राजनीति


मधेस सरकारले ई-रिक्सा र ट्याक्टर चालकलाई लिखित परीक्षाविनै लाइसेन्स दिने

मधेस सरकारले ई-रिक्सा र ट्याक्टर चालकलाई लिखित परीक्षाविनै लाइसेन्स दिने

नेपालखबर
चैत ४, २०८२ बुधबार १२:३७, काठमाडौँ

मधेस प्रदेश सरकारले ई-रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ। 

बुधबार सरकार सय दिने उपलब्धि सार्वजनिक गर्दै मधेसका मुख्यमन्त्री कृष्ण यादवले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा महत्त्वपूर्ण सहजीकरण गर्ने बताएका हुन्। मुख्यमन्त्री यादवले प्रदेशमा ठूलो सङ्ख्यामा रहेका यस्ता चालकको बाध्यतालाई बुझेर लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने कानूनी आधार तयार पारिएको बताए। 

‘हाम्रो प्रदेशमा गरिबी छ। धेरै नागरिकसँग ई-रिक्सा र ट्याक्टर चलाएर मजदूरी गर्नुको विकल्प छैन। तर उनीहरू पढेलेखेका छैनन् र ऐन-कानुनले लाइसेन्सविना सवारी चलाउन दिँदैन,’ मुख्यमन्त्री यादवले भने, ‘निरक्षर भएकै कारण लिखित परीक्षा पास गर्न नसक्ने तर सवारी चलाउन पोख्त रहेका नागरिकको रोजगारी नगुमोस् भनेर सरकारले यो कदम चालेको हो।’

मुख्यमन्त्रीले मोटरसाइकल जस्ता सवारी साधनहरू सौख र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग हुने भए पनि ई-रिक्सा र ट्याक्टर पूर्णरूपमा गरिबको पेट पाल्ने माध्यम भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको प्रस्ट पारे। यस निर्णयले मधेस प्रदेशका हजारौँ विपन्न मजदूरलाई कानुनी रूपमै सवारी चलाएर आफ्नो जीविकोपार्जन गर्न बाटो खुला गर्ने यादवको भनाइ छ। 

मधेस प्रदेश सरकारले स्वास्थ्य उपचार अनुदान वितरणको विद्यमान झन्झटिलो र अव्यावहारिक कार्यविधिलाई पूर्ण रूपमा परिवर्तन गर्ने बताएको छ। मुख्यमन्त्री यादवले बिरामीले उपचारका लागि निवेदन दिने तर अनुदान रकम निकासा हुँदासम्म बिरामीकै मृत्यु भइसक्ने दुःखद् अवस्थाको अन्त्य गर्न नयाँ कार्यविधि ल्याउन लागिएको जानकारी दिए। 

त्यस्तै, प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन मोबाइलबाटै ई-टिकट काट्न सकिने व्यवस्था लागू गर्न लागेको बताए। गत दुई वर्षदेखि प्रदेशका स्वास्थ्य निकायमा औषधि खरिद नभएको गम्भीर समस्यालाई औँल्याउँदै मुख्यमन्त्रीले यसपालि खरिद प्रक्रिया अगाडि बढाइसकिएको र चाँडै नै अस्पतालमा औषधिको अभाव समाधान हुने प्रतिबद्धता व्यक्त गरे। 

‘मान्छे एकाएक बिरामी हुन्छ। उपचारका क्रममा निवेदन दिन्छ तर पैसा रिलिज हुँदासम्म मान्छे एक्सपायर भइसक्छ। मृत्यु भइसकेपछि उपचार खर्च दिनुको कुनै अर्थ छैन,’ उनले भने, ‘यसलाई सुधार गर्न प्रदेश सरकारले अब बिरामीलाई सिधै पैसा दिनुको सट्टा अस्पतालसँग समन्वय गर्नेछ। बिरामीले जुन अस्पतालमा उपचार गराउँछ, प्रदेश सरकारले सोही अस्पताललाई सीधै सोधभर्ना (भुक्तानी) गरिदिने व्यवस्था मिलाइनेछ।’

मधेस प्रदेशलाई खेलकुद र धार्मिक पर्यटनको हब बनाउने उद्देश्यका साथ प्रदेश सरकारले ठूला पूर्वाधार निर्माणका योजनाहरू अघि सारेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad