समाज


सुत्ने कोठामै पुग्दा पनि प्रहरी किन असफल भयो ‘तपस्वी’ बम्जनलाई समात्न?

सुत्ने कोठामै पुग्दा पनि प्रहरी किन असफल भयो ‘तपस्वी’ बम्जनलाई समात्न?

उजिर कार्की
कात्तिक २९, २०७७ शनिबार ४:५८,

नौ महिना लामो अप्रेसन चलाउँदा पनि तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न नेपाल प्रहरी असफल भएको छ।

तपस्वी बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी बेपत्ता भएको र आश्रममै हत्या र बलात्कारका घटनामा संलग्न भएको आरोप लागेपछि अघिल्लो वर्ष माघ २३ गते जिल्ला अदालत सर्लाहीले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

त्यसयता प्रहरीले उनको पछिल्लो आश्रम सिन्धुली लगायतका ठाउँमा पटक पटक सर्च अप्रेशन गरे पनि हद म्यादभित्र बम्जनलाई पक्राउ गर्न असफल भएको छ। पक्राउ प्रयास असफल भएपछि बारा निजगढ नगरपालिका वडा नम्बर– १२ बुङ्गजोरस्थित उनको पुख्र्यौली घरमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले कात्तिक २४ गते ‘जिल्ला अदालत सर्लाहीमा हाजिर हुन जानु’ भन्दै सूचना टाँसेको छ।

नौ महिनाको प्रयास असफल भएपछि प्रहरीको पन्जाबाट यो अनुसन्धान उम्किएको छ। अब बम्जनलाई पक्राउ गर्न सफल भएपनि प्रहरीले तत्कालै अदालतमा बुझाउनु पर्नेछ, आफैं अनुसन्धान गर्न मिल्दैन। अप्रेसन सफल हुन नसकेपछि प्रहरी बम्जनसँग थाकेको छ।

ram bomjan with 4 person
‘तपस्वी’ राम बम्जन र उनको आश्रमबाट बेपत्ता भएका चिनिमाया तामाङ, सुरेशकुमार आले, फुलमाया रुम्बा र सञ्चलाल वाइबा

बेपत्ता चार जना अनुयायीको अत्तोपत्तो छैन
बम्जनले बेपत्ता बनाएका भनिएका उनका चार जना अनुयायीहरुको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। नुवाकोट, बारा र मकवानपुरका उनका चार अनुयायीहरु बेपत्ता छन्।

नुवाकोटको मेघाङ गाउँपालिका ३ कि २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ सिन्धुपाल्चोकको बाडेगाउँबाट बेपत्ता भएकी हुन्। २०६९ असोजबाट सम्पर्कबिहीन भएकी उनको अझै खुटखबर छैन।

बाराको सिमरा उपमहानगरपालिका १५ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले पनि बेपत्ता भएको ५ वर्ष भइसक्यो। निजगढ १२ खुमजोरस्थित बम्जनको आश्रमबाट बेपत्ता भएका आले २०७२ जेठयता सम्पर्कमा छैनन्।

ram bomjan3

मकवानपुरका दुईजना अनुयायी पनि बाडेगाउँकै आश्रमबाट फर्किएका छैनन्। हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ३० वर्षीया डोल्मो भनिने फुलमाया रुम्बा २०७१ माघदेखि सम्पर्कबिहीन छन्। हेटौंडा उपमहानगरपालिका १३ का ५१ वर्षीय सञ्चलाल वाइबा पनि त्यही वर्षको चैत १४ गतेदेखि हराइरहेका छन्। यी दुबै बम्जनका अनुयायी हुन्।

बम्जनविरुद्ध बाल यौन शोषणको आरोप पनि लागेको छ।

ram bomjan6

शव गाडेको भनिएको ठाउँमा नुनका खाली बोरा मात्रै भेटिए
बेपत्ताहरुका आफन्तको जाहेरिपछि प्रहरीले खोजी गरेपनि प्रमाण भने फेला पार्न सकेन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोदेखि जिल्लाका प्रहरी युनिटहरुले समेत घटनाको अनुसन्धान गरे। तर ठोस प्रमाण भने दिन सकेका छैनन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनीहरुको खोजीका लागि आफूलाई धर्मगुरु दाबी गर्ने बम्जनको आश्रमका अनुयायी तथा पूर्व अनुयायीहरुसँग सोधिखोजी गरिएको थियो। बम्जनका आश्रम तथा कुटीहरुको खानतलासी लिइयो। आश्रम रहेको क्षेत्र आसपास खोजेपनि बेपत्ताहरुको पत्तो लगाउन प्रहरी असफल रह्यो।

सञ्चलाल वाइबालाई २०७१ चैत १४ गते सिन्धुपाल्चोकको बाडेगाउँ आश्रममै यातना दिएको र सोही कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ। तर उनको हर्ट अट्याकको कारण मृत्यु भएको भन्दै साँझ ६ बजे आश्रमबाट ३ सय मिटर उत्तरतर्फ रहेको बारीमा लगेर पुरेको सूचना प्रहरीले पायो।

ram bomjan9

सोही सूचनाका आधारमा उक्त ठाउँमा प्रहरीले उत्खनन् गर्यो। तर त्यहाँ शव वा मानव शरीरका कंकाल नभएर नुनका खाली बोरा मात्रै भेटिए। बम्जनको आश्रम खानतलासी गर्दासमेत सीआईबीले थप प्रमाण फेला पार्न सकेन।

बाडेगाउँभन्दा १ सय ४३ फिट पूर्वतर्फ जंगलमा खाल्डोमा पुरिएको आशंका भएपछि प्रहरीले खनेर हेर्यो। पोलेर कालो भएको माटो र कोइला फेला परेपछि प्रहरीले नुनका प्याकेट भेटिएका खाल्डोबाट शव निकालेर त्यहाँ जलाएको हुनसक्ने अनुमान गरेको छ।

चिनिमाया र फुलमायालाई बम्जनले यातना दिएको सूचना पाएपनि प्रहरीले त्यसपछि उनीहरु कहाँ हराए वा कुनै घटना भयो भन्ने जानकारी पाउन सकेको छैन।

सुरेश त वैदेशिक रोजगारीमा गएको हल्लासमेत सुनेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डे बताउँछन्। तर सुरेशको पासपोर्ट नम्बरका आधारमा हेर्दा उनी विदेश गएको तथ्य नभेटिएको पाण्डेको भनाइ छ।

बम्जनको आश्रमबाटै बेपत्ता भएका चारजना अनुयायीको पत्तो लगाउन त प्रहरीले सकेन नै, उनको ‘क्याम्प’ तोड्न समेत असफल भएको छ।

ram bomjan5

किन असफल भयो प्रहरी अप्रेसन?
प्रहरीले २०७६ माघ २३ गते नै बम्जनलाई पक्राउ गर्ने अनुमति जिल्ला अदालत सर्लाहीबाट पाएको थियो। अनुमति पाएको भोलिपल्टै सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ पहिरेमा रहेको बम्जनको आश्रममा प्रहरीले छापा मार्यो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरीको संयुक्त टोलीले गरेको त्यो अप्रेसनले बम्जनलाई फेला पार्न सकेन।

बम्जन त्यहीँ रहेको सूचनासँगै अप्रेसन फेल भयो। माघमा खालि हात फर्किएको प्रहरीले प्राविधिक अनुसन्धान र सुराकी परिचालन सँगसँगै गर्यो।

फेरि पनि प्रहरीको निस्कर्ष त्यही आयो– बम्जन आश्रम आसपासमै छन्। २०७७ असार ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा केन्द्रीय प्रहरी विशेष कार्यदल, सशस्त्र प्रहरी गुल्म काभ्रे, प्रहरीको केनाइन महाशाखाबाट २ वटा कुकुर, सशस्त्र प्रहरीबाट लाइभ डिटेक्टर मेसिनसहितको विज्ञ तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले संयुक्त अप्रेसन गर्ने क्रममा आश्रम घेरा हाल्यो। तर दोस्रो पटकको यो अप्रेसन पनि असफल भएपछि हामी जिल खाएर फर्किएको थियो।

ram bomjan8

यो अप्रेसनको कमाण्ड गरेका सीआईबीका प्रवक्ता समेत रहेका एसपी बेलबहादुर पाण्डेका अनुसार सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ पहिरेमा रहेको बम्जनको आश्रम जंगलभित्र उत्तर दक्षिण कालिखोला, पूर्वपट्टि सानो खोल्साले घेरिएको छ। जंगलभित्र भीर र खोल्सा नजिकै प्रिफ्याबले बनेका घर टहराहरु छन्। एक तले तीन वटा भवन एकातर्फ छ भने सँगै बायाँतर्फ प्रार्थना गर्ने लामा भवनहरु छन्।

‘१० रोपनी क्षेत्रमा फैलिएको आश्रमको संरचनालाई पर्खालले घेरिएको छ र, त्यस क्षेत्रमा ठाउँ ठाउँमा सञ्चार सेटसहितका सेन्ट्री पोष्टहरू छन्’, अप्रेसनको कमाण्ड गरेका पाण्डे भन्छन्, ‘धर्मगुरुको संरक्षणका नाममा ठूलो समूह सक्रिय छ जंगलभित्र।’

ram bomjan4

सिन्धुलीको यो बोधिमार्ग दर्शन मैत्री धर्म आश्रमले ओगटेको स्थान र वरपर असार ४ गते बिहान ४ बजेबाटै सय जना बढी प्रहरी टोलीले घेरा हालेर सर्च अप्रेसन सुरु गर्यो। दिउँसो २ बजेसम्म पनि बम्जनलाई फेला पार्न नसकेपछि रित्तो हात फर्किन बाध्य भयो।

यही आश्रमभित्रको एउटा आधुुनिक र आकर्षक भवनमा बम्जन बस्दै आएको प्रहरीको भनाइ छ। प्रहरीले बम्जनले सुत्न प्रयोग गर्ने कोठा र भान्सा कोठासहित भवनका सबै कोठामा कुकुर समेत लगेर अनुसन्धान गरेको थियो। तर बम्जन चढ्ने दुई वटा सवारी फेला परेपनि उनलाई भेट्न प्रहरी असफल रह्यो।

ram bomjan7

प्रहरीले कुकुर र लाइभ डिटेक्टरको मद्दतमा यो अप्रेसन गरेको थियो। त्यहाँ रहेका १२ देखि ३५ वर्षसम्मका आनीहरुसँग सोधिखोजी गर्दा उनीहरुले पनि बम्जनबारे केही खुलाएनन्। सिन्धुलीको यो आश्रममा बम्जनका विदेशी अनुयायीहरु पनि छन्।

‘भौगोलिक बनावट, बम्जनका अनुयायीहरूको असहयोग र केही प्राविधिक पक्षको अभावका कारण अप्रेसन सफल हुन सकेन’, एसपी पाण्डे भन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .