समाज


पोखरामा पुस्तक समीक्षा प्रतियोगिता तथा पुस्तक प्रदर्शनी हुने

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता तथा पुस्तक प्रदर्शनी हुने

नेपालखबर
भदौ २६, २०७९ आइतबार २०:३३, काठमाडौँ

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ। सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो।

आइतबार एक कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको छ। 

पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन सक्ने छन्।

आयोजक सिएफएन नेपालका अध्यक्ष अस्मित भुसालले भने, ‘पठन संस्कृति र किताबप्रतिको मोह पनि घट्दै गएको देखिन्छ। यसैलाई मध्यनजर गर्दै पठन संस्कृतको विकासका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं।’

प्रतियोगितामा भाग लिन चाहनेले ३१ भदौदेखि २८ असोजसम्म बुकमार्ट पोखरा प्रालि पुगेर नाम दर्ता गर्न सक्ने जनाइएको छ।

विद्यालयको तर्फबाट प्रतिस्पर्धा गर्न चाहने विद्यार्थीले भने विद्यालयबाट सिफारिस पेस गर्नुपर्ने आयोजक बुकमार्ट प्रालिले बतायो। 

प्रतियोगिता आयोजक टोलीले समीक्षा लेखनका लागि मापदण्ड तय गरिसकेको छ। लेखक/स्रष्टा, पुस्तकको शीर्षक, प्रकाशक, प्रकाशन वर्ष, कागजको स्तर मूल्य, पृष्ठ आदिबारे परिचयात्मक जानकारी दिएर पुस्तकमा प्रस्तुत विषयको सारांश र मूल विचार (साहित्यिक कृति भए विचार र भावनाको सन्तुलनसहित अन्य भावगत र कलागत सौन्दर्यमूल्यको प्रस्फुटन) राख्नु पर्ने मापदण्ड तय भएको छ। 

यस्तै, समीक्षामा पुस्तकका सबल एवं दुर्बल पक्षको इमान्दारिताका साथ प्रस्तुतिकरण, उपयोगिता, नयाँपन, मौलिक पक्ष र टिप्पणीसँगै भाषा र निष्कर्ष समेत लेख्नु पर्नेछ। कक्षा १२ माथिका विद्यार्थीले भने सन्दर्भ सूची समेत राख्नु पर्नेछ। 

कक्षा ८ सम्मका विद्यार्थीले ५ सय, ८–१२ कक्षाका विद्यार्थीले ८ सय, स्नातक तहका लागि १००० र स्नातकोत्तर तह एवम् खुला प्रतियोगिका लागि १५०० शब्द संख्याको समीक्षा लेख्नुपर्ने आयोजक कमिटीका भुसालले बताए। २८ असोजसम्म समीक्षा बुझाउन आयोजकले समयसीमा तोकेको छ। 

प्रतियोगिताको पहिलो चरणमा कक्षा ५–१२ कक्षासम्म प्रत्येक कक्षाबाट उत्कृष्ट ३ र स्नातक, स्नातकोत्तर र खुला प्रतिस्पर्धाबाट उत्कृष्ट ५ छनोट गरिने जनाइएको छ।

पहिलो चरणमा छनोट हुने समीक्षकलाई अन्तिम निर्णयका लागि समीक्षा वाचन गर्न लगाइने र सबै कक्षा तथा खुलाबाट सर्वोत्कष्ट १/१ जना समीक्षक चयन गरिने आयोजकको भनाइ छ। अन्तिम चरणमा सर्वोत्कृष्ट हुने समीक्षकलाई जनही २० हजार रुपैयाँ बराबरको पुरस्कारले पुरस्कृत गरिने छ। उत्कृष्ट ३ मा पर्ने सबै प्रतियोगीलाई २ हजारसम्मका पुस्तक पनि दिइने जनाइएको छ। 

यस्तै बुकमार्ट प्रालिले पुस्तक प्रदर्शनी समेत गर्ने भएको छ। पुस्तक प्रदर्शनी विशेष छुट मेला ३१ भदौदेखि ४ कात्तिकसम्म चल्नेछ।

बुकमार्ट पोखराका जुनसुकै पुस्तक खरिद गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बुकमार्टले जनाएको छ। 

पुस्तक प्रदर्शनी तथा पुस्तक समीक्षा प्रतियोगिता सिजन १ का लागि ९ सदस्यीय आयोजक कमिटी गठन भएको छ।

कमिटीको संयोजकमा अस्मित भुसाल छन् भने सहसंयोजक सूर्य कुइकेल, सचिव पुरन्जन काफ्ले, सहसचिव आयुष अर्याल, कोषाध्यक्ष बिनिता चापागाईं र सदस्यमा गौतम आचार्य, रोहित नेपाली, अनिश दाहाल र प्रकृति खत्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad