राजनीति


रविले फकाए रातभर, टसमस भएनन् उम्मेदवार

रविले फकाए रातभर, टसमस भएनन् उम्मेदवार

भरतपुरस्थित मतदानस्थिलमा रवि लामिछाने। तस्बिर: सरोज नेपाल/नेपालखबर


सागर न्यौपाने
असार १२, २०८३ शुक्रबार १५:४९, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पदाधिकारीमा चुनाव चाहेका थिएनन्। पहिलो चरणको निर्वाचनबाट ९९ सदस्यीय केन्द्रीय सदस्य चयन भए पनि ६ पदाधिकारी सर्वसम्मत गर्ने उनको योजना थियो। आफू निकट र विश्वास पात्रसँग कुराकानीमा लामिछानेले यस्तो संकेत गरेका थिए। 

किनकि, प्रधानन्त्रीसमेत रहेका वालेन्द्र शाहलाई वरिष्ठ नेता र उनको समूहबाट आएकालाई मनोनित केन्द्रीय सदस्य र पदाधिकारी बनाउने सहमति गरिसकेकाले लामिछानेले आफ्नै पक्षका नेताबीच प्रतिस्पर्धा भएको हेर्न चाहेनन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा उम्मेदवारी दिएकासँग लामिछानेले चितवन उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानसम्म छलफल गरेका थिए। उनले पदाधिकारीका आकांक्षीलाई एक्लाएक्लै भेटेर पनि मिलेर जाने प्रस्ताव राखेका थिए। 

बिहीबार बेलुकादेखि शुक्रबार बिहान साढे ४ बजेसम्म उम्मेदवार भेटेका लामिछाने पदाधिकारीमा सकभर चुनाव नगरौंँ भन्नेमा थिए। महाधिवेशन प्रतिनिधि घर फर्किएको र चुनावले गर्दा झन ढिलाई हुने भन्दै उनले सबै जनालाई मिलाएर लैजाने प्रस्ताव राखेका थिए।

छलफलमा सहभागी नेताहरूका अनुसार, उपसभापतिमा उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले नाम फिर्ता लिए र स्वर्णिम वाग्ले निर्विरोध भए। बाँकी पदहरू महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीका उम्मेदवारसँग लामिछानेले भेटेका थिए। 

त्यसपछि परराष्ट्रमन्त्री समेत रहेका केन्द्रीय सदस्य शिशिर खनालले उम्मेदवारी नदिने घोषणा गरे। लामिछानेसँग छलफलपछि उम्मेदवारी नै नदिइ आफूले महामन्त्री उम्मेदवार विपिन आचार्यलाई समर्थन गरेको बताए।  

‘सभापतिज्यूले पदाधिकारी सर्वसम्मत बनाउन लेट नाइट बिहान साढे ४ सम्म छलफल गर्नुभएको थियो, म पनि छलफलमा थिएँ। सभापतिज्यूले सबैसँग छलफल गर्नुभएको हो,’ खनालले भने, ‘सकेसम्म चुनाव नभई सर्वसहमतितिर जाओस् भन्ने चाहना राख्नुभएको थियो।’

तर, मुख्यगरी महामन्त्रीमा उम्मेदवार दिएकाहरू नाम फिर्ता लिन तयार भएनन्। जति कोसिस गर्दा पनि चुनाव हुने नै देखिएपछि लामिछानेले फेरि व्यक्तिगत रुपमा उम्मेदवारसँग छलफल गरे।

त्यसपछि शुक्रबार बिहान ११ बजेसम्म महामन्त्रीका उम्मेदवार ६ जनाले नाम फिर्ता लिएर आचार्यलाई नै समर्थन गरे। तर, आचार्यसहित मनीष झा, सागर ढकाल र गणेश कार्की चुनाव लड्ने अडानबाट पछि हटेनन्।

आफूमाथि पटकपटक अन्याय भएकाले उम्मेदवारी फिर्ता नलिएको झा बताउँछन्। ‘सहमति भनेको जहिले पनि त्याग होइन, सहमति भनेको कहिलेकाहीँ प्राप्ति पनि हो। मैले गर्ने राजनीतिक सहमति सधैँ किन त्याग मात्रै भइदिन्छ,’ झाले भने, ‘सभापति र उपसभापतिलाई के पनि भनेँ भने मन्त्रालयगत लोभ छैन, पार्टी सुधार्नु छ, पाँच वर्षसम्म अन्य कुनै पनि दाबी गदिनँ।’

तर, सभापति लामिछाने भने विपिन आचार्यलाई महामन्त्री बनाउने रणनीतिमा थिए। उनका विश्वासपात्र हुन् आचार्य। लामिछानेले हालै भारत भ्रमण गर्दा आचार्य र दीपक बोहोरालाई सँगै लिएर गएका थिए

सभापति लामिछानेको रोजाइ किन पनि आचार्य हुन् भन्ने देखिन्छ भने महामन्त्रीमा उम्मेदवारी दिएका ६ नेताले फिर्ता लिएर आचार्यलाई समर्थन गरेका थिए। जसलाई झाले गुटगत कार्य भनेर टिप्पणी गर्छन्। 

‘केही साथीहरूले समूहगत अभ्यास गर्नुभयो। रवि दाइले त यहाँ आएर राजनीतिक अभ्यासहरू नगर्नु है भन्नुभएको थियो,’ उनले थपे, ‘उहाँकै छायामा कसैले गर्दै हुनुहन्छ भन्ने सभापतिज्यूलाई थाहा छैन। उहाँको नाम बदनाम गरिरहेको छ कसैले।’

लामिछानेले जति कोसिस गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले विभिन्न पाँच पदाधिकारीका लागि २२ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad