मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वी वायुको समेत आंशिक प्रभाव छ।
यतिबेला (बुधबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका साथै मधेस प्रदेशको आकाशमा साधारणतया बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा छ। कोसी, मधेस र बागमती प्रदेशको एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ। कोसी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
यस्तै राति कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ। कोसी प्रदेशको तराईका पनि थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख पानी पर्ने सम्भावना देखिएको हो।
‘त्यस्तो ठुलो वा लगातार वर्षाको सम्भावना छैन’, उनले नेपालखबरसँग भने, ‘खण्डित रूपमा ठाउँठाउँमा हल्का वर्षा हुने सम्भावना छ। कतै मध्यसम्म पनि वर्षा हुन सक्छ।’
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया