्थानका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको न्यूनतम मूल्यांकन सर्वाधिक बढेर प्रतिआना ७६ लाख २० हजार रुपैयाँ पुर्‍याइएको छ। अघिल्लो वर्ष २०८२/८३ मा यी स्थानहरूको जग्गाको न्यूनतम मूल्यांकन ७२ लाख ६० हजार रुपैयाँ थियो।

यस्तै, पुतलीसडक-बागबजार-रत्नपार्क, पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्को मुलबाटो, पद्मोदय मोडलदेखि सभागृह चोकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना २ लाख ७६ हजार रुपैयाँ बढेको छ। 

गत वर्ष यी क्षेत्रका जग्गाहरूको न्यूनतम मूल्यांकन ५३ लाख २४ हजार रुपैयाँसम्म रहेकामा चालू वर्ष बढेर ५६ लाख रुपैयाँ पुर्‍याइएको छ। 

कलंकीमा २ लाख ३५ हजारसम्म बढ्यो सरकारी मूल्यांकन 
भूमि प्रशासन कार्यालय कलंकीले आफ्नो क्षेत्राधिकारभित्र पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना २ लाख ३५ हजार रुपैयाँसम्म बढाएको छ। 

यसअन्तर्गत ती क्षेत्रका जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना ४९ लाख ३५ हजार रुपैयाँ पुर्‍याइएको छ। 

रिङरोड चक्रपथ ट्र्याकसँग जोडिएको दायाँबायाँको जग्गाहरू (बल्खूदेखि वनस्थलीसम्म)को न्यूनतम मूल्यांकन साउनदेखि ४९ लाख ३५ लाख रुपैयाँ तोकिएको छ। गत वर्ष यहाँका जग्गाहरूको न्यूनतम मूल्यांकन ४७ लाख रुपैयाँ थियो।  

विष्णुमती खोला पुलदेखि रविभवन वडा नं १४ को सीमासम्म, कालिमाटी चोकदेखि दक्षिणतर्फ कालीमाटी बल्खु (विश्वविद्यालय पथ) मूल सडक वडा नै १४ को सीमानासम्म, सोल्टीमोड नगर १३ को सिमानादेखि कंलकी चोक गणेशमान सिंह पथसम्म, कालीमाटी चोकदेखि दक्षिणतर्फ कालीमाटी बल्खु विश्वविद्यालय पथ मुल सडक वडा नं १३ को सिमानादेखि बल्खु चोकसम्मका दायाँबायाँका जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना ४३ लाख रुपैयाँ तोकिएको छ। गत वर्ष यी जग्गाहरूको न्यूनतम मूल्यांकन ४१ लाख रुपैयाँ थियो।

यस्तै, टेकु कालिमाटी मूल सडकको विष्णुमति पुलदेखि उत्तर तर्फ नगर १५ को सीमानासम्मको मूल लिंक सडक दायाँ बायाँका जग्गाहरूको न्यूनतम मूल्यांकन ३२ लाख ५० हजार रुपैयाँ तोकिएको छ। गत वर्ष यी जग्गाहरूको न्यूनतम मूल्यांकन ३१ लाख रुपैयाँ थियो।

टोखामा न्यूनतम मूल्यांकन २१ लाख माथि
टोखा क्षेत्रका जग्गाहरूको न्यूनतम मूल्यांकन पनि वृद्धि गरिएको छ। 

नारायणस्थान जाने पिच सडकसँग जोडिएको जग्गाहरूको न्यूनतम मूल्यांकन (प्रति वर्गमिटर) ७० हजार रुपैयाँ तोकिएको छ। 

गत वर्ष यी जग्गाहरूको न्यूनतम मूल्यांकन प्रति वर्गमिटर ६६ हजार ६ सय रुपैयाँ थियो। यी जग्गाहरू हाल बुढानीलकण्ठ नगरपालिका वडा नं ६ र ७ अन्तर्गत पर्छन्। १ आनामा ३१.७९ वर्गमिटर हुन्छ। अर्थात् चालू वर्ष यी जग्गाहरूको प्रति आना न्यूनतम मूल्यांकन २२ लाख २५ हजार ३०० रुपैयाँ हुन आउँछ। 

गत वर्ष यी जग्गाहरूको न्यूनतम मूल्यांकन २१ लाख १७ हजार २१४ थियो।

मनमैजुले पनि वृद्धि गर्‍यो जग्गाको न्यूनतम मूल्यांकन
भूमि प्रशासन कार्यालय मनमैजुले पनि जग्गाहरूको न्यूनतम मूल्यांकन वृद्धि गरेको छ। 

मनमैजु पुल (नयाँ पुल) छन्त्याल संघ, लोकतान्त्रिक चोक हुँदै नेपालटर सडकको किनाराबाट दायाँबायँ रहेका जग्गा, छन्त्याल संघ मानसिंह स्कुल हुँदै राष्ट्रिय न्यायिक प्रतिष्ठान भवनसम्म, नेपालटार पुलदेखि तारकेश्वर नगरपालिका वडा नं ८ को सिमाना, चिफसापको घरदेखि शुभकामना शुभकामना चोकको किनारबाट दायाँबायाँ रहेको जग्गाहरूको न्यूनतम मूल्यांकन २० लाख रुपैयाँ प्रति आनाबाट २२ लाख रुपैयाँ पुर्‍याइएको छ।

चालू आर्थिक वर्षका लागि भूमि प्रशासन कार्यालय भक्तपुरले आफ्नो क्षेत्रका जग्गाहरूको न्यूनतम मूल्यांकन स्थिर राखेको छ भने ललितपुरअन्तर्गतका कार्यालयहरूले अझै जग्गाको न्यूनतम मूल्यांकन सार्वजनिक गरिसकेका छैनन्।

भूमि प्रशासन कार्यालयहरूले हरेक आर्थिक वर्षका लागि आफ्नो कार्यक्षेत्र भित्र पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन गर्ने गर्छन्। जसका लागि न्यूनतम मूल्यांकन समिति रहेको छ। जसको अध्यक्ष सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन्छन्। उक्त समितिमा जिल्ला समन्वय समितिको कार्यालय, नापी अधिकृत, प्रमुख कर अधिकृत, जिल्ला उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित सदस्य हुन्छन्। 

सम्बन्धित भूमि प्रशासन कार्यालयका प्रमुख मालपोत अधिकृत सदस्य सचिव रहन्छन्। उक्त समितिले आवश्यकता अनुसार अरु सरोकारवालाहरूलाई आमन्त्रण गर्छन्।  

जग्गाको न्यूनतम मूल्यांकन निर्धारण गर्न सम्बन्धित भूमि प्रशासन कार्यालयहरूले जग्गासँग सडक वा बाटो जोडिए नजोडिएको र सोको प्रकारलाई आधार बनाउने गरेका छन्। 

जग्गाको प्रयोजनको अवस्था, जग्गाको वस्तुगत स्थिति, चालू आर्थिक वर्ष कारोबार भएको सोही क्षेत्रको खरिद बिक्री मूल्यलाई समेत आधार बनाइने गरेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार गरेको न्यूनतम मूल्यांकनसम्बन्धी निर्देशिकालाई समेत आधार बनाइने गरेको छ।

सम्बन्धित स्थानीय तहरूले न्यूनतम मूल्यांकनका लागि दिएका सुझाव र कारोबार हुँदा उल्लेखित अधिकतम थैली अंकलाई समेत मूल्यांकनको आधार बनाइने गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad