राजनीति


रास्वपामा मतपरिणाम विवाद: नेत्री पूजाले भनिन्, ‘सर्वोच्च अदालत जान्छु’

रास्वपामा मतपरिणाम विवाद: नेत्री पूजाले भनिन्, ‘सर्वोच्च अदालत जान्छु’

रास्वपा नेत्री पूजा बास्तोला।


वाशुदेव मिश्र
असार १२, २०८३ शुक्रबार १४:२५, पोखरा

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मत परिणामको निष्पक्षतामा गम्भीर प्रश्न उठाउँदै पूजा बास्तोलाले सर्वोच्च अदालत गुहार्ने भएकी छिन्। मत परिणाम गर्दा धाँधली गरी वास्तविक मतपरिणामभन्दा फरक नतिजा घोषणा गरिएको उनको दाबी छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा गण्डकीको भूगोलबाट केन्द्रीय सदस्य उम्मेदवार रहेकी पोखराकी पूजा बास्तोलाले आफूलाई विधि,प्रक्रिया र मापदण्डविपरित केन्द्रीय सदस्य हुनबाट बञ्चित गरिएको दाबी गरेकी छिन्। उनले आफूले केन्द्रीय सदस्य निर्वाचित हुनका निम्ति आवश्यक पर्ने ९१३ मत प्राप्त गरे पनि आफूभन्दा कम मत ल्याउनेलाई निर्वाचन समितिले विजेता घोषित गरेको भन्दै त्यसविरुद्ध कानुनी लडाइँको उद्घोष गरेकी छन्।

बिहीबार रास्वपाको निर्वाचन समितिले सार्वजनिक गरेको मत अनुसार २६ जना प्रतिस्पर्धीमध्ये पूजाले भूगोल र प्रवाससमेत गरी ९१३ मत पाएको  घोषणा गरेको थियो। त्यो घोषणापछि पूजालाई बधाईको ओइरो लागेको थियो तर निर्वाचन समितिले आधिकारिक रुपले मत परिणाम सार्वजनिक गर्दा भने गण्डकी भूगोलबाट सर्वाधिक मत प्राप्त गर्नेको पहिलो नाम १ हजार ७६ मतसहित पवित्रा थापाको थियो। पवित्रा बिहीबार साँझ पनि अग्रस्थानमै थिइन्।

उनीभन्दा पछाडि नवलपरासीबाट सांसद रहेका मनिष खनाल १ हजार ५२ मत, तेस्रोमा १ हजार ४० मत प्राप्त गर्ने पर्वतका सांसद सागर भुषाल, चौथोमा ९३३ मत ल्याउने बागलुङका सांसद सोम शर्मा र पाँचौँमा ८ सय मत ल्याउने कास्कीकी विष्णु गुरुङ‘एकता’ विजयी भएको घोषणा गरिएको थियो।

पूजाले रास्वपाको विधान अनुसार प्रदेशबाट चुनिने ५ मध्ये प्रष्ट रुपले २ महिला हुनुपर्ने प्रावधान रहेको र त्यसो हुँदा मतको आधारमा आफू विजेता भएको दाबी गरेकी छन्। उनले भर्खरै जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘तपाईं प्रतिनिधि साथीहरूले मलाई विश्वास गरेर ९१३ मत दिनुभयो। महिलातर्फ शीर्ष २ र खुलातर्फ शीर्ष ५ भित्र पर्ने गरी प्राप्त भएको यो मतप्रति म हृदयदेखि नै आभारी छु। तर अत्यन्त दुःखका साथ भन्नुपरेको छ, निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा म भन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुँदा पनि मलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको छ।'

यो विजय वा पराजयको मात्र विषय नभइ पद्धतिको विषय भएको उनले बताएकी छिन्।'यो सुशासनको प्रश्न हो। यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ', उनले भनेकी छिन्, 'लोकतन्त्रको शक्ति परिणाममा मात्र हुँदैन, परिणामसम्म पुग्ने प्रक्रियाको विश्वसनीयतामा पनि हुन्छ। प्रक्रिया निष्पक्ष भयो भने जित्नेले गर्वका साथ जित स्वीकार गर्न सक्छ, हार्नेले सम्मानका साथ परिणाम स्वीकार गर्न सक्छ। तर प्रक्रिया नै अन्यायपूर्ण भयो भने त्यसविरुद्ध आवाज उठाउनु मेरो जिम्मेवारी पनि हो।'

यो विषयबारे उनले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दर्ता गराएकी थिइन्। 'चित्तबुझ्दो जवाफ दिइएन। उल्टो धम्कीपूर्ण शैलीमा विषयलाई दबाउन खोजिएको अनुभव गरेपछि अब म सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने निर्णयमा पुगेकी छु।'

उनले यो संघर्ष व्यक्तिगत नभइ आफूलाइ विश्वास गरेर मत दिने ९१३ प्रतिनिधिको मतको सम्मानका लागि भएको उल्लेख गरेकी छिन्। 'यो सही प्रक्रिया, पारदर्शिता र संस्थागत न्यायको पक्षमा उभिने प्रयास हो। पदभन्दा ठूलो पद्धति हुन्छ र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु’, उनले भने।

निर्वाचन समितिबाट विजयी घोषित विष्णु गुरुङ सामाजिक कार्यकर्ता हुन्। रास्वपा स्थापनाकालदेखि नै सक्रिय रहेकी उनी अघिल्लो चुनावमा समानुपातिकतर्फ जनजाति कोटामा रास्वपाको बन्दसूचीमा थिइन्। त्यो बेला उनलाई बन्दसूची संशोधन गर्दै सांसद बन्नबाट रोकिएको चर्चा रास्वपा वृत्तमा चलेको थियो।

पूजा बास्तोला जेनजी आन्दोलनमा सक्रिय नाम हो। युवा पुस्ता/जेनजी पुस्ता केवल पार्टीका समर्थक मात्र नभएर नीति निर्माण गर्ने तहमा पुग्नुपर्ने धारणा राख्दै उनी केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्। ‘हामी युवा, नयाँ पुस्ता, देशको भोलि मात्र होइनौँ, हामी आजको वर्तमान हौँ। हामी डिजिटल संसार,सुशासन र पारदर्शिता र प्रविधिको महत्व बुझ्छौँ,’ उम्मेदवारी दिने समयमा उनले भनेकी थिइन्। रास्वपाको रास्वपाको युवा तथा खेलकुद विभागकी सदस्य पनि हुन्। उनले यसअघि ५ वर्षसम्म रेडियोमा काम गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad