नेपाल जनप्रशासन सङ्घले यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगादनस्वरूप श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष आचार्यले जानकारी दिए।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उनको नाम सिफारिस गरेको हो। छनोट समितिमा सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोइराला सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा आमन्त्रित सदस्य रहेका थिए।
सङ्घले सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउनु हुने व्यक्ति वा संस्थालाई बर्सेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ। सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास र डा भेषबहादुर थापा सम्मानित भइसकेका छन्। रासस
162
Shares

प्रतिक्रिया