निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा गोला प्रथाबाट पेशी तोक्नु गलत भएको र आफूले नचाहँदा नचाहँदै लागू गरेको बताएका छन्।
आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले गोला प्रथाले अदालतमा समस्या निम्त्याउँदै लगेको समेत बताए।
सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिले गोलाप्रथा सुरु गर्न सुझाव दिँदै प्रतिवेदन दिएको थियो। आफूले हरिकृष्णको प्रतिवेदन कार्यन्वयन गर्छु भनेको तर यो नै ठिक छ नभनेको समेत उनले बताएका छन्।
अदालतमा गोलाप्रथाबाट पेशी तोक्नुभन्दा बरु आफैं तोक्न समेत न्यायाधीशहरूलाई भनेको उनले बताए।
‘मैले कतिसम्म भने भनेँ ठिक छ प्रधानन्यायाधीशप्रति तिमिहरुको अविश्वास हो भने वरिष्ठ न्यायाधीशलाई पेशी तोक्न दिउँ। होइन भने ५ जना तिमीहरु वरिष्ठ न्यायाधीशले तोक। त्यो पनि होइन भने एक एक दिन म पठाइदिन्छु प्रधानन्यायाधीशबाहेक कहाँ तोक। तर गोला प्रथाले निकास दिँदैन भनेको थिएँ, अहिले पुष्टि भइरहेको छ नि’, राणाले भने।
गोला प्रथाबाट पेशी तोक्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेशी पर्ने, पुराना मुद्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्यो भने न्यायप्रणाली प्रश्न उठ्ने, अवहेलनामा तारिख लिने बेलामा झगडा पर्ने र विशेष प्रकृतिका मुद्दाहरु त्यसैसँग जानकारी भएको न्यायाधीशलाई तोक्नु पर्ने जस्ता समस्या हुने उनले बताए।
कतिपय राजनीतिक र सामाजिक प्रकृतिका मुद्दाहरु प्रधानन्यायाधीश आफ्नै इजलासमा तोक्नु पर्ने भएकाले पनि गोला प्रथा गलत भएको उनको तर्क छ।
गोला प्रथाप्रति पटक्कै सहमत नभएको र पुनर्विचार गर्न न्यायाधीश हरिकृष्ण कार्कीलाई पनि भनेको उनले बताए।
‘मैले आफ्नो कुरा राख्न नपाउने यो समितिले जे भन्यो त्यही ठिक छ भनेर विचार राख्नु पर्ने हुन सक्छ र? मैले कार्यन्वयन गरेँ तर पनि पटक पटक निकास दिँदैन भोलि समस्या पर्ला है भनेकै थिएँ। संसारमा गोलाप्रथा कहीँ छैन, संसार एकातिर हामी अर्कातिर गएर हुन्छ?’, राणाले भने।
Shares

प्रतिक्रिया