ad ad

समाज


आईसीयू नपाएर चार महिने छोरीको अप्रेसन रोकिएपछि छटपटीमा राजतिलक

आईसीयू नपाएर चार महिने छोरीको अप्रेसन रोकिएपछि छटपटीमा राजतिलक

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ११:१२,

महाराजगञ्जस्थित शिक्षण अस्पतालको प्राङ्गणमा बिहीबार कैलाली अत्तरियाका राजतिलक भण्डारी निकै छटपटीमा देखिन्थे।

उनकी चार महिने छोरीको ढाडमा पानीको फोका उठेको छ। सानी छोरी निकै कष्टमा छिन्। पछाडि पल्टिएर सुत्न समेत मिल्दैन।

चिकित्सकले जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्छ भनेका छन। फोका फुट्ने जोखिम देखिएपछि इन्फेक्सन भएर थप समस्या हुनसक्ने चिकित्सकको भनाइ छ।

त्यसैले उनले छोरीलाई दश दिनअघि नै शिक्षण अस्पतालमा गरेका हुन्। तर, आईसीयू अभावमा उनकी सानी छोरीले उपचार पाउन सकेकी छैनन्।

‘ढाडमा पानीको फोका फुट्ला जस्तो भएको छ। फुटे झन् समस्या हुने भएकाले चाँडो अप्रेसन गर्न भनेका छन् डाक्टरले,’ राजतिलकले नेपालखबरसँग भने, ‘अप्रेसनलगत्तै छोरीलाई आईसीयूमा राख्नुपर्ने हुन्छ। तर आईसीयू अभाव भएकै कारण छोरीलाई अप्रेसनका लागि दुईपटक तयार पारेपछि क्यान्सिल गर्नुपर्‍यो।’

अहिले काठमाडौं उपत्यकाकाका अधिकांश अस्पतालका आइसीयू बेड कोरोना संक्रमितका गम्भीर बिरामीले भरिएका छन। सोहीकारण आफूले पालो कुर्दाकुर्दै पनि आइसीयू नपाएको राजतिलक बताउँछन।

यतिबेला राजतिलक कहाँ आईसीयू पाइएला भनेर खोजी गरिरहेका छन्। चिकित्सककै सुझाव अनुसार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आइसीयू खाली रहेको थाहा पाएको र बुझ्ने कार्य भइरहेको उनले बताए।

‘अहिलेसम्म डाक्टरले आईसीयू खाली होला र उपचार गरौंला भनेर कुरेर बसेको थिएँ। अहिले आएर अर्कै अस्पतालमा आईसीयू खोज्न भनेका छन्,’ उनले भने।

अर्कातिर न्यून आय भएका राजतिलकले जसोतसो थोरबहुत रुपैयाँ जम्मा गरेर छोरीको उपचार सरकारी अस्पतालमै गरौंला भन्ने ठानेका थिए। शिक्षण अस्पतालको बसाइ, एमआरआई, औषधिउपचार लगायतमा सो पैसा खर्च भइसक्यो। निजी अस्पतालमा उपचार गर्नुपर्ने भएपछि खर्च कति लाग्ने हो भन्ने तनाव पनि उनलाई थपिएको छ।

उनी भन्छन्, ‘अहिले हातमा जम्मा १०–१५ हजार छ। निजी अस्पतालमा भएपनि छोरीको उपचार गर्नैपर्‍यो। कसरी खर्च जुटाउने होला!’

अप्रेसनपछि अवस्था सामान्य नहुन्जेल छोरीलाई आईसीयूमा राख्नुपर्ने चिकित्सकले बताएका छन्।

उनको अवस्थाबारे जानकारी पाएपछि सानी छोरीको उपचारका लागि केही सहयोगी हातहरु पनि अघि बढेका छन। उपचारको सहयोगका लागि राजतिलकको एभरेस्ट बैंक काठमाडौंमा रहेको खाता नम्बर ०१२००५१६२०३७८४ मा सहयोग गर्न सकिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .