ad ad

समाज


बम्जनले कारागारमा गर्न छाडे योग-ध्यान, एक्लै खान्छन्, टीभी हेरेर दिन काट्छन्

बम्जनले कारागारमा गर्न छाडे योग-ध्यान, एक्लै खान्छन्, टीभी हेरेर दिन काट्छन्

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८० बिहिबार ९:१९, काठमाडौँ

बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महोत्तरीको जलेश्वर कारागारमा सहयोगी पाएका छन्। 

बम्जनको माग अनुसार उनलाई एकजना सहयोगी उपलब्ध गराइएको जलेश्वर कारागार प्रशासनले जनाएको छ। 

‘उनले सहयोगी मागेपछि हामीले तीन दिनदेखि उनको सेवामा लागूऔषध मुद्दामा कैद जीवन विताइरहेका नरवीर लामालाई खटाएका छौँ,’ जलेश्वर कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले नेपालखबरसँग भने, ‘उनले बिहान बेलुका बम्जनको लागि खाना पकाउने, लुगा धोइदिने काम गर्छन्।’

कारागारभित्रको आन्तरिक प्रशासन (नाइकेहरुको निर्णय)ले बम्जनलाई सहयोगी दिने निर्णय गरेको साहले बताए। 

बम्जनले कारागारमा लसुन, प्याज र बेसार हालेको खाना खाँदैनन्। सुरुमा बम्जनलाई पनि अन्य कैदीलाई बनाएको खाना दिँदा उनले आफूले लसुन, प्याज र बेसार हालेको खाना नखाने भन्दै साकाहारी खानाको व्यवस्था गर्न माग गरेका थिए। 

‘त्यसपछि हामीले कैदी जीवन विताइरहेका अन्य जोगीहरुको मेसमा उनलाई खाना खाने व्यवस्था मिलाएका थियौँ,’ जेलर साहले भने, ‘पछि बम्जनले आफूले एक्लै खाना खाने भनेपछि सहयोगीको व्यवस्था गरिएको हो। तिनै सहयोगीले बम्जनलाई बिहान बेलुका खाना बनाएर दिन्छन्। अरु अराए खटाएको काम गर्छन्।’

‘जेल जीवन विताइरहेकाहरुले सहयोगी राख्न पाउँछन्,’ जेलर साहले भने, ‘बम्जनले पनि त्यही प्रक्रियाअनुसार कैद जीवन विताइरहेका साहयोगी पाएका हुन्। अन्य कुनै विशेष सुविधा बम्जनलाई दिइएको होइन।’

बम्जनलाई केही दिन बिहानको खाना उनका अनुयायीले बाहिरबाट ल्याइदिने गरेका थिए। अहिले उनलाई बाहिरबाट खाना आउन छाडेको साहले बताए। 

‘उनलाई भेट्न दैनिक केही मानिस आउँछन्। उनीहरुले फलफूल मात्रै ल्याएको देखिन्छ,’ कारागार प्रमुख साहले भने, ‘केही दिन उनका लागि बिहानको खाना पनि बाहिरबाट आएको थियो, अहिले त्यो देखिएको छैन।’

तीन तले कारागार भवनको तेस्रो तलामा बम्जन दिनभरी टेलिभिजन (टीभी) हेरेर बस्ने गरेका छन्। कारागारमा आएका दुई तीन दिन उनले साँझ बिहान योग ध्यान गरे पनि अहिले त्यो छाडेको साहले बताए।

‘उनी आजभोली योग ध्यान गरेर बसेको देखिँदैन। दिनभरी टीभी हेरेर बस्छन्। नाइकेहरुसँग गफ गरिरहेका हुन्छन्,’ साहले भने। बम्जनसहित सबै नाइकेले भूइँमै ओछ्यान बिच्याएर सुन्ते गरेका छन्। 

जलेश्वर कारागारमा ४ सयभन्दा बढी पुस्तकहरु रहेको पुस्तकालय पनि छ। तर बम्जन पुस्तकालयतिर जाँदैनन्। 

बम्जन सुत्ने कोठामा अरु चार जना नाइके बस्ने गरेका छन्। बम्जन तिनै नाइकेसँग बसेर दिन बिताउँछन्। उनलाई भेट्न केही दिनअघि बम्वनकी पत्नी, वकिल र मानवअधिकारकर्मी पनि पुगेका थिए। हिजोआज पनि दैनिक पाँच सात जना मानिस उनलाई मेट्न पुग्ने गरेका छन्। भेट्न आएकाहरुसँग उनी गेटमा गएर कुरा गर्छन्। 

केही दिन राम्ररी नबोलेका बम्जन हिजोआज आफूलाई भेट्न आउनेसँग खुलेर बोल्ने गरेका छन्। जेलभित्र उनको गतिविधि सामान्य देखिएको जेलर साहले बताए। 

सुरुमा उनले आफूलाई सुविधायुक्त छुट्टै कोठामा एक्लै राख्न माग गरे पनि आफूहरुले त्यस्तो व्यवस्था नगरेको जेलर साहले बताए। 

‘जलेश्वर कारागारको क्षमता दुई सय कैदीबन्दीका लागि मात्रै हो। अहिले यहाँ ६ सय कैदीबन्दी छन्,’ साहले भने, ‘यहाँ कसैलाई विशेष सुविधा दिने अवस्था छैन।’

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा गएको पुस २६ गते बम्जन जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .