नेपालमा उत्पादन भएका चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र रुपमा बढिरहेको छ। नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार सन् २०२५ मा नेपालमा उत्पादन भएका चिकित्सकको संख्याको तुलनामा विदेश जानेको संख्या ज्यादा छ।
चिकित्सा शिक्षा अध्ययनपछि काउन्सिलबाट वार्षिक झन्डै दुई हजार जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने गरेका छन्। गत वर्ष लाइसेन्स लिनेभन्दा विदेश जान काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने चिकित्सकको संख्या धेरै भएको छ।
काउन्सिलबाट सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन् भने दुई हजार ६८१ जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। अर्थात्, लाइसेन्स लिएकाभन्दा विदेश जाने डाक्टर ५५९ जनाले बढी छन्।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले ५ वर्षमा ११ हजार ६८ जना चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको बताए।
‘सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका छन्। तीमध्ये ११ हजार ६८ चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्,’ उनले थपे ‘गत वर्ष लाइसेन्स लिएकाभन्दा ५५९ जना बढी चिकित्सकले विदेश जाने असल चारित्रिक प्रमाणपत्र लिएका छन्।’
उनले गत वर्ष सबैभन्दा धेरै चिकित्सकले विदेश जान अनुमति लिएको बताए।

‘५ वर्षमा ११ हजार चिकित्सक विदेश पलायन’
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरू विदेश जान काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिनुपर्छ। नेपाली चिकित्सकलाई विदेशमा चिकित्सकीय पेसा गर्नका लागि त्यहाँको काउन्सिलमा दर्ता हुन नेपालको काउन्सिलबाट यो सर्टिफिकेट अनिवार्य चाहिन्छ।
काउन्सिलका अनुसार यस्तो प्रमाणपत्र ५ वर्षमा ११ हजार ६८ जना चिकित्सकले २४ देशका लागि लिएका छन्। असल चारित्रिक प्रमाणपत्र सबैभन्दा बढी अमेरिका, बेलायत, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मनी लगायतका देशका लागि लिएर जाने गरेका छन्।
काउन्सिलको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै चिकित्सक गएका छन्। सन् २०२० देखि अमेरिका ३ हजार ९५ जना चिकित्सक गएका छन्।
अमेरिकापछि बेलायतमा दुई हजार ६३७ जना चिकित्सक गएका छन्। यस्तै माल्दिभ्समा दुई हजार २४१ जना, अस्ट्रेलिया ८४८ जना, संयुक्त अरब इमिरेट्समा ७२० जना, क्यानडामा १४८ जना, जर्मनीमा ९२ जना चिकित्सक गएका तथ्यांकमा देखिएको छ। छिमेकी मुलुक भारतमा पनि ९१८ जना चिकित्सक गएको तथ्यांक छ।
यस्तै डेनमार्कमा ६२, कतारमा ५४, सिंगापुरमा ३५, ओमानमा ३६ जना चिकित्सक गएका छन्।
सन् २०२० मा ८६९ जना चिकित्सकले मुलुकबाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका थिए। यस्तै सन् २०२१ मा एक हजार ३२७ जना, सन् २०२२ मा एक हजार ९५४ जना, सन् २०२३ मा दुई हजार ३१८ जना, सन् २०२४ मा दुई हजार २१० जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्।
‘चिकित्सकले असल चारित्रिक प्रमाणपत्र विदेशमा जागिर र पढ्नका लागि लिन्छन्,’ निमित्त रजिस्ट्रार डा पाण्डेले भने, ‘तर नेपालबाट धेरैजसो चिकित्सकले पढ्नभन्दा पनि विदेशमा गएर नोकरी गर्नका लागि असल चारित्रिक प्रमाणपत्र लिने गरेका छन्।’
सन् २०२० मा दुई हजार १३१ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका छन् भने सन् २०२१ मा एक हजार ७१६ जनाले लिएका छन्। सन् २०२२ मा दुई हजार ८५ जना, सन् २०२३ मा दुई हजार ६९२ जना, सन् २०२४ मा दुई हजार ३९४ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन्।
नेपालमा सेवा सुविधा कम भएको कारणले चिकित्सक रोजगारीका लागि विदेश जाने गरेका छन्। काउन्सिलबाट अहिलेसम्म ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन्।
‘टिकाउने वातावरण नबनाए अझ धेरै जान्छन्’
काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र पाण्डे चिकित्सकलाई नेपालमै टिकाउने वातावरण नबनेसम्म विदेशिने क्रम नरोकिने बताउँछन्।
‘अहिले जति नयाँ डाक्टरहरू उत्पादन भइरहेका छन्, त्यो भन्दा बढी देश छाडेर जाने तयारीमा हुनु हाम्रो स्वास्थ्य क्षेत्रका लागि एकदमै चिन्ताको विषय हो। नेपालमा डाक्टरको संख्या कम भएको होइन, भौगोलिक वितरण र व्यवस्थापन फितलो भएको हो,’ उनले थपे, ‘सरकारले चासो नदिने हो भने यो संख्या झन् बढ्छ।’
मेडिकल कलेजमा सिट थपेर वा डाक्टरको संख्या मात्र बढाएर अब यो समस्या समाधान नहुने उनको भनाइ छ।
डा पाण्डे भन्छन्, ‘मुख्य कुरा त भएका डाक्टरहरूलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्यो। राज्यले अब ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ वा कम्तीमा ‘ब्रेन रिटेन्सन’ मा बदल्नका लागि चिकित्सकहरूलाई आकर्षित गर्ने विशेष प्याकेज, कडा सुरक्षाका लागि ऐनको व्यावहारिक कार्यान्वयन, र चिकित्सकको वृद्धि विकास गर्न नीतिगत ग्यारेन्टी गर्न ढिला भइसकेको छ।’
उनी सरकारलाई चिकित्सक उत्पादनमा मात्रै जोड दिनुभन्दा भएकाहरूलाई नेपालमै टिकाउने वातावरण बनाउन सरकारलाई आग्रह गर्छन्।
‘नेपालमा नीतिगत तहमा एउटा भाष्य बनाइएको छ, नेपालमा डाक्टरकै कमी भयो, तर हामीले उत्पादन गरिरहेका डाक्टर कहाँ छन् भनेर कहिल्यै खोजी गरियो त?’ उनी प्रश्न गर्छन्, ‘अब नीति बदल्ने कि चिकित्सक उत्पादन गर्न सिट मात्र थपिरहने?’
‘यो तथ्यांकको अर्को झन् डरलाग्दो पाटो के छ भने अहिले नयाँ डाक्टर मात्र होइन, नेपालमै एमडी र एमएस गरेर स्थापित भइसकेका अनुभवी विशेषज्ञ र कन्सल्टेन्टहरू समेत ‘गुड स्ट्यान्डिङ’ लिएर बाहिरिने ट्रेन्ड ह्वात्तै बढेको छ। चाहे नयाँ हुन् या पुराना, हाम्रा डाक्टरहरूले देशभित्र आफ्नो भविष्य सुरक्षित र मर्यादित देखिरहेका छैनन् भन्ने कुरा यसले प्रस्ट पार्छ,’ डा पाण्डेले नेपालखबरसँग भने।
चिकित्सा शिक्षामा सिट मात्र बढाउने भन्दा चिकित्सक टिकाउने नीतिगत व्यवस्था गर्न उनको आग्रह छ।
काउन्सिलका पूर्वअध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा भगवान कोइराला नेपालमा उत्पादन भएका चिकित्सक विदेश पलायन हुनु चिन्ताको विषय भएको बताउँछन्।
उनले नेपालमा चिकित्सक काम गर्ने वातावरण नहुनु नै चिकित्सक विदेश पलायनको मुख्य कारण भएको बताए।
‘चिकित्सकहरूको विदेशप्रति आकर्षण बढ्नुको मुख्य कारण काम गर्ने वातावरण नहुनु हो। चिकित्सकलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहारका कारण नेपाल बस्न विकर्षण बढ्दै गएको हो,’ पूर्वअध्यक्ष कोइराला थप्छन्, ‘विदेशमा सम्मान छ, पैसा छ त्यसकारण आकर्षण बढेको हो।’
उनी एमबीबीएसपछि ‘पोस्ट ग्य्राजुएसन’ गर्ने सिट कम भएका कारण धेरै चिकित्सक पढ्नलाई पनि विदेश पलायन भएको बताउँछन्।
‘एमबीबीएस मात्र गरेर पुग्दैन नि, विशेषज्ञता हासिल गर्न सिट कम छ, अधिकांश त पढ्नका लागि पनि विदेश जान्छन्,’ उनी भन्छन् ‘तर सरकारले विदेश गएकालाई नेपाल फर्काउन नसक्नु भने विडम्बना हो।’
विदेश गएका चिकित्सकलाई तिमीसँग भएको सीप, क्षमता नेपाल लिएर आऊ, हामी काम गर्ने वातावरण दिन्छौँ भनेर सरकारले भन्न सके विदेश गएका अधिकांश चिकित्सक नेपाल फर्किने डा कोइरालाको भनाइ छ।
Shares

प्रतिक्रिया