खेल


त्रिवि क्रिकेट मैदानको सम्झौता सकिन ४ महिना बाँकी छ, नवीकरणको प्रस्ताव लैजान्छौँ : क्यान अध्यक्ष चन्द

पहिलेदेखि नै क्यानसँग सम्झौता नवीकरण गर्न तयार थिएन टीयू
त्रिवि क्रिकेट मैदानको सम्झौता सकिन ४ महिना बाँकी छ, नवीकरणको प्रस्ताव लैजान्छौँ : क्यान अध्यक्ष चन्द

लक्ष्मी जि.सी
पुस १०, २०८२ बिहिबार ११:४८, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रस्ताव लैजाने भएको छ।

त्रिभुवन विश्व विद्यालयसँगको सम्झौता अवधि अझै ४ महिना बाँकी रहेकाले समय आएपछि प्रस्ताव लैजाने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए।

त्रिभुवन विश्व विद्यालयले अब क्यानसँग सम्झौता नवीकरण नगर्ने बताइरहेका बेला क्यानले यस्तो जानकारी आफूहरुलाई आधिकारिक रुपमा प्राप्त नभएको जनाएको हो। 

‘यसअघिको सम्झौता अवधि सकिन अझै ४ महिना बाँकी छ। अहिलेसम्म आधिकारिक रुपमा नवीकरण नगर्ने भन्ने कुरा केही छैन। हामीले पनि मिडियाबाट सुनेको हो। त्यही आधारमा अहिले नै केही भनिहाल्ने कुरा भएन’, अध्यक्ष चन्दले नेपालखबरसँग भने, ‘समय आएपछि नवीकरणका लागि प्रस्ताव लैजान्छौँ।त्यहाँ करौडौँ खर्च भइसकेको छ। अहिले आएर नवीकरण नगर्ने भन्ने नहोला।’

कीर्तिपुर मैदानका लागि क्यान र त्रिविबीच भएको सम्झौता २०८३ वैशाखमा सकिँदैछ। सम्झौता सकिन २ वर्ष बाँकी हुँदा नै क्यानले २०८१ सालमा नयाँ सम्झौताका लागि त्रिभुवन विश्व विद्यालयसँग प्रस्ताव गरेको थियो।

त्यतिबेला पनि त्रिविले यहि अवस्थामा सम्झौता नवीकरण नगर्ने अडान लिएको थियो। त्रिवि मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै विश्व विद्यालय सम्झौता नवीकरण नगर्ने मनसायमा पुगेको त्रिविका एक उच्च अधिकारीले बताए। 

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा शिक्षा मन्त्री महावीर पुनलाई विश्व विद्यालय भ्रमण गराउँदै खेलको समयमा पर्ने असरका बारेमा जानकारी गराएको थियो। 

सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्रालयले २०८१ सालमा नै प्रक्रिया अघि बढाएको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सम्झौता नवीकरणका लागि त्रिवि पदाधिकारीसँग पटक-पटक छलफल भइसकेको थियो।

पहिलेदेखि नै सम्झौता नवीकरण गर्न चाहँदैन्थ्यो त्रिवि
त्रिविले पहिले नै क्यानलाई सम्झौता नवीकरण नहुने जानकारी गराइसकेको निवर्तमान सदस्यसचिव टंकलाल घिसिङले पुष्टि गरे।

घिसिङले भने, ‘क्यानसँग सम्झौता नवीकरण गर्ने पक्षमा त्रिवि पहिले पनि थिएन। त्यो सम्झौतामा राखेप सलंग्न थिएन। बरु राखेपसँग नयाँ सम्झौता गरेर अघि बढ्ने भन्ने कुरामा त्रिवि सकारात्मक थियो। जग्गाधनी त त्रिवि भयो, राखेपले प्राप्त गर्ने हो र क्यानलाई दिएर खेलका लागि प्रयोग गर्ने हो। हाम्रो अपेक्षा चाँडो निर्णय होस् भन्ने थियो, तर भएन।’

क्यानसँग सम्झौता नवीकरण नगर्ने पक्षमा रहेको त्रिवि व्यवस्थापन राखेपसँग सम्झौता गर्न भने सकारात्मक थियो। सम्झौतालाई अन्तिम रुप दिएर ल्याउने भन्दै त्रिविका अधिकारीहरु उठेका थिए। तर त्यसपछि त्रिविको कुरा फेरियो। 

‘त्यो समयमा त्रिविका उपकुलपति, रजिष्ट्रार लगायत सिनियर म्यानेजमेन्ट टिमसँग धेरै पटक छलफल भएको थियो। त्यो कुरामा उहाँहरुले छलफल गरेर निर्णय गर्छौ भन्नुभएको थियो। त्रिवि र राखेप दुवै सरकारी निकाय भएकाले त्रिवि र परिषदबीच सम्झौता गरेर लिजमा लिने र परिषद्ले क्यानलाई दिएर सञ्चालनको व्यवस्था मिलाउने भनेर बैठकमा समझदारी बनेको थियो। माइन्युट पनि भएको थियो,’ घिसिङले नेपालखबरसँग भने, ‘तर त्रिविले यो विषयमा टुङग्याएर ल्याउने भनेपनि त्यसो हुन सकेन ।’

सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्री, सचिव, निवर्तमान सदस्यसचिव घिसिङ, प्रधानमन्त्री कार्यालयका सचिव लगायतसँग छलफल भएको थियो। सम्झौता नवीकरणका लागि वातावरण बनाइदिन पर्यो भनेपछि त्यहाँबाट उपकुलपति, रजिष्टार र त्रिवि व्यवस्थापनलाई फोन गरेर धेरै चरणमा छलफल भएको थियो। 

यो विषयमा पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री र कुलपति हुँदा पनि मिटिङ भएको थियो। तर अन्तिम निर्णय जग्गा धनीले गर्नु पर्ने भएकाले टुंगो लाग्न सकेको थिएन। 

त्रिविले मैदान उपभोगका लागि क्यानलाई दिन खरिद प्रक्रिया पूरा गर्नुपर्ने तर राखेपलाई सोझै दिन मिल्ने भएकाले त्यसरी जाने छलफल भएको थियो। तर त्रिविले निर्णय नगर्दा प्रक्रिया अघि बढ्न सकेन।

२०५९ सालमा त्रिवि र क्यानबीच मैदानका लागि सोझै सम्झौता भयो। त्यो सम्झौतामा मन्त्रालय र राखेप दुवै संलग्न थिएनन्। क्यान पूर्ण सरकारी निकाय नभएकाले सोझै दिन नमिल्ने अवस्थामा सम्झौता नवीकरण गर्ने पक्षमा त्रिवि नदेखिएको हो। 

कीर्तिपुर मैदानमा खेलको समयमा विश्व विद्यालय विश्व विद्यालय जस्तो नभएको तथा पठनपाठनमा नै असर पुगेको कारण देखाउँदै सम्झौता नवीकरणबाट पछि हट्ने त्रिविको संकेत छ। 

अब २/४ वटा प्रतियोगिताहरु हुन दिने र त्यसपछि बिस्तारै ‘कट अफ’ गर्दै लैजाने तयारीमा त्रिवि देखिन्छ। 

त्रिवि क्रिकेट मैदानका लागि २०५९ देखि २०८३ को वैशाखसम्म २४ वर्षका लागि सम्झौता भएको थियो। सुरुको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो। तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा त्रिविलाई दिँदै आएको छ। 

सम्झौतामा मैदानका लागि आवश्यक भौतिक संरचना सबै क्यानले नै बनाउनुपर्ने उल्लेख छ। सोही सम्झौता अनुसार क्यान, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् मिलेर त्रिवि क्रिकेट मैदानलाई नयाँ स्वरुपमा ल्याएका थिए।

त्रिवि मैदानमा दोस्रो चरणको काम सुरु गर्ने तयारी हुँदै गर्दा क्यानसँगको सम्झौता नै के हुने भन्ने आशंका बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad