यतिबेला विश्वकप फुटबलको ज्वरोले सारा संसारलाई छोपेको छ। नेपाल पनि यसबाट अछुतो छैन।
कलाकार तथा चर्चित कन्टेन्ट क्रिएटर इष्टु कार्कीको दैनिकी पनि यतिबेला बदलिएको छ। दिनभर आफूले अनामनगरमा सुरु गर्न लागेको क्याफेको काम र कलाकारितामा व्यस्त हुने इष्टुको रात भने फुटबलको मैदानमा बित्ने गरेको छ।
नेपालखबरको ‘विश्वकप विशेष’ कार्यक्रममा कुराकानी गर्दै इष्टुले आफ्नो फुटबल क्रेज र मैदानका नायकहरूबारे रोचक विश्लेषण गरेकी छन्।
ब्राजिलको कट्टर फ्यान इष्टुको फुटबल यात्रा गाउँको मोजाको बलबाट सुरु भएको थियो। सानोमा मोजाभित्र कागज कोचेर बल बनाउँदै दाइहरूसँग फुटबल खेलेकी इष्टुले मैदानमा ब्राजिलको बदलिँदो स्वरूपलाई नजिकबाट नियालिरहेकी छन्।
कुराकानीका क्रममा उनले ब्राजिलका पोस्टर ब्वाई नेयमार र पछिल्लो समय उदाउँदै गरेका स्टार भिनिसियस जुनियरको बारेमा रोचक चर्चा गरेकी छन्।

नेयमारको ‘चार्म’ र खेल कौशलको ठूलो प्रशंसक भए पनि उनले भिनिसियसले नेयमारको विरासतलाई धान्ने संकेत गरेको उनलाई अनुभव भइरहेको छ।
बिहीबार बिहान स्कटल्यान्डविरुद्ध ब्राजिलले ३ गोल गर्दा भिनिसियस एक्लैले २ गोल गरेका थिए।
‘नेयमारको अभाव खड्किरहेको बेला भिनिसियसले जसरी खेललाई अगाडि बढाइरहेका छन्, त्यो लोभलाग्दो छ,’ उनले भनिन्, ‘उनको ड्रिब्लिङ र पेसले नेयमारको अभावलाई धेरै हदसम्म पूर्ति गरेको छ। भिनिसियसले अब ब्राजिलको नयाँ अनुहार बन्न सक्ने सामर्थ्य देखाएका छन्।’
ब्राजिलप्रतिको उनको प्रेम सन् २०१४ को विश्वकपमा एउटा ठूलो घाउमा बदलिएको थियो। जर्मनीसँग ब्राजिल ७-१ ले हार्दा इष्टुले भोगेको पीडा अझै ताजै छ। ‘सबै जर्मनीको साइडमा थिए, म एक्लै ब्राजिलको सपोर्टमा। जब टिम हार्यो, म एक्लै मन दुखाउँदै घर फर्किएकी थिएँ,’ उनले त्यो भावुक क्षण सुनाइन्।
यो पटकको विश्वकपमा पनि उनको उत्साह कम छैन। बिहानको ४ बजे ब्राजिलले गोल गर्दा इष्टु बेस्सरी चिच्याएकी थिइन्। ‘गोल गरेको खुसीमा यसरी चिच्याएछु कि माथिल्लो तलामा सुतिरहेका घरबेटी अंकल नै तर्सिनुभएछ। ‘के भयो?’ भन्दै तल आइपुग्नुभएको थियो,’ इष्टुले हाँस्दै सुनाइन्।
तर, जतिसुकै ब्राजिलको फ्यान भए पनि उनको पहिलो प्राथमिकता भने नेपाल नै हो। ‘ब्राजिलले विश्वकप जित्नुभन्दा मेरो लागि नेपाल विश्वकपमा पुग्नु धेरै ठूलो कुरा हो,’ उनले भनिन्।
इष्टुलाई नेपाली फुटबलमा हुने राजनीति र उत्कृष्ट खेलाडीहरू पलायन हुनुपर्ने बाध्यताले निकै चिन्तित बनाएको छ। यद्यपि उनी भन्छिन्, ‘नेपालको झन्डा विश्वकपको मैदानमा फहरिएको हेर्ने चाहना अझै छ।’
हेर्नुस् उनीसँगको भिडिओ कुराकानी नेपालखबर ‘विश्वकप विशेष’:
फोटो/भिडिओ: सरोज शाही

प्रतिक्रिया