सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि त्रिवि शिक्षण अस्पतालमा उनको उपचारमा संलग्न डाक्टर र अन्य स्वास्थ्यकर्मीसहित ५० जनाको स्वाब (नमूना) संकलन सुरु गरिएको छ।
ती महिलालाई सुत्केरी गराउँदा संलग्न रहेका डाक्टर, नर्स लगायत सबैको पीसीआर बिधिबाट कोरोना परीक्षण थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमबहादुर खड्गाले नेपालखबरलाई जानकारी दिए।
ती महिला सुत्केरी गराउन २३ बैशाखमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन।
उनले २४ गते शिशु जन्माएकी थिइन् भने स्वास्थ्यमा कुनै समस्या नभएपछि २५ वैशाखमा उनलाई डिस्चार्ज गरिएको थियो।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै सिन्धुपाल्चोकको वाह्रविसे ९ राम्चे पुगेकी उनी स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि त्यहीँको प्राथामिक स्वास्थ्य केन्द्रमा जचाँउन पुगेकी थिइन। तर, केन्द्रले उपचार गर्न नसक्ने भनेपछि बिहीबार काभ्रेको धुलिखेल ल्याइएको थियो।
धुलिखेलमा उपचार गर्दागर्दै उनको त्यही दिन राती नै मृत्यु भएको थियो।
उनको स्वाव परीक्षण गर्दा शनिबार कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोरोनाका कारण ती महिलाको मृत्यु भएको पुष्टि गर्ने वित्तिकै उपचारमा रहेका सबै डाक्टरलाई आफ्नै घरमा क्वारेन्टिनमा बस्न निर्देशन दिएको प्रा.डा. खड्गाले बताए।
‘ती महिलाको उपचारमा रहेका सबै डाक्टरलाई घरमै क्वारेन्टिनमा बस्न भनेका छौं, उहाँहरुको स्वाव लिइँदैछ,’ खड्गाले भने।
अस्पतालमा अन्य सेवाका डाक्टरहरुले नियमित काम गरिरहेको उनले बताए।
‘हामीले आँकलन गरेभन्दा बढी डाक्टरको परीक्षण गर्नुपरेको छ,’ त्रिवि शिक्षण अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले नेपालखरसँग भने।

प्रतिक्रिया