समाज


फरार अभियुक्त रामबहादुर बमजनको घरमा प्रहरीले टाँस्यो अदालतको पत्र

फरार अभियुक्त रामबहादुर बमजनको घरमा प्रहरीले टाँस्यो अदालतको पत्र

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १:१४,

आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले उनको घरमा सूचना टाँस गरेको छ।

बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित बमजनको पुर्खौली घरमा मंगलबार प्रहरीले सूचना टाँस गरेको हो। वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा उनको स्थायी ठेगाना भएको घरमा सूचना टाँस गरिएको प्रहरीले जनाएको छ।

एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध दुई वर्ष अघि नै मुद्दा परेको थियो। सोही मुद्दाको आधारमा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको हो।

३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने सूचना बमजनको घरमा टाँसिएको इलाका प्रहरी कार्यालय जितपुरका इन्स्पेक्टर विकास थपलियाले जानकारी दिए।

रौतहटकी ती आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा छन्। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारा लगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका ‘तपस्वी’ बमजन आनीमाथि बलात्कार र आफ्नै अनुयायीलाई हत्या हिंसा गरेको आरोप लगेपछि बदनाम भएका छन्। करिब १५ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा तपस्यामा बस्दा देशविदेशमा चर्चा कमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .