अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन्।
कोरोना भाइरस संक्रमणको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई सहायता बन्द गर्न निर्देशन दिएका हुन्।
मंगलबार ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार भेटघाटमा उनले चीनमा कोरोनाभाइरस देखिएपछि डब्लुएचओले सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको आरोप लगाए।
‘डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने भएकाले यस्तो निर्णय गरिएको हो,’ उनले पत्रकारसँग भने। यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए। उनले डब्ल्यूएचओ चीनकेन्द्रित भइरहेको आरोप लगाउँदै आएका छन्।
तर, अमेरिकामा कोरोनाभाइरस फैलिनुमा ट्रम्पको नीति जिम्मेबार भएको भन्दै उनको आलोचना हुँदै आएको छ। ट्रम्पले भने कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमको आक्रोशपूर्ण ढङ्गले बचाउ गर्दै आएका छन्।
कोरोना भाइरस संक्रमणको कारण अमेरिकामो अवस्था भयावह बन्दै गएको छ।
त्यहाँ मंगलबार मात्रै २४ सय भन्दा धेरैले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ६ लाख १३ हजार नाघेको छ भने मृतकको संख्या २६ हजार नाघेको छ।
पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा डब्लुएचओलाई आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिन्छु।’
अमेरिकाले डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ। सन् २०१९ मा मअेरिकाले डब्लुएचओलाई ४० करोड डलर उपलब्ध गराएको थियो।यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत हो।
चीनको वुहान शहरमा पहिलो पटक कोरोनाभाइरस देखिएपछि त्यसबारे पर्याप्त लेखाजोखा गर्न डब्ल्यूएचओ विफल भएको आरोप ट्रम्पको छ।
उनले भने, ‘के अवस्थाको वस्तुगत लेखाजोखा गर्नका निम्ति डब्ल्यूएचओले चीनमा चिकित्सा विज्ञहरूको टोली पठायो र चीन पारदर्शी नभएकोबारे कुरा उठायो?’
डब्लुएचओले ध्यान दिएको भए स्रोतसाधनबाट कम मानवीय क्षतिमै कोरोना भाइरस नियन्त्रण गर्न सकिने ट्रम्पले बताए।
एजेन्सी
Shares

प्रतिक्रिया