समाज


कारागारमा कुटेर २ कैदीको हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैद फैसला

कारागारमा कुटेर २ कैदीको हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैद फैसला

नेपालखबर
असार २, २०८३ मंगलबार १३:०, सङ्खुवासभा

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणमा अदालतले १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको हत्या भएको थियो।

उनीहरूको हत्या कारागारमा सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट भएको खुलेको छ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।

दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए। न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो।

त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतका श्रेस्तेदार न्यौपानेले बताए।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।

कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरेको थियो। कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद फैसला भएको छ।

त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको अदालतका श्रेस्तादार न्यौपानेले जानकारी दिए।

कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।

तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad