राजनीति


एक महिनाभित्र बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको चेतावनी

एक महिनाभित्र बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको चेतावनी

नेपालखबर
असोज ६, २०७६ सोमबार ११:५८,

सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई एक महिनाभित्र विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता गर्न चेतावनी दिएको छ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पहलमा बसेको बैठकले एक महिनाभित्र सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न चेतावनी दिएको हो।

सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार लिन पाउने गरी शुल्क तोकेको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको निष्कर्ष निकाल्दै तोकेको समयमा विद्यार्थीलाई शुल्क फिर्ता नगरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

बैठकमा गृहमन्त्री थापा, शिक्षामन्त्री पोखरेल, गृहसचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्व विद्यालयका भीसी, रजिस्टार, मेडिकल संकायका डिन, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन प्राडा राजेन्द्र कोयु लगायतको उपस्थिति थियो।

बैठकले एक महिनासम्म बढी शुल्क लिने मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न चेतावनी दिएको शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई बताए। एक महिनाभित्र पनि बढी शुल्क फिर्ता नगरे सम्बन्धित मेडिकल कलेज रहेको जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको केसीले जानकारी दिए।

पछिल्लो समय चितवन मेडिकल कलेज, भरतपुर र गण्डकी मेडिकल कलेज, पोखराले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमै उत्रिएपछि शिक्षामन्त्री पोखरेलले बढी शुल्क फिर्ता गराउन पहल थालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .