समाज


५१ वर्षीय जीतबहादुरलाई २६ वर्ष कैद सजाय

५१ वर्षीय जीतबहादुरलाई २६ वर्ष कैद सजाय

नेपालखबर
असार १२, २०८३ शुक्रबार १५:५५, काठमाडौँ

मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६ वर्ष कैद सजाय सुनाएको हो। 
    
अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसलाअनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए।
     
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने प्राप्त प्रमाण, बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो। मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरणअनुसार विक घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि जबर्जस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए । 

उक्त मुद्दामा अदालतले तोकेको रु ५० हजार धरौटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए। विककी श्रीमती सीता विकले नै कात्तिक २४ गते धरौटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्।  कात्तिक २५ गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए।

घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटके अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad