ad ad

समाज


काठमाडौँमा रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद

काठमाडौँमा रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद

काठमाडौँको बूढानीलकण्ठस्थित रामबहादुर बम्जनको घर (बायाँ) र बम्जन (दायाँ)


नेपालखबर
पुस २५, २०८० बुधबार १०:६, काठमाडौँ

हत्या, अपहरण तथा बलात्कार आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। 

काठमाडौँको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको छ। 

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार मंगलबार साँझ बम्जन पक्राउ गरिसकेपछि बूढानीलकण्ठको हात्तीगौंडास्थित उनको घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो। बम्जनलाई पनि घरमै पक्राउ गरिएको थियो।

‘उनलाई पक्राउ गरिसकेपछि हामीले बूढानीलकण्ठस्थित बम्जनको घरमा राति खानतलासी गरेका थियौँ’, एआईजी ब्रजाचार्यले भनिन्, ‘हजार, हजारका नोट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ फेला पर्‍यो।’

एआईजी बज्राचार्यका अनुसार केही मात्रामा विदेशी मुद्रा तथा १५ वटा मोबाइल, ल्यापटप र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएका छन्। 

मंगलबार साँझ प्रहरीको टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो। प्रहरी छिरेको सुइँको पाएपछि उनी तीनतले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए। 

‘पक्राउ गर्न जब प्रहरी टोली उनको घरभित्र छिर्‍यो, त्यसबेला उनी तीन तलामाथिबाट हामफालेर भाग्ने तयारीमा थिए’, एआईजी बज्राचार्यले नेपालखबरलाई भनिन्, ‘उनी भाग्न सक्ने अनुमानसहित थप तीनवटा टोली बाहिर परिचालन गरिएको थियो। त्यही कारण उनी यसपटक प्रहरीलाई छल्न असफल भए।’

बलात्कारसहित बम्जनले एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। रौतहटकी आनीले आश्रममा बस्दा बम्जनले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्ने गरेका बम्जन प्रहरीको फरार सूचीमा थिए। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बम्जनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

बम्जनले सुरुमा ‘लिटिल बुद्ध’को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’गर्न थालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .