ad ad

समाज


बम्जनले कारागारमा मागे लसुन, प्याज र बेसार नहालेको खाना

बम्जनले कारागारमा मागे लसुन, प्याज र बेसार नहालेको खाना

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार ११:२६, काठमाडौँ

बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा कैदी-बन्दीले खाने गरेको खाना खान अस्वीकार गरेका छन्। 

एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन्।

‘उनले गएराति अरु कैदी बन्दीलाई बनाएको खाना खान मानेनन्,’ जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले नेपालखबरसँग भने, ‘मलाई छुट्टै खाना बनाएर दिनु, बेसार, लसुन, प्याज हालेको दाल, तरकारी म खान्न भन्ने कुरा उनले गरेका छन्।’

आफूले बिहान कारागारमै गएर बम्जनलाई भेटेको उनले बताए।

‘मसँग उनले अरु कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका छन्,’ साहले भने, ‘यहाँ उनीजस्ता (जोगी) ५/७ जना कैदी छन्। अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।’ 

बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई अरु कैदीबन्दीसँगै राखिएको साहले बताए।

‘उनलाई कुनै विशेष सुविधायुक्त ठाउँमा हामीले राखेका छैनौँ, अरु कैदीबन्दीसँगै राखेका छौँ,’ साहले भने, ‘जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि छैनन्। सबै एकै ठाउँमा बस्ने हो।’

बिहान आफूले कुरागर्दा बम्जनलाई शान्त देखेको जेलर साहले बताए। ‘उनी शान्त देखिएका छन्, अनुहारमा कुनै पीढाबोध छैन,’ उनले भने।

गएको मंगलबार काठमाडौँबाट पक्राउ परेका बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पुर्‍याइएको थियो। बिहीबारै सर्लाही जिल्ला अदालतमा पेस भएका बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो।

जलेश्वर कारागारमा केही वर्षअघिसम्म दुईवटा ब्लक थिए। जहाँ महिला पुरुषलाई अलग अलग ब्लकमा राख्ने गरिएको थियो। तर, महिला कैदीबन्दीलाई राख्ने गरेको ब्लक जीर्ण भएपछि हाल एउटा ब्लक मात्रै सञ्चालनमा छ। जहाँ पुरुष कैदी बन्दीलाई मात्रै राख्ने गरिएको छ।महिला कैदीबन्दीलाई भने सिन्धुली कारागार पठाउने गरिएको जेलर साहले जानकारी दिए। 

जलेश्वर कारागारमा हाल ६ सयभन्दा धेरै कैदीबन्दीलाई राखिएको छ। सानो क्षेत्रफलमा धेरै कैदीबन्दीलाई राख्दा व्यवस्थापनमा समस्या हुने गरेको साहले बताए।

एक किशोरीलाई सर्लाहीको पत्थरकोट आश्रममा बस्दा बम्जनले बलात्कार गरेको अभियोग छ। पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो। उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन्। तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९ः१० बजेको समयमा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे।

कोठाको ढोकाको चुक्कुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर उनलाई रुन कराउन समेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्कि दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपि पटक पटक यौन सम्पर्क राखि यौन सन्तुष्टि प्राप्त गरेको तथा बाल यौन शोषण गरेको आरोप छ।

१८ वर्षकी ती किशोरीले आफूमाथि पटक पटक यौन शोषण गरेपछि आफू आश्रमबाट भागेको बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .