समाज


पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गरिने

पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गरिने

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ९:१६,

नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ।

नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्ष भित्र ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताएका हुन्। यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले बताए।

मोतिबिन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुनर्स्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिनेपनि महासचिव चन्दले बताए। यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरिने पनि बताए।

नेत्रज्योति संघले यस वर्ष अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी भन्ने नाराका साथमा नेत्रज्योति दिवस मनाएको छ।

संघको अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजं‌ग शाह, अर्विस इन्टरनेशनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय पनि गरेको छ। कोभिड–१९ संक्रमणका कारण अहिले नै सम्मान गर्न नसकेको भन्दै अनुकुल समयमा सम्मान गरीने संघले जनाएको छ।

नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. २०३५ साल चैत्र १३ गते भएको थियो। संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad