समाज


लकडाउनले टुसायो यस्तो रोचक प्रेम

लकडाउनले टुसायो यस्तो रोचक प्रेम

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १:४५,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका अधिकतर देशले अहिले लकडाउन गरेका छन्। अनि करोडौं मानिस हिँडडुल बन्द गरेर घरभित्रै सीमित भएका छन्।

विश्व महामारी बनेको कोरोनाबाट बच्न मानिसले सामाजिक दूरीको नियम बनाएका छन्। कोरोनाबाट अत्तालिएर कतिपय डिप्रेसनकाे चपेटामा परेका छन्। यो कुनै एउटा देशको मात्र दु:ख होइन। विश्वका धेरै देशका मानिसकाे साझा कथा हो। तर यसको अर्को पाटो पनि छ। केही सुखद संकेत पनि देखिएका छन्।

लकडाउनका कारण मानिस यतिबेला परिवारसँग समय बिताइरहेछन्। यसले पारिवारिक सम्बन्धलाई नयाँ उचाइ प्रदान गरिरहेकाे छ। लामो समय परिवारका सदस्य घरमै रहँदा आपसमा स्नेह र प्रेम गाढा बनाइरहेकाे छ।

विश्वका कतिपय देशमा अझ फरक दृश्य देखिन थालेका छन्। लकडाउनका कारण घरका छत र बरन्डामा एकअर्कालाई देख्नेहरुबीच प्रेम टुसाउन थालेको छ। कोरोनाका कारण इटलीले भोगेको यथार्थ जिउ सिरिङ्ग पार्ने छ। तर त्यहीँको बेरेना सहरमा सुरु भएकाे एउटा प्रेम रोमाञ्चक छ।

मिसेल डी अल्फासो बस्ने घरको ठीकअगाडि बस्छिन्- पावला एन्जेली। लकडाउन र सामाजिक दूरीको यो समयमा यी दुईबीच पहिलो हेराहेरमै प्रेम भएको छ। उनीहरु साँझका बेला आआफ्ना घरको बरन्डामा बसेर संगीतको आनन्द लिन्थे। इटलीका कतिपय सहरमा दैनिक साँझ ६ बजे मानिस घरको बरन्डा वा छतमा गएर संगीत बजाउने/सुन्ने गर्छन्। कोरोना महामारीको यो बेला त्यस्ता संगीतले एकताको सन्देश दिन्छन्।

italy loveपावला  र मिसेल

संगीत बजाउनेमा पावलाकी बहिनी लीजा एग्नेली पनि छन्। उनी भाइलन वादक हुन्। बीबीसी रेडियो-४ सँग कुराकानी गर्दै मिसेल भन्छन्, ‘संगीतका लागि बरन्डामा जाँदा मैले पहिलोपटक पावलालाई देखेँ। केही दूरी भए पनि उनलाई नियालेर हेरेँ।’

दुवैका घर आमनेसामने छन्। पावला घरको छैटौं तलामा बहिनी तथा आमासँग बस्छिन्। अगाडिको घरमा मिसेल सातौं तलामा बस्छन्। संगीत सत्रको क्रममा यी दुईबीच देखादेख भयो। आँखा जुधे। मिसेलकी बहिनी शिल्वया तथा पावलाको चिनजान पुरानै हो। बहिनीले पावलाबारे दाजुलाई थप बताइन्।

भाइलन वादक लीजा बीबसीसँग भन्छिन्, ‘म हरेक दिन बरन्डामा गएर भाइलन बजाउँछु। १७ मार्चमा मेरी दिदी मलाई सहयोग गर्न आएकी थिइन्। मिसेलले त्यही बेला उनलाई देखेछन्। अनि प्रेम बस्यो।’

यसअगाडि आफूहरुबीच देखभेट नभएको उनीहरुकाे भनाइ छ।

italy love2मिसेलले घरको छतमा 'पावला' लेखेर टाँगेको ब्यानर।

पावला भन्छिन्, ‘म बहिनीलाई सहयोग गर्न बाल्कोनीमा गएकी थिएँ। त्यतिबेला मेराअगाडि उभिएका मिसेललाई देखेँ। पहिलो नजरमै लाग्यो- यो मान्छे आखिर कति सुन्दर हो! त्यसपछि मिसेलले इन्स्टाग्राममा पावलालाई खोजेर सन्देश पठाए।

उनी भन्छिन्, ‘संगीत सकिएपछि मैले इन्स्टाग्राममा एउटा सन्देश देखेँ, जुन मिसेलको थियो। उनले लेखेका थिए- म एक पुस्तक लेख्न सक्छु, त्यसको नाम हुनेछ- कोरोना भाइरसका क्रममा प्रेम।’

त्यस राति ३ बजेसम्म दुवैबीच मेसेजमा कुराकानी भयो। उनी भन्छिन्, ‘बल्ल हामीलाई अनुभूत भयो कि हामी दुवै जना उस्तै सोच्दा रहेछौं। जो सम्बन्धका लागि सबैभन्दा बलियो आधार हो।’

त्यसपछि मिसेलले पावलाको नाममा घरको छतमा एउटा ब्यानर नै राखे। त्यसले दुवैबीच टुसाएको प्रेमलाई अझ मलजल गर्‍याे।

लगातार हप्ता-दस दिनसम्म आमनेसामनेपछि दुवैले निर्णय गरेका छन्- अहिले तत्काल नभेट्ने, सामाजिक दूरी पालना गर्ने। तर टुसाएको प्रेमलाई निरन्तरता दिइरहने। मिसेल बैंकर भएकाले दैनिक धेरै मान्छेको सम्पर्कमा रहनुपर्छ।

बीबीसी रेडियो-४ सँग उनी भन्छन्, ‘मलाई यो सम्बन्ध विकासकाे घटनाक्रम देख्दा जादु झैँ लाग्छ। तर भयो यस्तै यो वास्तविकता हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad