कैलालीको गौरीगंगा नगरपालिकाका एक युवाले तीन वर्षीया छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेका छन्। श्रीमतीले आत्महत्या गरेको पाँच महिना नपुग्दै ती युवकले नाबालक छोरीलाई सेत विष खुवाएर आत्महत्या गरेका हुन्।
गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेलले आफूले पनि विष खाएर आत्महत्या गरेका छन् भने तीन वर्षीया छोरी अनुष्कालाई पनि खुवाएका हुन्। उनीहरुले सल्फास नामक विषादी सेवन गरेको प्रहरीले जनाएको छ।
श्रीमती सरिता कलेल गत वैशाख १६ गते कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दामा जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
उनी गत साउन २२ गतेको अदालतको ईजलासले निर्दोष ठहर गरेपछि कारागारमुक्त भएका थिए। छुटेको डेढमहिनापछि आइतबार रामबहादुरले छोरीसहित आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) दक्षकुमार बस्नेतले बताए।
श्रीमतीको आत्महत्याको पीडामाथि आत्महत्या दुरुत्साहनको मुद्दाका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसमान गरेको छ।

प्रतिक्रिया