साउन ३ गते काठमाडौँको बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कैलालीको धनगढीकी माछापोखरीमा बस्दै आएकी २५ वर्षकी युवती उक्त गेष्टहाउसमा मृत फेला परेकी थिइन्। गेस्टहाउसको कोठामा पलङभित्र उनको शव फेला परेको थियो।
उनको हत्या गरेको आरोपमा जुम्लाको चन्दननाथ गाउँपालिका-१ घर भई नेपालगन्ज बस्ने ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका-६ का २७ वर्षीय रमेश बुढा पक्राउ परेका हुन्।
उनीहरू दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले अदालतबाट पहिलोपटक मंगलबार ७ दिनको म्याद लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
पक्राउ गरिएका रमेश बुढा हत्यामा संलग्न रहेको र हत्या गरिएको होटलको कोठा दानबहादुरको नाममा बुक रहेको देखिएको छ।
प्रारम्भिक सोधपुछका क्रममा दानबहादुरले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। होटल आफू बस्नका लागि बुक गरेको र पछि रमेश पनि बस्न आएको उनको भनाइ छ।
रमेशले भने आफू एक्लैले युवतीको हत्या गरेको प्रहरीलाई बताएका छन्। उनले घटना स्वीकार्दै बयान दिएसँगै घटना किन र कसरी हुन पुग्यो भन्ने खुलेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दीलिप घिमिरेले बताए।
लुटपाटको बदलामा हत्या
असार ३१ गते रमेश बुढा पोखराबाट काठमाडौँ आएका थिए। पोखरामा काम गर्ने उनी काठमाडौँबाट घर दैलेख जाने तयारीमा थिए। पोखरामा काम गरेर कमाएको एक लाख रुपैयाँ उनको झोलामा थियो।
बसपार्क ओर्लिनासाथ उनको ती युवतीसँग भेट हुन्छ। युवतीले सोध्छिन्- जाने हो? रमेश जान तयार हुन्छन्। अनि युवतीले नजिकैको होटलमा लैजान्छिन्।
होटलको कोठामा पुगेपछि युवतीले रमेशलाई-‘कस्तो गन्हाएको, नुहाएर आउनू’ भन्दै बाथरुममा पठाउँछिन्।
रमेश नुहाउन बाथरुम छिर्छन्। तर युवतीले बाथरुमको बाहिरबाट चुकुल लगाउँछिन् र रमेशको झोला हेर्छिन्।
रमेशको झोलामा भएको एक लाख रुपैयाँ फेला पारेपछि त्यो रकम लिएर टाप कस्छिन्। रमेश बाथरुममै थुनिन्छन्। कोठाको ढोका पनि बाहिरबाटै बन्द हुन्छ।
रमेश हल्ला गरेर बाहिर निस्कन सफल हुन्छन्। होटलका कर्मचारीले कोठा खोलिदिन्छन्। बाहिर आएर हेर्दा झोलाको एक लाख रुपैयाँ गायब थियो, मोबाइल भने कोठाको टेबलमै थियो।
त्यसपछि रमेशले आफ्ना साथी दानबहादुरलाई फोन गर्छन्। दानबहादुरले पनि आफू बसपार्ककै होटल माउन्टेन एल्सिभामा रहेको बताउँछन्। रमेश भने अघिल्लो दिन युवती भेटेको स्थान बसपार्कमा पुग्छन्। त्यहाँ आसपास खोज्छन्, भेट्दैनन्।
उक्त होटलको कोठा नम्बर ४०४ मा दानबहादुर असार २८ गतेदेखि नै बसेका थिए। दानबहादुर भएको होटलमा पुगेर रमेशले बियर खाए। त्यसरात त्यहीँ बसे। भोलिपल्ट ३२ गते दानबहादुर बाहिर निस्किए।
रमेश पनि मास्क लगाएर युवतीलाई खोज्न बसपार्कतिर निस्किए। त्यसदिन भने रमेशले ती युवतीलाई पहिलेकै ठाउँमा फेला पारे। अनि रमेशले नै सोधे- जाने हो? उनी रमेशसँग होटल जान तयार हुन्छिन्।
रमेश बसिरहेको दानबहादुरले बुक गरेको कोठामा उनीहरू पुग्छन्। होटलको सीसीटीभी फुटेजमा पनि अघिअघि रमेश र पछिपछि युवती गएको देखिन्छ।
कोठामा पुग्छन्। त्यहाँ पुगेपछि भने रमेशले मास्क खोल्छन्। त्यसपछि उनले चिन्छिन्। अनि उनीहरूको विवाद सुरु हुन्छ। रमेशले आफ्नो पैसा माग्दा युवतीले बियरको बोतलले हान्न खोजेको बताएका छन्।
रमेशले प्रहरीलाई घटनाबारे बताएका छन्, ‘कोठामा पुगेपछि मैले आफ्नो एक लाख रुपैयाँ मागेँ। तर उनले त्यसपछि मलाई बियरको बोतलले हान्न खोजिन्। त्यसपछि मैले त्यही बोतल खोसेर घिच्चुकमा हानेँ। अनि, बेल्ट निकालेर घाँटी कसेर हत्या गरेँ।’
युवतीको हत्या गरिसकेपछि उनले शव पलङमुनि फाल्छन्। बेलुका दानबहादुर फर्किएपछि रमेश र दानबहादुर त्यहीँ सुत्छन्। रमेशले बताएअनुसार घटनाबारे रमेशलाई भने कुनै जानकारी थिएन।
साउन १ गते उनीहरू होटलबाट गए। अरू ग्राहक आएर त्यही कोठामा बसे, तर बेडमुनि रहेको शवबारे थाहा पाएनन्। ३ गते पनि ग्राहक निस्किएपछि होटलका कर्मचारी सफा गर्न पस्दा कोठा गन्हायो।
कर्मचारीले पलङ (बेड) मुनि हेर्दा शव देखे। त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे।
जिल्ला प्रहरी परिसर र प्रहरी प्रभाग नयाँ बसपार्कबाट टोली खटियो। प्रहरीले होटलको लगबुक हेर्यो। केही दिनदेखि बसेका ग्राहकको विवरण हेर्दा ४०४ नं कोठा दानबहादुरको नाममा बुक गरेको देखियो।
त्यसपछि सीसीटीभी हेर्यो। युवती असार ३२ गते उक्त होटलमा आएको देखियो तर फर्किएको देखिएन। उनकै शव रहेको पहिचान भयो।
होटलमा बसेका रमेश र दानबहादुरको पनि पहिचान भयो। त्यही बेला उक्त कोठामा आउजाउ गरेका अन्यलाई पनि प्रहरीले भोलिपल्ट साउन ४ गते नियन्त्रणमा लियो। जसमा एक युवतीसहित ४ जना थिए।
उनीहरूसँग पनि सोधपुछ गर्यो। तर रमेशबाहेक कोही पनि घटनाको बारेमा जानकार देखिएनन्।
कोठा बुक गरेका दानबहादुर भने नेपालगन्ज पुगिसकेका थिए। उनलाई पनि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरेर सोमबार राति नै काठमाडौँ ल्याइयो।
रमेश भने सोमबार महाराजगन्जको होटल साम्बाला नजिकैबाट पक्राउ परेका थिए। अनुसन्धानबाट अन्यको संलग्नता नदेखिएको र रमेशको संलग्नता देखिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दीलिप घिमिरेले बताए।
दानबहादुरले कोठा बुक गरेको र सोही कोठामा हत्या भएको देखिएकाले उनीमाथि पनि थप अनुसन्धान प्रहरीले अगाडि बढाएको छ।
Shares

प्रतिक्रिया