कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो चरणको निर्माण कार्य प्रभावित हुने भएको छ। विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता नवीकरण नगर्ने भएपछि प्रधानमन्त्री कार्यालयमार्फत यसलाई सुल्झाउने पहल भइरहेको छ।
मैदान प्रयोगसम्बन्धी त्रिभुवन विश्वविद्यालय (टीयू) र नेपाल क्रिकेट संघ (क्यान) बीचको २०५९ सालमा भएको मौजुदा सम्झौता आगामी वैशाखमा सकिँदै छ। तर वैशाखमा पुनः सम्झौता नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय छ।
सम्झौता नवीकरण नभए दोस्रो चरणको काम सुरु नहुने सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले स्पष्ट पारेको छ। काम सुरु हुन पहिला सम्झौता नवीकरण भएर जग्गाको सुनिश्चितता गर्नुपर्ने कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठले बताए।
सहरी विकास मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको थियो। योसँगै दोस्रो चरणको निर्माणकार्यका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ।
‘यो बहुवर्षीय योजना हो। त्यसका लागि जग्गाको सुनिश्चितता हुनुपर्छ। हामीले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयमा पत्राचार गरेका थियौँ। तर त्यहाँबाट खासै उपलब्धि आएन’, सुई कण्ठले नेपालखबरसँग भने।
टीयू क्रिकेट मैदानको सम्झौता नवीकरण नगर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
दुवै मन्त्रालय र विश्वविद्यालयबाट जग्गा सुनिश्चित नभएपछि हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सहजीकरणको प्रयास भइरहेको उनले बताए।
‘प्रधानमन्त्री कार्यालयमार्फत केही सहजीकरण गर्न सकिन्छ कि भनेर प्रयासहरु भइरहेका छन्, हेरौँ केही यसको समाधान होला’, कण्ठले थपे, ‘त्रिविको जग्गा हो। त्यहाँबाट पहिला क्यान वा राखेप कसले लिने हो, त्यसमा के के शर्तहरु राख्ने, कसरी लिने र कसरी दिने भन्ने कुराहरु आउँछ। त्यो भएपछि जग्गाको पाटो टुंगिन्छ।’
अहिले सहरी विकास मन्त्रालयले यसकै लागि प्रयास गरिरहेको उनले जानकारी दिए।
यसअघि टीयू मैदानको दोस्रो चरणको काम आगामी तीन वर्षभित्र सकेर नयाँ स्वरूप दिने तयारी थियो। तर आगामी वैशाखमा सम्झौता अवधि सकिने र नवीकरणको विषय पेचिलो बनेकाले दोस्रो चरणको काम प्रभावित हुने देखिएको हो।
त्रिविसँगको सम्झौता नवीकरणका लागि क्यानले पनि अहिलेसम्म कुनै पहल गरेको छैन।
सम्झौता नवीकरणपछि जग्गाको सुनिश्चितता त हुनेछ। तर पुनः अर्थ मन्त्रालयले पनि सहमति दिनुपर्नेछ। यी दुवै कुरा निर्णयप्रक्रियामा रहेकाले अहिले सहजीकरण खोजिरहेको कण्ठको भनाइ छ।
‘त्यसका लागि मन्त्रालयबाट समन्वय भइरहेको छ। त्यो भएपछि बल्ल प्रक्रियामा जाने तयारीमा सहरी विकास मन्त्रालय छ’, उनले भने।
पहिलो चरणको काम सुरु गर्दा जग्गाको सुनिश्चितता भएकाले धमाधम काम गर्न सकिएको उनले बताए।
‘जग्गा लिजमा भएसँगै त्यो समयभित्र काम सकिन्छ भनेर केही कुरा उठेको थिएन। तर अहिले जग्गाको सुनिश्चितता नै छैन’, उनले थपे, ‘बोलपत्र आह्वान गर्नुभन्दा अगाडि नै यी सबै कुरा टुंग्याएर प्रक्रियामा जाने तयारी छ।’
दुई वर्षभित्रै सक्ने लक्ष्य
सम्झौता नवीकरणको विषयमा सहमति जुटे दोस्रो चरणको काम सुरु गर्ने र २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
सम्झौता भएर जग्गाको स्वामित्व भएपछि दोस्रो चरणको काम सुरु गर्न कार्यालय पर्खिरहेको छ। सम्झौता भए पनि जग्गाको स्वामित्व टीयूसँग नै रहने भएकाले कसरी प्रयोग गर्ने भन्ने कुरामा खेलकुद मन्त्रालयसँग छलफल हुनुपर्ने कार्यालयले जनाएको छ।
क्रिकेट मैदानको पहिलो चरणको काम सम्पन्न हुँदा १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेको छ।
प्यारापिट बीकेओआई–केसीडीसी–बीजी जेभीले र फ्लडलाइट जडान विशाण–ईश्वरी ज्वाइन्ट भेन्चरले गरेको हो।
प्यारापिटका लागि २०८१ फागुन १९ गते ४३ करोड ७७ लाख ३० हजार रुपैयाँमा निर्माण सम्झौता गरेर २० गतेबाट काम थालिएको थियो। २ महिनाभित्र काम सक्ने भने पनि केही ढिलाइपछि अहिले १० हजार दर्शक सिट क्षमताको प्यारापिट तयार भएको छ।
त्यसैगरी २७ करोड ४० लाख रुपैयाँमा फ्लडलाइड जडान भएको छ। ६ वटा फ्लडलाइटमा ७० वटाका दरले ४२० वटा लाइट रहेका छन्।
पहिलो चरणअन्तर्गत भएका यी काम सकेर कार्यालयले गत कात्तिक ३० गते राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई हस्तान्तरण गरेको थियो।
Shares

प्रतिक्रिया