छापा खबर


कामदार फिर्ता लैजान खाडी मुलुकको दबाब, तर नेपालले जवाफ दिएन

कामदार फिर्ता लैजान खाडी मुलुकको दबाब, तर नेपालले जवाफ दिएन

नेपालखबर
बैशाख ३, २०७७ बुधबार २:४२,

वैदेशिक रोजगारीमा गएका कामदार फिर्ता गर्न विभिन्न मुलुकले दिएको दबाबलाई नेपाल सरकारले बेवास्ता गरेको छ।

अन्य मुलुकहरूले आफ्ना कामदार फिर्ता लैजाने प्रक्रिया अगाडि बढाए पनि नेपाल भने छलफलकै चरणमा रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

कोरोनाको संक्रमणबाट जोगिन कुवेतले गैरकानुनी आप्रवासी कामदारलाई आममाफीमार्फत फिर्ता गर्न सूचना जारी गरेर आवेदन मागेको छ।

त्यस्तै, युएईको मानव संसाधन तथा इमिरेटिजेसन मन्त्रालयले आप्रवासी कामदारलाई फिर्ता लैजान सम्बन्धित मुलुकलाई सूचित गरेको छ। माल्दिभ्सले बन्द भएका होटेलका आप्रवासी कामदारलाई निश्चित पारिश्रमिक र फिर्ता टिकटको समेत व्यवस्था गरिदिएको छ।

आममाफीसहित फिर्ता हुन आवेदन दिने कामदारलाई कुवेतले आफ्नै खर्चमा विमान चार्टर्ड गरी सम्बन्धित मुलुक पठाउने तयारी गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुजन केसीले बताए ।

कुवेतले कामदारलाई फेरि आउन पाउने गरी माफी दिएको उनले बताए । सामान्य अवस्थामा कुवेत सरकारले यस्तो खालको आममाफी दिँदैन । केसीकाअनुसार कुवेतमा करिब ४ हजार गैरकानुनी नेपाली कामदार छन् भने ७० देखि ७२ हजार नेपाली श्रमिक छन् । जसमध्ये १० हजारभन्दा बढी कामदार नेपाल फर्किन इच्छुक छन् ।

कतारस्थित गैरआवासीय नेपाली संघको अध्ययनअनुसारआइतबारसम्म युएईमा रहेका ५ हजारभन्दा बढी कामदारले स्वदेश फर्किन आवेदन दिएका छन् ।

संघका अध्यक्ष प्रकाश कोइरालाले आवेदन दिनेको संख्या बढ्दो रहेको बताए । आवेदन दिनेमध्ये ६० प्रतिशत दुबई, २४ प्रतिशत आबुधाबी र ९ प्रतिशत सारजाहमा रहेका कामदार छन् । संघले युएईको आबुधाबी, दुबई, सारजाह, अजमान, रसअल खेमा, फुजेरा र उम अल ब्वेन गरी सातैवटा प्रदेशमा अध्ययन गरेको थियो।

माल्दिभ्समा रहेका नेपाली कामदारमध्ये करिब ५ हजार स्वदेश फर्किन इच्छुक छन् ।

कामदार फिर्ता गर्न सम्बन्धित मुलुकहरूले दबाब दिए पनि नेपाली दूतावासले भने चासो देखाएका छैनन् । कामदार फिर्ता गर्ने विषयमा दूतावासले कुनै तयारी समेत गरेको छैन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले गैरकानुनी रूपमा रहेका नेपाली श्रमिकलाई फिर्ता पठाउने विषयमा सामान्य छलफल मात्रै भएको बताए।

परराष्ट्र मन्त्रालयका अनुसार भारतमा १५ लाख, चीनमा ८ हजार, जापानमा १ लाख, अमेरिकामा २ लाख, क्यानडामा १५ हजार, इटालीमा ५ हजार, जर्मनीमा १५ हजार, पोर्चुगलमा ५ हजार, फ्रान्समा ५ हजार, बेलायतमा १ लाख ५० हजार, ओमानमा १७ हजार, इराकमा १५ हजार, मलेसियामा ७ लाख, अस्ट्रेलिया १ लाख, स्पेनमा १५ हजार, बहराइनमा ३५ हजार, थाइल्यान्डमा ५ हजार, कुवेतमा ७० हजार, हङकङमा १५ हजार, सिंगापुरमा ५ हजार, दक्षिण कोरियामा ४२ हजार, इजरायलमा १२ हजार, नर्वेमा १ हजार, अस्ट्रियामा १५ सय, स्विडेनमा १ हजार, इरानमा २५ जना रहेको औपचारिक तथ्यांक छ।

अनौपचारिक रूपमा धेरै नेपाली विदेशमा रहेकाले यकिन तथ्यांक निकाल्न मुस्किल रहेको शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad