काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई १८ सय भाइल एन्टिरेबिज खोप उपलब्ध गराएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार अस्पताल पुगेर खोप प्रदान गरेकी हुन्।
अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको उनले बताइन्।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले महानगरपालिकासँग सहयोग मागेको बताए।
अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै व्यक्तिहरू रेबिजविरुद्धको खोप लगाउन आउने र महानगरपालिकाले प्रदान गरेको खोपले करिब ९ दिन पुग्ने उनको भनाइ छ।
‘माग गरेपछिको सात दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको र यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको छ,’ उनले भने।
खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दात खोप न्यून रहेकाले अभाव हुन नदिन अस्पतालले महानगरपालिकासँग खोप माग गरेको जनाएको छ।
कुकुरको टोकाइबाट सर्ने रेबिजविरुद्धको खोप खरिद गर्न सरकारले ढिलाइ गर्दा हाल खोप देशभर अभाव छ। रेबिजविरुद्धको खोप हाल टेकु अस्पतालमा मात्र मौज्दात छ।
Shares

प्रतिक्रिया